२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सदनको गतिरोध अन्त्यका लागि सभामुखले आवश्यक वातावरण बनाउनुपर्दछः वर्षमान पुन अर्थ विधेयकमा ‘१६ पृष्ठ गायब’ विवादपछि अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग नीतिगत सुधार र प्रभावकारी कार्यान्वयनमा निजी क्षेत्रको जोडः ७ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द नेपालले कहाँ–कहाँ भारतको भूमि अतिक्रमण गरेको हो, प्रधानमन्त्रीले पुष्टि गरुन्ः अध्यक्ष राई सदनको गतिरोध हटाउने विषयमा विपक्ष दलहरुसँग थप छलफल हुन्छः कविन्द्र बुर्लाकोटी विपक्षीको अवरोधपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित प्रधानमन्त्री साहले सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिएर क्षमा नमागेसम्म संसद चल्न दिँदैनौँः एमाले एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा साहु : बर्बाद गाउँ



अ+ अ-

काठमाडौं । मैले घर खर्च चलाउन परदेशीसँग ०७२ मा एक लाख ऋण लिएको थिएँ । पटक–पटक गरी ५० हजारजति बुझाएँ । ऋण तिर्न जाँदा दिनभर घरको काममा लगाउँथे । साहुनीतर्फ देखाउँदै ‘देवेन्द्र काम गर्न पायो भने खुसी हुन्छ’ भनेर फुर्क्याउँथे। पटक–पटक साहुको घर पनि सफा गरेको छु । तर, ऋण घट्नुको सट्टा उल्टै तीनजनाको नाममा ६ लाखको कागज बनाएछ । त्यतिवेला मेरो नाममा १२ धुर जग्गा थियो । त्यसमा पनि ३ धुर मात्रै गाउँ ब्लक र अरू सबै ऐलानी थियो । तर, गाउँ ब्लक जग्गाको कागज साहुले लग्यो । त्यसपछि ऋण चुक्ता गरेर जग्गा लैजा भन्दै पटक–पटक दबाब दिएपछि घरबार छाडेर वीरगन्ज भागेँ । अहिले रिक्सा चलाएर गुजारा गर्दै छु । मसँग श्रीमती र कान्छो छोरा बस्छन् । जेठो छोरा काठमाडौंमा ग्रिल उद्योगमा काम गर्छ । छोरी सिसुवामै मामाघरमा बसेर पढ्दै छे । घर जान मन त लाग्छ, तर साहुले देखेपछि पैसा माग्न थालिहाल्छ । दसैँ–तिहारतिर जान्छु, तर डराइडराई हतारहतार फर्कन्छु ।

सवा लाख ऋण : १२ लाखको तमसुक, नौ लाख नगद र पक्की घर दिँदा पनि साहुले नमानेपछि दुर्गादेवीले गरिन् आत्महत्या, कच्ची घरमा बस्छन् श्रीमान् र परिवार

मेरो (राम चौधरी) दुईवटा साना घर र करेसाबारी गरी दुई कट्ठा मात्रै जमिन थियो । घरखर्च चलाउन समस्या भएपछि श्रीमती दुर्गा चौधरीले ०७२ मा परदेशीसँग एक लाख २० हजार ऋण लिई । हामीले साँवा र ब्याजसहित दुई लाखभन्दा धेरै बुझायौँ, तर ऋण चुक्ता भएन । उल्टै तीनजनाको नाममा १२ लाखको कागज गराइएछ । स्वदेशमै बसेर ऋण तिर्न नसकेपछि म कतार गएँ । साहुले ऋण तिर्न निरन्तर दबाब दिएछ । तनाव थेग्न नसकेपछि उनले एउटा घर साहुलाई कागज गरिछन् । तर, अझै ऋण चुक्ता भएको छैन भन्दै साहुले दबाब दिएपछि ०७३ भदौमा उनले आत्महत्या रोजिछन् । मैले विदेश हुँदा कमाएको सात लाख र घर बेचेको चार लाखसहित चानचुन १३ लाख साहुलाई बुझाइयो । साहुले नै भनेको रकमअनुसार पनि ऋण चुक्ता भयो, तर कागज च्यातेको छ कि छैन थाहा छैन । म विदेशबाट फर्किएपछि साहु थप पैसा माग्न आएको छैन । दुर्गाको देहान्तपछि पोहोर अर्को विवाह गरेँ । अहिले अर्कैको १५ कट्ठा खेतमा अधियाँ लगाउँछु ।

एक लाख ऋण लिँदा २० लाखको तमसुक, अदालतकै आदेशमा जेल बसे कल्पनाथ चौधरी, उनीजस्तै जेल जानुपर्ला भनेर अरू गाउँले भागेका छन्, जिल्ला अदालतमा ७३ जनाले मुद्दा हारेका छन्

