नान्जिङ। पूर्वी चीनको जियाङ्सु प्रान्तको नान्जिङ विकास क्षेत्र प्रशासनिक समितिका पूर्व कार्यकारी उपनिर्देशक याङ योउलिन लाई घुसखोरी गरेको अभियोगमा सोमबार मृत्युदण्डको फैसला सुनाइएको छ ।
जियाङ्सुको चाङझाउ शहरको मध्यवर्ती जन अदालतले याङलाई आजीवनका लागि राजनीति अयोग्य रहने गरी अधिकार खोस्ने र उहाँको सम्पत्ति जफत गर्ने पनि आदेश दिएको छ ।
अदालतको फैसलाअनुसार याङलाई भ्रष्टाचार, सार्वजनिक कोषको दुरुपयोग, शक्ति दुरुपयोग र सम्पत्ती शुद्धिकरणसम्बन्धी मुद्दामा दोषी ठहर गरिएको छ ।
अदालतका अनुसार सन् १९९३ देखि सन् २०२३ सम्म याङले जियाङ्सुको राजधानी नान्जिङमा विभिन्न पदमा रहेर इन्जिनियरिङ ठेक्का, व्यवसाय सञ्चालन, जग्गा हस्तान्तरण र वित्तीय सहयोग जस्ता काममा संस्था तथा व्यक्तिहरूलाई पदीय मर्यादा विपरीत सहयोग गर्नुभएको र त्यसक्रममा उहाँले कुल २२१ करोड युआन (झन्डै ३२ करोड ५० लाख अमेरिकी डलर) बराबरको घुस र अवैध सम्पत्ति जम्मा गरेको ठहर गरिएको छ ।
यसबाहेक उहाँले सरकारी कोष ठगी गर्न अरूसँग मिलेमतो गरेको, सरकारी कर्मचारीहरूलाई अनुचित लाभका लागि घुस दिएको, सरकारी कम्पनीको रकम दुरुपयोग गरेको र जग्गा भत्काउने तथा विकास परियोजनाहरू अवैध रूपमा व्यवस्थापन गरेको पनि पाइएको छ, जसले समाजमा गम्भीर प्रभाव पारेको थियो।
याङले जग्गा हस्तान्तरण शुल्क अवैध रूपमा फिर्ता दिएर राज्यलाई ठूलो आर्थिक क्षति पुर्याएको र घुसबाट प्राप्त रकम आफ्नो नियन्त्रणमा रहेका कम्पनीहरूलाई ऋण दिएर लुकाएको र पछि आफ्नो आम्दानीका रूपमा देखाएको फैसलामा उल्लेख छ।
अदालतले भनेको छ, “याङले अत्यधिक ठूलो रकम घुस लिएको पुष्टि भएको छ । उहाँको अपराधको प्रकृति अत्यन्त गम्भीर थियो, सामाजिक प्रभाव निकै नकारात्मक थियो र राज्य तथा जनताको हितमा अत्यधिक ठूलो क्षति पुर्याएको थियो। त्यसैले कानुनबमोजिम उहाँलाई मृत्युदण्ड दिनुपर्ने फैसला भएको छ ।”
यद्यपि उहाँले अरूको अपराधबारे रिपोर्ट गर्नुभएको थियो र त्यो पनि सत्य ठहरिएको छ, तर समग्रमा उहाँको घुसखोरीको गम्भीरता, प्रकृति र सामाजिक हानिलाई हेर्दा कुनै छुट दिन मिल्ने अवस्था नदेखिएको अदालतले जनाएको छ ।
यो मुद्दाको सार्वजनिक सुनुवाइ मार्च १८ र अप्रिल २८ मा भएको थियो। मुद्दाको सुनुवाइका क्रममा अभियोजनकर्ता, प्रतिवादी र उहाँका वकिलले प्रमाणबारे बहस गरेका थिए । याङले अन्तिम बयानमा आफू दोषी रहेको स्वीकार गर्दै पश्चाताप व्यक्त गर्नुभएको छ । (रासस/सिन्ह्वा)












