भोजपुर। सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ ।
प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भोजपुरमा पनि यो अभियान निरन्तर चलिरहेको छ, यसले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।”
महाअभियानअन्तर्गत भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्ज्याङबाट यो अभियान सुरु गरिएको हो । अभियान सुरु भएसँगै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले जिल्लाको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस अभियान सुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मियाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार स्थानीय कालुमान गुरुङ पार्कमा लालीगुराँसका बिरुवा रोपण गरिएको छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्याउने उद्देश्यले गुराँस रोपन गरिएको हो । यहाँ डिभिजन वन कार्यालयबाट उपलब्ध भएको ५०० गुराँसका बिरुवामध्ये पहिलो चरणमा एक सय बिरुवा रोपण गरिएको उहाँले जानकारी दिनुभयो ।
नयाँ बिरुवा भने टेम्केमैयुङ गाउँपालिकासँगको सहकार्यमा सरकारको एक सय पर्यटकीय गन्तव्य सूचीमा समावेश मुन्दुम पदमार्गअन्तर्गतको चेखेवा क्षेत्रमा रोपण गरिनेछ । यो अभियानलाई जिल्लामा रहेको पालिकाले सहयोग गरेका छन् ।
सरकारबाट निर्णय भएर सुरु भएको र डिभिजन वन कार्यालयले कार्यान्वयमा ल्याएको यो अभियानलाई सफल बनाउन सम्बन्धि सबैको निरन्तर सहयोग रहने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता जरुरी छ । यसमा सबै मिलेर हातेमालो गरौँ ।”
नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने अन्तरराष्ट्रिय प्रतिबद्धता गरिसककेको छ भने हालै सम्पन्न सगरमाथा संवाद, २०२५ ले हिमालय क्षेत्रमा बढ्दो जलवायु सङ्कट र त्यसको असरबारे विश्वजगत्लाई ध्यानाकर्षण गर्दै ‘हिमालय जोगाऔँ’का लागि आह्वान गरेको थियो ।
वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियान सफल बनाउनु सबैको दायित्व भएको प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । सरकारी अभियानअन्तर्गतको वृक्षरोपण अभियान भोजपुरमा पनि आगामी साउन १५ गतेसम्म सञ्चालन हुनेछ । रासस












