२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाँदाजाँदै विवादास्पद निर्णय : ६० करोडको खेल



अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका हुन् ।

निर्णयबारे बैठकमा सहभागीहरूले फरकरफरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनियाँ लगायतले बैठकबाटै निर्णय भएको बताए । हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णयबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइन् । यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् ।

त्रिवि प्राज्ञिक परिषद्ले भदौ ५ गते चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) एवं विभिन्न सातवटा मेडिकल कलेजहरूमा ‘निट’ लागू गर्ने भनी परिपत्र गरेको छ । भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले ‘नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (निट) उत्तीर्ण गरेको हुनुपर्छ । आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो । त्रिवि उपकुलपति कार्यालयको स्रोतले भन्यो, ‘अवकाश हुनु केही दिनअघि खनियाँले निट उत्तीर्ण भएकै आधारमा विदेशी विद्यार्थी भर्ना गर्न मिल्ने निर्णय गर्नुभयो ।’

गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिनेरनदिने छलफल भए पनि निर्णय भएको थिएन । तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरे । प्राज्ञिक परिषद्मा भएको छलफललाई सदस्यसचिवले माइन्युट गर्ने र उपकुलपतिले समेत हस्ताक्षर गरेर प्रमाणित गर्ने प्रचलन छ । अन्य सदस्यले माइन्युटमा हस्ताक्षर गर्ने परिपाटी छैन ।परिषद्का एक सदस्यले भने, ‘यस्तो निर्णयले हामीलाई निकै आश्चर्य लागेको छ ।’

उपकुलपति कार्यालयबाट कान्तिपुरलाई प्राप्त कागजातमा निजी मेडिकल कलेजका सञ्चालकहरूको प्रस्तावमा खनियाँले प्राज्ञिक परिषद्का नाममा निर्णय गराएको देखिन्छ । त्यसको एक साताअघि त्रिविमा आबद्ध निजी मेडिकल कलेजहरूको संस्था ‘सोसाइटी अफ टीयू अफिलिएटेड हेल्थ इस्टिच्युसन्स नेपाल (स्टाहिन) ले ‘यस शैक्षिक सत्रदेखि निट लागू गर्ने’ भनी निवेदन दिएको थियो ।

निवेदनमा भनिएको छ, ‘निट लागू गरी विद्यार्थी भर्ना गर्ने वातावरण मिलाई कलेजको जर्जर आर्थिक अवस्थाबाट बच्न टेवा पुर्‍याइदिन हुन विनम्र अनुरोध गर्दछौं ।’ त्यहीअनुसार भदौ १ गतेको प्राज्ञिक परिषद्मा उपकुलपति खनियाँले ठाडो प्रस्ताव पेस गरेका थिए । आईओएमबाट समेत प्रस्ताव आएको भनिएको थियो । छलफल मात्रै भएको विषयलाई पछि भने निर्णय गरियो । निट लागू हुनु भनेको त्रिविमा प्रवेश परीक्षा नदिएका विद्यार्थीले पनि सोझै भर्ना पाउनु हो ।

आईओएमको विद्या परिषद्का एक सदस्यका अनुसार गत वर्ष ३ सय विदेशी विद्यार्थीले प्रवेश परीक्षाका लागि फारम भरेकामा ५९ जना मात्रै उत्तीर्ण भएका थिए । तीमध्ये १७ जना महाराजगन्ज क्याम्पसमै भर्ना भए भने अरू निजी मेडिकल कलेजमा गए । आईओएमको हालको व्यवस्थाअनुसार यीबाहेकका विदेशी विद्यार्थीले त्रिविअन्तर्गतका मेडिकल कलेजमा भर्ना पाउँदैनन् ।

‘निट’ लागू भयो भने त्रिविका निजी मेडिकल कलेजमा कम्तीमा ३ सय विदेशी विद्यार्थीले पढ्न पाउँछन् । नेपाली विद्यार्थीलाई ३८ देखि ४२ लाख रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निजी मेडिकल कलेजहरूले विदेशी विद्यार्थीका हकमा सीमा नतोकिएकाले दोब्बरसम्म लिन्छन् ।

गत वर्ष त्रिविका मेडिकल कलेजहरूमा २ सय ४ जना विदेशी विद्यार्थीको कोटा थियो । प्रवेश परीक्षा पास गर्न नसकेका कारण करिब डेढ सय सिटमा नेपाली विद्यार्थीलाई अधिकतम ४२ लाखकै सीमा हुनेगरी भर्ना गर्नुपर्‍यो । उनीहरूले हालको व्यवस्था निस्तेज गरी ‘निट’ लागू गराउन पाएको भए ती सिटहरूमा विदेशी विद्यार्थी भर्ना गर्थे । प्रतिविद्यार्थी ४० लाख रुपैयाँ अतिरिक्त लाभ हिसाब गर्ने हो भने १ सय ५० सिटमा मात्र ६० करोड रुपैयाँ अतिरिक्त लाभ हुन्छ । ‘यही लाभमा सबैको आँखा परेको देखिन्छ,’ त्रिवि स्रोतले भन्यो ।

