८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटौला निवास चण्डोल पुगेर विश्वप्रकाशले लिए आशिर्वाद



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका नेता कृष्णप्रसाद सिटौलाबाट आशिर्वाद ग्रहण गरेका छन् । आज बिहान सिटौला निवास चण्डोल पुगेर महामन्त्री शर्माले सिटौलाबाट बधाई तथा आशिर्वाद लिएका हुन् । सिटौलाले खादा र माला पहिराइदिएर शर्मालाई बधाई तथा आशिर्वाद दिएको फोटो अहिले सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ । सिटौला र शर्मा दुवैको गृह जिल्ला झापा हो ।

झापाको पार्टी राजनीतिमा दुवै नेताबीच चरम प्रतिस्पर्धा रहँदै आएको छ । पार्टीको १४ औँ महाधिवेशनका क्रममा नेता सिटौलाले पार्टी सभापति शेरबहादुर देउवाको संस्थापन पक्षसँग तालमेल गरी महामन्त्री पदमा प्रदीप पौडेललाई उम्मेदवार बनाएका थिए । संस्थापन समूहमै रहेका शर्माले महामन्त्री पदमा उम्मेदवार नपाएपछि प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएर महामन्त्री पदमा निर्वाचित भएका थिए । यसअघि झापा जिल्ला अधिवेशनमा पनि आफ्नो पक्षका राम कट्टेललाई सिटौलाले देउमान थेवेलाई उठाएर सभापतिमा जिताएका थिए । त्यसो त झापामा विगतमा पार्टीको जिल्ला सभापति तथा प्रतिनिधिसभामा दिएको उम्मेदवारीमा पनि सिटौला खेमाको असहयोगका कारण शर्मा पराजित हुनुपरेको चर्चा गर्ने गरिन्छ ।

सामाजिक सञ्जालमा विश्वप्रकाशको प्रशंसा

यसैबीच अहिले फेसबुकमा भाइरल भएको सो फोटोमा कमेन्ट गर्नेहरुले विश्वप्रकाश शर्माको संस्कारी चरित्रको खुलेर प्रशंसा गरेका छन् भने सिटौलाको आलोचना गरेका छन् । लक्ष्मी रिजाल लेख्छन्, यी बाप्रति ट्रस्ट गुर्न मुश्किल छ, विश्वप्रकाशले नतिजापछि जवाफ दिए। उहाँले नम्रताको उदाहरण दिनुभयो। अर्का धर्म गौतमले असल संस्कार, जय नेपाल लेखेका छन् । देवेन्द्र पौडेल लेख्छन्, वास्तविक संस्कृतिका धनी, नेपालको गौरव, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा । त्यसैगरी नारायणराज भट्टराईले लेखेका छन्, विश्वप्रकाश विनम्रताको पर्यायवाची नै हुन । अब गुटभन्दा माथि उठेर निर्वाचित महामन्त्रीले पूर्वमहामन्त्रीको आशीर्वाद लिएर झापाबाट संगठन बिस्तार गर्नुपर्छ होला ।

एक जनाले त विश्वप्रकाशले सिटौलासमक्ष झुकेर लिएको आशिवार्दप्रति कवि शिरोमणि लेखनाथ पौड्यालको ‘नैतिक दृष्टान्त’ कविताको एक पङ्क्तिलाई उद्धरण गरेका छन्, ‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेका वृक्षको हाँगो नझुकेको कहाँ छ र’ ।