नयाँ दिल्ली । भारत सरकारले पछिल्ला केही दिनमा पेट्रोलियम पदार्थको भाउ बढेको छ ।
अघिल्लो सप्ताहन्तमा साउदी अरेबियाको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमण भएपछि त्यहाँको तेल आपूर्ति आधामा झरेको थियो ।

यस घटनाका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ आकाशिएको थियो । फलस्वरुप विगत छ दिनमा भारतमा पनि पेट्रोलको भाउ लिटरमै १ रुपया ५९ पैसा बढ्यो । सो अवधिमा डिजेल पनि १ रुपया ३१ पैसा महँगो बन्यो ।
आइतवार त्यहाँका राज्यनिन्त्रित तेल कम्पनीहरुले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएका छन् । राजधानी दिल्लीमा अघिल्लो दिनको तुलनामा आइतवार २७ पैसाको वृद्धिसहित पेट्रोलको मूल्य ७३ रुपया ६२ पैसामा पुगेको छ ।
डिजेलको भाउ पनि प्रतिलिटर १८ पैसाले बढेर ६६ रुपया ७४ पैसा कायम भएको छ । योसँगै सेप्टेम्बर १७ यता आइतवार तेलको भाउ लगातार छैठौं दिन पनि बढेको छ ।
साउदी अरेबियाको प्रमुख तेल प्रशोधन केन्द्रमा मिसाइल आक्रमण पछि विश्वको तेल आपूर्ति ५ प्रतिशतले घटेको थियो । सप्ताहन्तमा भएको सो घटनाका कारण गत सोमवार अर्थात सेप्टेम्बर १६ मा विश्व बजारमा तेलको भाउ १५ प्रतिशतले बढेको थियो ।
तर साउदी अरेबियाले गुमेको सबै उत्पादन अपेक्षा गरेभन्दा चाँडै पुनः स्थापित गरेपछि आइतवार बाहेकका दिनमा विश्व बजारमा कच्चा तेलको भाउ खासै धेरै बढेन ।
तर भारतले बाहिरबाट ल्याउने कुल मध्ये २० प्रतिशत तेल साउदी अरेबियाबाटै आयात हुने भएकोले यसको प्रभाव त्यहाँको घरेलु बजारमा निकै पछि सम्म पनि देखिएको हो ।
साउदी भारतको दोस्रो ठूलो तेल आपूर्तिकर्ता हो ।
यसले हरेक महीना भारतलाई करीब २० लाख टन कच्चा तेल बेच्दै आएको छ ।