भारतका राम्रा विद्यार्थीले त्यहाँ नै छात्रवृत्ति पाउँछन् । त्यहाँका करिब ४ सय मेडिकल कलेजमा भर्ना हुन नपाएका विद्यार्थीको मात्रै वैकल्पिक गन्तव्य हो । आईओएमका एक अध्यापकका अनुसार निटमा त्रिविमा जस्तो ५० अंक ल्याए मात्रै पास हुने मापदण्ड छैन र ग्रेडिङ प्रणालीमा सबैलाई उत्तीर्ण गराइन्छ । ‘त्यसैले ‘निट’ पास गरेका विद्यार्थी गुणस्तरीय हुँदैनन्,’ उनले भने ।

धरातलबिनै निर्णय
विवादास्पद उपकुलपति खनियाँले गरेको निर्णयमा धरातल र कानुन आधारसमेत नदेखिएको त्रिवि कानुन संकायका एक प्राध्यापकले बताए । उनका अनुसार आईओएमको विद्यापरिषद्बाट प्रस्ताव नै नआई प्राज्ञिक परिषद्मा छलफल भएको छ । निर्णयमा नेपाल मेडिकल काउन्सिलले दिएको निर्देशनलाई कार्यान्वयन गर्नका लागि ‘निट’ लागू गर्नुपरेको व्यहोरा उल्लेख छ । तर काउन्सिलले चिकित्सकको आचारसंहिता र अन्य निर्देशिकाबारे मात्रै परिपत्र गरेको थियो ।

पदाधिकारीहरू नियुक्त नभए पनि हालै गठन भएको चिकित्सा शिक्षा आयोगले अर्को निर्णय नगरुन्जेल हाल अपनाएको विधि तथा प्रक्रियाअनुसार कार्यक्रम सञ्चालन गर्न भनी मेडिकल कलेजहरूलाई परिपत्र गरेको छ । २०७५ चैत ४ को निर्णयअनुसार कलेजहरूले नयाँ नीतिगत निर्णय गर्न पाउँदैनथे । तर प्राज्ञिक परिषद्का नाममा उपकुलपति खनियाँले अवकाश लिनु केही दिनअघि विवादास्पद निर्णय गरेका हुन् ।

प्राज्ञिक परिषद्को निर्णयमा गत साउन २४ गते संसदको शिक्षा तथा स्वास्थ्य समितिले गरेको निर्णयलाई पनि आधार मानिएको छ । समितिले विभिन्न विश्वविद्यालय र मेडिकल कलेजहरूको नियम र मापदण्ड फरक भएको भन्दै एकरूपता अपनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो । त्यसको पत्र नै नआई एकरूपताका नाममा ‘निट’ लागू गर्ने निर्णय गरिएको हो । विवादास्पद निर्णय भएकाले उनीहरूले प्रतिरक्षाका लागि प्रवेश परीक्षा पास भएका विद्यार्थी नआए मात्रै ‘निट’ पास भएकालाई भर्ना लिने व्यहोरा लेखेका छन् ।

निवर्तमान उपकुलपति खनियाँले मेडिकल काउन्सिलको निर्देशनका कारण आफूहरूले निर्णय गर्नुपरेको प्रतिक्रिया दिए । ‘काउन्सिलको निर्देशन छ, उसले भनेको मापदण्ड त पालना हुनुपर्‍यो नि,’ खनियाँले कान्तिपुरसित भने । उनले निजी मेडिकल कलेजहरूले समेत निवेदन दिएकाले निर्णयबारे उनीहरूलाई जानकारी दिन सोझै पत्राचार गरिएको हाकाहाकी स्विकारे । कार्यवाहक उपकुलपति त्रिपाठी भने निर्णयबारे जानकारी नभएको बताउँछिन् । परिषद्की सदस्यसमेत रहेकी उनले भनिन्, ‘त्यस्तो निर्णय त भएको होइन, के लेखिएको रहेछ, मैले पनि बुझ्नुपर्छ ।’

प्राज्ञिक परिषद्मा उपस्थित मानविकी तथा सामाजिक शास्त्र संकायका डिन शिवलाल भुसालले ‘निट’ कार्यान्वयनबारे छलफल गर्ने सल्लाह भएको बताए । ‘मलाई अहिले सम्झना भएन, लामो छलफल भएको थियो,’ परिषद्का सदस्य सचिवसमेत रहेका उनले भने, ‘म बाहिर छु । अहिले यो विषयमा केही भन्न नसक्ने भएँ । लामो लिस्ट छ । डिन अफिसले यो जाँच लिन्छ । त्यस्तो निर्णय केही भएको छैन ।’ उनले प्राज्ञिक परिषद्को निर्णयमा आफूले हस्ताक्षर गरेको भने स्विकारे ।

