काठमाडौं । पूर्वअर्थमन्त्री रमेश्वर खनालले शक्तिशाली सार्वजनिक पदमा रहेका अधिकारीले निजी र सार्वजनिक जीवनबीच स्पष्ट सीमा कायम गर्न नसके भ्रष्टाचार र कुशासनको सुरुआत त्यहीँबाट हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खनालले सार्वजनिक पदाधिकारीको परिवारसँग निकटता बढाएर प्रभाव जमाउने प्रवृत्तिले राज्य संयन्त्रलाई कमजोर बनाउने टिप्पणी गरेका हुन्।
उनका अनुसार प्रभावशाली व्यक्तिलाई भेट्न आउने केही व्यक्तिले सुरुमा अधिकारीका पति वा पत्नीको प्रशंसा गर्ने, परिवारका सदस्यलाई उपहार दिने तथा घरपरिवारसँग घनिष्ठ सम्बन्ध बनाउने प्रयास गर्छन्। यसरी परिवारको विश्वास जितेपछि उनीहरूले सार्वजनिक पदमा रहेका अधिकारीबाट आफ्ना चाहना र स्वार्थअनुकूल निर्णय गराउन सहज हुने अवस्था सिर्जना गर्ने खनालको भनाइ छ।
खनालले यस्तो प्रभाव विस्तार हुँदै जाँदा ती व्यक्तिले सम्बन्धित निकायका तल्ला तहका निर्णयकर्ता अधिकारीलाई समेत आफू नै मुख्य अधिकारीजस्तो व्यवहार गर्दै निर्देशन दिन थाल्ने अवस्था आउने उल्लेख गरेका छन्।
उनले जनआन्दोलनअघि (जनजी विद्रोहअघिको) नेपालको शासकीय संयन्त्रमा यस्तै प्रवृत्ति गहिरोसँग रहेको दाबी गरेका छन्।
खनालले आफ्नो टिप्पणीको अन्त्यमा काठमाडौंको एक विलासी होटलमा केही मन्त्रालयका उच्च अधिकारीलाई एक विचौलिया चरित्रका व्यक्तिले सार्वजनिक रूपमा अपमानजनक व्यवहार गरेको घटना एक व्यवसायीबाट सुनेको आधारमा उक्त टिप्पणी तयार गरेको स्पष्ट पारेका छन्।












