**काठमाडौँ ।** प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा भएको मृत्यु प्रकरणमा प्रधानमन्त्री बालेन्द्र साहको मौनताप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले एक जना युवाले सार्वजनिक रूपमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा पनि सरकार संवेदनशील बन्न नसकेको आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्री साहलाई लक्षित गर्दै, यस्तो हृदयविदारक घटनापछि पनि किन मौन बस्नुभएको भन्दै प्रश्न गर्नुभयो।
थापाले सरकारको उदासीनताका कारण गणेश नेपालीले चरम कदम चाल्नुपरेको दाबी गर्दै घटनापछि तत्काल एम्बुलेन्सको व्यवस्था नगरिएको र उद्धार गर्नुको सट्टा अपराधीसरह व्यवहार गरिएको आरोप लगाउनुभयो।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यू, हिजोको घटनामा तपाईंको मौनता किन? विपक्षमा हुँदा राज्यका कमजोरीमाथि कठोर प्रश्न उठाउने तपाईं आज सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाफ दिन किन पछि हट्नुभएको हो?”
थापाले आगोले शरीर जलेर छटपटाइरहेका व्यक्तिलाई समयमै उद्धार नगरी प्रहरी प्रशासनमार्फत घिसारेर लगिएको आरोप लगाउँदै, “यो उद्धार हो कि गिरफ्तारी? उनले कसको विरुद्ध के अपराध गरेका थिए?” भन्दै सरकारसँग जवाफ माग्नुभयो।
उहाँले गणेश नेपालीको ‘गल्ती’ आफ्नै देशमा बसेर केही गर्ने सपना देख्नु मात्रै भएको उल्लेख गर्दै, विदेशमा रहेका नेपाली युवाको निराशासँग पनि यो घटना जोडिएको बताउनुभयो। सरकार जनताको जीवन बचाउनुभन्दा सामाजिक सञ्जालमा घटनाको प्रत्यक्ष प्रसारण गर्ने प्रवृत्तिप्रति बढी केन्द्रित भएको आरोप पनि उहाँले लगाउनुभयो।
थापाले नयाँ सरकारप्रति जनताले राखेको आशा पूरा हुन नसकेको उल्लेख गर्दै नागरिकले आफ्ना समस्या सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउनु राज्यको असफलताको संकेत भएको बताउनुभयो।
उहाँले सभामुखमार्फत सरकारलाई सम्बोधन गर्दै भन्नुभयो, “अब कालो चस्मा खोल्ने बेला आएको छ। साझा यातायातको हरियो बसमा निलो रङ पोतेर मात्रै नागरिकले सुरक्षा महसुस गर्दैनन्।”
प्रमुख सचेतक थापाले नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकारले प्रभावकारी र ठोस कदम चाल्न नसकेको आरोप लगाउँदै यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो।