अर्का सदस्य कानुनका डिन विजयसिंह सिजापतीले विषयवस्तुबारे छलफल भएको बताउँदै थप बुझ्न सम्बन्धित व्यक्तिलाई सोध्नुपर्ने सुझाव दिए । ‘यसबारे मेडिकलका डिन डा। ९जगदीश० अग्रवाललाई सोध्नु नि,’ उनले भने, ‘हामीलाई त के थाहा, उहाँलाई थाहा हुन्छ ।’ आईओएमकाडिन डा। अग्रवालसँग सम्पर्क हुन सकेन । आईओएमका एक प्राध्यापकका अनुसार परिषद्को बैठकमा उपस्थित भएका उनी त्यसपछि विदेश भ्रमणमा छन् ।

प्राज्ञिक परिषद्को निर्णयमा ‘निट’ कार्यान्वयन गराउन आईओएमलाई पत्र पठाउने निर्णय गरे पनि उपकुलपति खनियाँले ‘केही’ चलखेल गरेको स्रोतको दाबी छ । छलफलको चार दिनपछि उनको निर्देशनमा सातवटा निजी मेडिकल कलेजमा समेत सोझै परिपत्र गरिएको थियो, जुन गलत हो । उक्त निर्णय दुरुपयोगमा प्राज्ञिक परिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत सीताकुमारी खनाल समेत प्रयोग भएकी थिइन् । त्रिवि स्रोतले भन्यो, ‘डिन कार्यालयमा भन्दा मेडिकल कलेजहरूमा पत्र पठाउन हतारो गर्नु मिलेमतो हो ।’

विश्वविद्यालयको प्राज्ञिक परिषद्ले विद्यार्थी भर्नाका लागि न्यूनतम आवश्यकता, छनोटको आधार र अन्य विषय तोक्न सक्ने व्यवस्था छ । तर परिषद्ले निर्णय गर्नुअघि सम्बन्धित संस्थानको विद्यापरिषद्ले निर्णय गरेर विश्वविद्यालयमा प्रस्ताव पठाउनुपर्छ । मेडिकल कलेज र विद्यार्थी जोडिएका विषयमा आईओएमबाट निर्णय हुनुपर्नेमा त्यसबारे कुनै छलफल भएको छैन । गत महिना मात्रै आईओएमले पुरानै पद्धतिका आधारमा विद्यार्थी भर्ना गर्ने निर्णय गरिसकेको थियो ।

पुरानै चालबाजी
निजी मेडिकल कलेजहरूले केही वर्षदेखि त्रिविको प्रवेश परीक्षा प्रणालीलाई असफल पार्न चलखेल गरिरहेका थिए । उनीहरूले अदालतमा मुद्दा हाली अन्तरिम आदेश जारी गराएरसमेत विद्यार्थी भर्ना गरेका थिए । गत वर्ष यो विषयमा उच्च अदालत पाटन र हेटौंडाको वीरगन्ज इजलासको आदेश आपसमा बाझिएका थिए । त्यही विषयलाई इंगित गर्दै डा। गोविन्द केसीले अदालतबाट मेडिकल माफियाको पक्षमा फैसला हुने गरेको आरोप लगाउँदै ‘मेडिकल कलेज डिग्री बेच्ने थलो बनेको’ टिप्पणी गरेका थिए ।

प्रवेश परीक्षाबिना विदेशी विद्यार्थी भर्ना गरिपाउँ भनी जानकी मेडिकल कलेजका सञ्चालकहरूले त्यतिबेला हालेको निवेदन उच्च अदालत पाटनले अस्वीकार गरेको थियो । जानकीका सञ्चालकले विद्यार्थीलाई प्रयोग गरी परीक्षा दिन पाउँ भनी सर्वोच्च अदालतमा निवेदन हाल्न लगाए । गत पुसमै अन्तरिम आदेश अस्वीकृत भएकामा सर्वोच्च अदालतले गत जेठमा उही विद्यार्थीको अर्को निवेदनमा अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च अदालतको उक्त आदेश विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत थियो । पाँच महिनाअघि प्रवेश परीक्षाबिना भर्ना हुन पाउँ भनी दर्ता गरिएको निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार भएकामा उही व्यक्तिको अर्को निवेदनमा अन्तरिम आदेश जारी भएको थियो ।

त्यति बेला न्यायाधीशहरू केदारप्रसाद चालिसे र मनोजकुमार शर्माले अन्तरिम आदेश जारी गरेका थिए । विधिशास्त्रको आधारभूत मान्यताभित्र पर्ने प्राङन्यायको सिद्धान्तअनुसार एउटा विषयमा कुनै तहको अदालतले न्यायसम्पादन गरेपछि सोही विवाद त्यही रूपमा त्यही तहको अदालतमा फेरि सुनुवाइ हुन सक्दैन ।

यसपालि भने मेडिकल कलेजका सञ्चालकहरूले अवकाशको मुखमा रहेका उपकुलपति खनियाँको हातबाटै आफ्नो निवेदनलाई प्राज्ञिक परिषद्को एजेन्डा बनाई निर्णय गराउन सफल भएका हुन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।