
काठमाडौं। उत्तरी नाका तातोपानी बन्द भएपछि रोकिएको भनिएको रक्तचन्दन तस्करी पुनः सुरु भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र महानगरीय प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार साँझ ८३ किलो रक्तचन्दन बरामद गरेसँगै रक्तचन्दन तस्कर सक्रिय भएको देखिएको हो । बौद्धका डीएसपी नरेन्द्र चन्दले बौद्धको रामहिटीबाट रक्तचन्दन बरामद भएको जानकारी दिए । उनले भने, ‘घरमा स्टोर गरेर राखेको अवस्थामा बुधबार साँझ बरामद गरेका हौं ।’ प्रहरीका अनुसार च्याङ्बा लामाको घरमा लुकाइछिपाइ राखेको अवस्थामा रक्तचन्दन बरामद भएको हो । विशेष सुराकीका आधारमा पुगेको टोलीले च्यांबासहित योन्देन ग्यांजु तामाङलाई पक्राउ गरेको छ ।
त्यहाँ बिक्रीका लागि सञ्चय गरेर राखेको अवस्थामा रक्तचन्दन भेटिए पनि रक्तचन्दन कसको र कहाँ लैजाने तयारी थियो भन्ने खुल्न सकेको छैन । प्रहरीले विस्तृत अनुसन्धानका लागि बरामद भएको रक्तचन्दनसहित पक्राउ परेका दुवैलाई डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ ।
भारतबाट लुकाइछिपाइ काठमाडौं हुँदै चीनतर्फ तस्करी हुन लागेको रक्तचन्दनका भाँडा र त्यसका दानालाई प्रहरीले गत वैशाखमा पनि काठमाडौंबाट बरामद गरेको थियो । भारतको राजधानी नयाँ दिल्ली हुँदै काठमाडौं आएको पर्यटक बसबाट प्रहरीले १० किलो ७७५ ग्राम रक्तचन्दनको भाँडा र १ हजार ३ सय दुईवटा दाना बरामद गरेको थियो । सुरुसुरुमा रक्तचन्दनका ठूला गोलिया र काठकै रूपमा तस्करी हुने गरे पनि पछिल्लो समय विभिन्न सामग्रीका स्वरूपमा नेपाल हुँदै चीनसम्म पुग्ने गरेको पाइएको छ ।
गत वैशाखमा प्रहरीले रक्तचन्दन तस्करीमा संलग्न भएको आरोपमा काभ्रे स्थायी घर भएका ४१ वर्षीय झिल्केमान रुम्बा (चालक) र बुटवल घरका २५ वर्षीय सुजन पुन (सहचालक)लाई पक्राउ गरेको थियो ।
चीनमा रक्तचन्दनको मूल्य प्रतिकिलो १६ हजार रुपैयाँसम्म पर्ने जानकारहरूको दाबी छ । त्यहाँ रक्तचन्दन विभिन्न फर्निचर, क्रिम तथा म्युजिक सामान बनाउन प्रयोग गरिन्छ । रक्तचन्दन साइटिसको अनुसूची–२ मा सूचीकृत छ । अनुसूची–२ मा सूचीकृत भएकाले यसको व्यापार तथा व्यवसाय गर्न पाइने भए पनि भारत सरकारले व्यापार–व्यवसायमा पूर्णरूपले प्रतिबन्ध लगाउँदै आएको छ । अनुसूची–२ मा सूचीकृत भएकाले बरामद भएका वस्तु जुन देशमा उत्पादन भएको हो, सोही ठाउँमा नै पठाउनुपर्ने कानुनी प्रावधान छ । बहुमूल्य जडीबुटी तथा वन्यजन्तु ओसारपसारविरुद्धको अभिसन्धि (साइटिस) को अनुसूची–२ मा रक्तचन्दनलाई लोपोन्मुख प्रजातिका रूपमा राखिएको छ ।
अभिसन्धिमा नेपालले पनि हस्ताक्षर गरेकाले त्यसको कारोबारलाई अवैध मानिन्छ । विगत १३ वर्षयता प्रहरीले करिब ३ लाख किलो रक्तचन्दन बरामद गरेको थियो । सो रक्तचन्दन भारत फर्काउनुपर्नेमा अहिलेसम्म नेपालमै रहेको छ । नेपालमा ६० को दशकमा रक्तचन्दनबाट अकुत सम्पत्ति कमाएका केही विवादास्पद व्यापारीहरू दिल्लीबाट पानीजहाजमार्फत रक्तचन्दन तस्करी गर्न थालेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
तातोपानी नाकाबाट रक्तचन्दन तस्करीमा कडाइ भएपछि रसुवाबाट तस्करी हुने गरेको पाइएको थियो । रसुवाबाट रक्तचन्दन तस्करी गर्दा सेनाका कर्णेल रामजी कटवालको कोर्टमार्सल भई जागिर नै गएको थियो । नेपाल प्रहरीका तत्कालीन डीएसपी ओमबहादुर रानालाई भने कुनै कारबाही भएन । नेपालमा कडाइ भएपछि रक्तचन्दन चीन जाने क्रम कम भएको थियो ।