नातेदारको छोराको विवाह जसरी पनि गर्नु थियो । कतै खोज्दा पनि पैसा मिलेन । त्यसपछि परदेशीको दैलोमा पुगेँ । एक लाख ऋण पाएँ । ऋण लिएको ०७२ फागुनमा हो । त्यसपछि पटक–पटक पैसा बुझाएको छु । तर, मैले २० लाख लिएको भन्ने कागज बनाएको रहेछ । लिँदै नलिएको तेत्रो पैसा कसरी तिर्नू रु त्यसपछि मेरोविरुद्ध परदेशीले मुद्दा हालेछ । तर, प्रतिवादीका रूपमा अदालत गइनँ । घरमा पुर्जी आएको पनि थाहा छैन । एक्कासि उसले मुद्दा जितेको भनेर मलाई जेल सजाय तोकिएछ । ०७४ असोजमा पक्राउ गरी झुम्का जेल चलान गर्‍यो । त्यो वर्ष दसैँ–तिहार जेलमै बित्यो । २८ पुसमा जेलबाट छुटेँ । तर, जेलबाट छुटेपछि पनि एक–दुईपटक पैसा माग्दै थियो । सजाय भोगिसकेकाले मैले पनि थर्काएँ । त्यसपछि मागेको छैन ।

दुई सय ९९ गरिबमाथि ऋणमा जालसाजी गरेका दुर्नाम साहुकार श्याम परदेशीको यातना सहन नसकेर एक महिलाले आत्महत्यासमेत गरेकी छिन् । १२०५ सम्म ब्याज लगाएका परदेशीले जालसाजी गरेर ऋण बढाएपछि र अदालतबाट मुद्दा हराएर तिर्न बाध्य पारेपछि लालबन्दी–३ सिसुवा टोलकी दुर्गा चौधरीले आत्महत्याको बाटो रोजेकी हुन् ।

ऋण नतिरेको भन्दै सिसुवा टोलका १५ जनाविरुद्ध परदेशीले जिल्ला अदालत सर्लाहीमा मुद्दा हालेका थिए । अदालतको फैसलापछि केही गरिब निमुखा पुस्तौँदेखि बस्दै आएको थातथलो छाडेर भागेका छन् । कोही जेलको छिँडीमा पुगेका छन् । सिसुवाका देबेन्द्र धामीको परिवार घरबार छाडेर भाग्यो भने कल्पनाथ चौधरी तीन महिना जेलमा कोचिए । उनी सुनसरीको झुम्का जेल राखिएका थिए ।

झुम्का जेलमा अहिले पनि परदेशीको उजुरीका आधारमा तीन जनाले कैद भुक्तान गरिरहेका छ । सर्लाहीकै इश्वरपुर नगरपालिका–१५ का कारी धामी, पर्सा गाउँपालिका–७ का राजकिशोर महत्तो र मलंगवा–४ का राजेन्द्र साह छन् । परदेशीले अन्याय गरेको सिसुवा टोलमा निरक्षर थारु समुदायको बसोबास छ । तिनै निरक्षरको गरिबीमाथि उनले आर्थिक अत्याचार गर्दै आएका थिए ।

अभिभावकले ऋण तिर्न नसकेपछि बालिकालाई घरेलु कामदार बनाएका परदेशीलाई बलात्कार आरोप

श्याम परदेशीको कुकर्म किर्ते कागज गरी विपन्नलाई ऋणमा डुबाउनमा मात्रै सिमित छैन । अभिभावकले ऋण तिर्न नसकेपछि बालिकालाई घरेलु कामदारका रुपमा राखेर पटक–पटक बलात्कार गरेको घटनामा समेत उनी मुछिएका छन् । सर्लाहीकै कविलासी नगरपालिका–१ की बालिकालाई बलात्कार गरेको आरोपमा उनी २०७४ चैतमा पक्राउ परी ३० दिन हिरासतमा राखिएका थिए । त्यसपछि तीन महिना रौतहटको गौर जेलमा बसे ।

