२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार



अ+ अ-

काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति ४५ बालबालिकाको उद्धार गरेको हो। बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले राजधानीमा फैलिरहेको डेंगु र स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरून् भन्ने हेतुले उनीहरूको उद्धार गरिएको जानकारी दिए ।

‘सडक बालबालिकाको उद्धार नियमित काम नै हो तर अहिले डेंगु र स्क्रब टाइफसजस्ता रोगहरूको जोखिम छ’, उनले भने– ‘सडक, गल्ली, फोहोर र खोलाका किनारमा बस्ने सडक बालबालिका झन् जोखिम हुने भएकाले उद्धार गरिएको हो।’ परिषद् र केन्द्रसहितको टोलीले रत्नपार्क, न्युरोड, वसन्तपुर, जैसीदेवल, ठमेल, दरबारमार्ग, पुल्चोकलगायतका स्थानबाट ३० बालक र १५ बालिकाको उद्धार गरेको छ।

ती ३ देखि १८ वर्ष उमेर समूहका बालबालिका रहेको जनाइएको छ। ती बालबालिकामध्ये व्यावसायिक यौन पेसामा लागेका, लागूऔषध दुव्र्यसनीमा फसेका, लागूऔषध ओसारपसारमा प्रयोग गरिएका, सडकमा अलपत्र परेकालगायतको उद्धार गरिएको छ।

‘हामीले रत्नपार्कमा ग्राहक पर्खिरहेका यौन पेसामा लागेका बालिकाहरू थप जोखिममा पर्ने आशंकामा उद्धार गरेका छौं। अहिले उनीहरू सुरक्षित छन्।’ –केन्द्रका प्रहरी निरीक्षक दाहालले बताए । यस्तै उद्धारको क्रममा चरेस, गाँजाको ओसारपसारमा प्रयोग गरिएका केही बालकलाई समेत उक्त टोलीले जोखिम हुने आशंकामा उद्धार गरी सुरक्षित राखेको छ।

टोलीले प्रत्येक हप्ताजस्तो सडकमा जोखिममा रहेका बालबालिकाको उद्धार गर्दै आइरहेको छ। रात्रिकालीन र दिवा कार्यक्रम बनाएर टोली परिचालन हुने गर्दछ। परिषद्सँग भएको तथ्यांकअनुसार हालसम्म १ हजारभन्दा बढी सडक बालबालिकाको उद्धार गरिसकेको छ भने साढे ५ सय बालबालिकालाई परिवारमा पुनर्मिलन गरिएको छ। यस्तै बालबालिकालाई सीपसमेत सिक्ने अवसर प्रदान गर्दै आइरहेको छ। नेपाल समाचारपत्र दैनिकबाट