गोलिया आकारमा ठूलो परिमाणमा एकैपटक ओसारपसार गर्दा प्रहरी जाँच छल्न समस्या देखिएपछि तस्करले सानासाना टुक्रा, तेल र गहनाको आकारमा यसको ओसारपसारमा ध्यान मोडेका हुन् । तस्करले प्रहरी सुरक्षा जाँच छल्न रक्तचन्दनलाई माला, भाँडा र तेल बनाएर चीनसम पु¥याउने रणनीति अपनाएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । गिरोहले भारतबाट नेपालसम्म रक्तचन्दन ल्याउने भरियालाई प्रतिकिलो पाँच हजार रुपैयाँसम्म दिने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाल भित्रिएको रक्तचन्दन भने चिनियाँ तस्करले १५ देखि २० हजार रुपैयाँ प्रतिकिलोमा खरिद गर्ने गरेको प्रहरी दाबी छ ।
२०६४ सालपछि मात्रै प्रहरीले रक्तचन्दनको तेल, माला र गोलिया गरी करिब ३ लाख किलो बरामद गरिसकेको छ । यसको बजार मूल्य करिब ४ अर्ब रुपैयाँको हाराहारीमा पर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
२४ मंसिर २०६९ मा प्रहरीले माला बनाएर भित्र्याएको १४ किलो रक्तचन्दनसहित भक्तपुरको सूर्यविनायकबाट तस्करलाई पक्राउ गरेको थियो । २६ माघ २०७० मा चार लिटर रक्तचन्दनको तेलसहित सिंहदरबार प्रहरीले कालीमाटीबाट ३ जनालाई पक्राउ गरेको थियो । यसैगरी, ३० चैत २०७० मा प्रहरीले काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको गाडीबाट ९८ किलो रक्तचन्दनका गोलिया बरामद गरेको थियो । १५ माघ २०७ मा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले २५० किलो रक्तचन्दनबाट बनेका काठमा चिरानसहित चार जनालाई काठमाडौंको सरस्वतीनगरबाट पक्राउ गरेको थियो ।
अन्तर्राष्ट्रिय व्यापार (साइटिस) महासन्धिको धारा ८ अनुसार लोपोन्मुख वन्यजन्तु तथा वस्तुको चोरीसिकारी तथा ओसारपसार गर्न प्रतिबन्ध छ । त्यही व्यवस्थाअनुसार वन पैदावारमध्येको एक रक्तचन्दनको ओसारपसार तथा कारोबारलाई अवैध मानिँदै आएको छ । भारतको तमिलनाडु, आन्द्र प्रदेशलगायतका धेरैजसो घना जंगल रक्तचन्दनको छ । त्यहीँबाट नेपाल हुँदै चीनसम्म यसको अवैध ओसारपसार हुने गरेको प्रहरीको दाबी छ । २०७१ फागुन तेस्रो साता मात्रै नेपाल सरकारले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर नेपालमा बरामद करिब ५० करोड रुपैयाँबराबरको रक्तचन्दन भारतलाई फिर्ता पठाएको थियो ।
बरामद रक्तचन्दन कुहिँदै
भारतबाट नेपालको बाटो हुँदै तेस्रो मुलुक तस्करी गर्ने क्रममा बरामद रक्तचन्दन त्यसै कुहिन थालेको वन विभागले जनाएको छ । सुरक्षाकर्मीले विभिन्न स्थानबाट विभिन्न समयमा बरामद २ लाख २९ हजार ३४६ किलो रक्तचन्दन बबरमहलस्थित वन परिसरमा कडा सुरक्षाका साथ राखिएको छ । डम्पिङ गरी राखिएको रक्तचन्दनको विषयमा सरकारले उपयुक्त निर्णय गर्न नसक्दा समस्या बनेको छ । महासन्धिअनुसार नेपाल सरकारले आफैं निर्णय गरे पनि रक्तचन्दनको बिक्रीवितरण गर्न पाउँदैन । यस्तो अवस्थामा नेपाल सरकारले औपचारिक रूपमा निर्णय गरी सम्बन्धित देशलाई फिर्ता गर्नुपर्छ ।
२ माघ २०६५ मा बसेको मन्त्रिपरिषद् बैठकले ५४ हजार ११२ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । १२ फागुन २०७१ को मन्त्रिपरिषद् बैठकले २७ हजार १६६ किलो रक्तचन्दन भारतलाई फिर्ता दिने सरकारको निर्णय थियो । तर, एक किलो पनि रक्तचन्दन फिर्ता भएको छैन ।
के हो रक्तचन्दन ?
रक्तचन्दन एक किसिमको सुगन्धित काठ हो । यसलाई धार्मिका शुभकार्यका साथै सौखिन सामग्री बनाई प्रयोग गरिन्छ । यसरी रक्तचन्दको प्रयोग गरी बनाएका सामग्री महँगोमा बिक्री हुन्छन् । त्यसैगरी, विभिन्न किसिमका रोगका बिरामीका जडीबुटीका रूपमा रक्तचन्दन प्रयोग गरिन्छ । रक्तचन्दनको रूख नेपालमा पाइँदैन । नेपालमा सेतो रक्तचन्दन मात्र पाइन्छ तर सेतो रक्तचन्दन तस्करी हुँदैन । भारतका आन्द्र प्रदेश, कर्णाटक, तालिमनाडुलगायत प्रदेशमा सबैभन्दा धेरै रक्तचन्दन पाइन्छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।