परदेशीले बालिकाका अभिभावकले लिएको १ लाख १५ हजार ऋणलाई ५ लाखको कागज गराएका थिए । ऋण तिर्न नसकेपछि ६ वर्षकी बालिकालाई घरेलु कामदार बनाएर राखे । बालिका १४ वर्षकी हुँदासम्म ८ वर्ष घरेलु कामदार बनाएका थिए । एक दिन राति बालिका उम्केर घर पुगेपछि घटनाबारे थाहा पाएको परिवारले जनाएको छ । आठ वर्षको अवधिमा एक रुपैयाँ पनि नदिएको, उल्टै पटक–पटक बलात्कार गरेको भन्दै परिवारले जाहेरी दिएका थिए । पछि ऋणको कागज च्यात्न तयार हुँदै पीडित बालिकालाई ४ लाख ७५ हजार दिने सर्तमा बयान फेर्न लगाएर उनी जेल मुक्त भएका हुन् । त्यसअघि उनी पहिलोपटक ११ विपन्न परिवारलाई लेनदेनमा ठगी गरेको आरोपमा ०७४ वैशाखमा पक्राउ परेका थिए । पीडितले १५ वैशाखामा जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएकोमा काठमाडौं बस्ने परदेशीलाई पक्रिन महानगरीय परिसर टेकुलाई पत्र काटेको थियो । कालिमाटीमा लुकेर बसेका उनी पक्राउ परे । गत आइतबार उनी तेस्रोपटक पक्राउ परेका छन् ।

नेकपाका सर्लाही अध्यक्ष रेवती पन्त भन्छन् : पीडितलाई न्याय दिन दुई वर्षदेखि लड्यौँ

नेकपाका सर्लाही अध्यक्ष रेवती पन्त
श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवारबाट ऋण लिएर उठिवास भएका सर्वसाधारणले न्याय पाउनु पर्छ भन्नेमा कुनै द्धिविधा छैन् ।

जिम्मेवार राजनीति दलको जिल्ला अध्यक्षको हैसियतले यो समस्याको सकेसम्म कानुनी रुपमै समाधान होस भन्ने पवित्र भावना राखेर जनताको पक्षबाट हामीले लगातार दुई वर्ष देखि प्रयास गरिहेका थियौं ।

समस्या समाधानका लागि यस पटक संचारमाध्यम र राज्यले पुर्‍याएको सहयोग अत्यन्त सकारात्मक छ । यसमा हाम्रो पार्टीको पनि समर्थन रहन्छ ।

चर्को व्याज लगाएर सर्वसाधारणलाई ठग्ने प्रवृत्ति देशबाट समुल अन्त्य हुनुपर्छ । हामी यसकै लागि लड्दै आएका हौं । यसका लागि पार्टीले वर्ग संघर्षको कार्यक्रम अगाडि सारेर जानु पर्छ । जनताको पक्षमा यो समस्या समाधान गर्न मेरो भुमिका निरन्तर रहन्छ ।

नेकपा केन्द्रीय सदस्य अच्युतम काफ्ले भन्छन् : जनताको पक्षमै काम गरेको हुँ

नेकपा केन्द्रीय सदस्य अच्युतम काफ्ले

सुदखोर श्यामकृष्ण साह कलवार (श्याम परदेशी) बाट पीडित सर्वसाधारणको पक्षमा निकास निकाल्न राजनीतिक दलको कार्यकर्ताको हैसियतले जनताको पक्षमा लडेर सहयोग गरेको मात्र हुँ । ऋणी र धनीका प्रतिनिधिबीच सहमती भइसकेको कुरामा हामीलाई रोहवरमात्र राखिएको लिखत हो त्यो । ११ साउनमा म वरहथवाको एउटा कामको सिलसिलामा जिल्ला प्रशासन कार्यालय पुगेको थिएँ । पीडित न्यायको माग गर्दै धर्नामा बसेका रहेछन् । साहले गरिब, निमुखालाई चर्को व्याजदरमा ऋण दिएर उठिवास बनाएको घटना निकै समयदेखि चर्चामा छ । पीडितले लामो सयदेखि यस विषयमा आबाज उठाउँदै आएका छन् । तर, समाधान कतैबाट भइरहेको थिएन ।

त्यही सन्दर्भमा त्यहाँ प्रशासनको रोहबरमा छलफल भइरहेको थियो । त्यहाँ मलाई पनि बस्न भनियो । साहले ऋणिसँग जतिसुकै रकम लिएको भनेर कागज बनाएको भए पनि ऋणिले साँवा रकमको ठाउँमा दोब्बर रकम मात्र तिर्ने भनेर दुई पक्षबीच सहमति भएपछि कार्यान्वयनमा बल पुग्छ भनेर रोहवरमा हामी बसेका हौं । तर, यो सहमतिलाई पछि श्याम परदेशीले नै उलंघन गरे । त्यो सहमतीलाई पीडितले मानेका थिए । सहमती उलंघन गरेकाले पीडितलाई झन समस्या परेको छ । पीडितलाई जसरी पनि सहयोग पुग्ने गरि राज्य र जिम्मेवार राजनीतिक दलले सहयोग गर्नु पर्छ । त्यसका लागि म आफ्नो ठाउँबाट सहयोग गरि नै रहने छु ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै