काठमाडौं । देशभर डेंगुको महामारी देखिएका वेला स्वास्थ्य सेवा विभाग महानिर्देशकविहीन बनेको छ । नियमनकारी निकाय प्रमुखविहीन हुँदा दैनिक कामकारबाहीमा समस्या देखिएको महाशाखा प्रमुखहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेलले अवकाश पाएसँगै विभाग नेतृत्वविहीन बनेको हो ।

विभागमातहत महत्वपूर्ण पाँच महाशाखा छन् । स्वास्थ्य सेवा विभागको नेतृत्व प्रमुख विशेषज्ञ अर्थात् १२औैँ तहको कर्मचारीले गर्ने नियम छ । २२ भदौमा डा। प्याकुरेलले अवकाश पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैलाई पनि निमित्त महानिर्देशकको जिम्मेवारी तोकेको छैन ।
सबैभन्दा वरिष्ठ कर्मचारीका हिसाबले डा. भीमसिंह तिंकरीले आफ्नै हिसाबले सामान्य काम गरिरहेका छन् । उनी ११औँ तहका सिनियर चिकित्सक हुन् । १२औँ तहका लागि वरिष्ठताका आधारमा डा. तिंकरी, डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, स्वास्थ्य सेवाबाट महेन्द्र श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
तत्काल नियुक्ति गर्ने आधार देखिँदैन
स्वास्थ्य मन्त्रालयमा १२औँ तहका कर्मचारीको संख्या शून्य छ । दुई वर्षदेखि १२औँ तहका दुई दरबन्दी रिक्त छ । डा. प्याकुरेलको अवकाशसँगै तीन पद रिक्त हुन पुगेको स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाले जनाएको छ । नियमअनुसार ११औँ तहमा कार्यरत सिनियर कर्मचारीमध्येबाट १२औँ तहमा बढुुवा गर्नुपर्छ ।
स्वास्थ्य तथा जनसंख्यासचिव खगराज बरालका अनुसार १२औ तहमा बढुवा हुने तत्काल आधार देखिएको छैन । ‘हाल ११औँ तहमा काम गरिरहेका सिनियर कर्मचारीहरूबाट तीनजना १२औँ तहमा बढुवा गर्ने हो,’ सचिव बरालले भने, ‘तर त्यसका लागि मन्त्रालयले कुनै काम अगाडि बढाएको छैन ।’
बढुवा समितिको बैठकसमेत बसेन
मन्त्रालयका अनुसार तीन वर्षदेखि प्रमुख विशेषज्ञको दुई पद रिक्त छ । बाँकी एक पद पनि पाँच दिनदेखि रिक्त छ । स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन र गुणस्तर मापन तथा नियमन महाशाखामा एकजना, जनसंख्या व्यवस्थापन र स्वास्थ्य समन्वय महाशाखामा एक र स्वास्थ्य सेवा विभागमा एक गरी तीनजना प्रमुख विशेषज्ञको दरबन्दी छ ।
स्वास्थ्यसचिव डा। पुष्पा चौधरीकै कारण तीन वर्षदेखि बढुवाको सिफारिस हुन नसकेको मन्त्रालयका अधिकारीहरूको आरोप छ । सचिव बरालले अहिलेसम्म बढुवा सिफारिस समितिको बैठकसमेत बस्न नसकेको बताए । आफूअनुकूल व्यक्ति १२औँ तहमा नआउने देखेपछि सचिव चौधरीले यसअघि फाइल अगाडि नबढाएको उनीहरूको गुनासो छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












