
काठमाडौं । जनताको सुरक्षाका लागि खटिएका प्रहरी नै ललितपुरमा असुरक्षित रहेको पाइएको छ । पाटनढोका प्रहरी प्रभाग र नख्खु पुलछेउको अस्थायी प्रहरी बिटका जीर्ण भवनबाट सेवा दिनुपर्ने बाध्यता रहेको प्रहरी अधिकारी बताउँछन् ।
पाटन ढोका प्रहरी प्रभागको छानो त्रिपालको छ । वर्षा हुँदा बाल्टीमा पानी थाप्नुपर्ने अवस्था रहेको प्रहरी प्रभागका प्रमुख उमेश फुँयालले बताए । उनले भने ‘यहाँ केही वर्षदेखि जीर्ण भवनमा बस्न बाध्य छौँ । हावाहुरी, वर्षामा निकै कष्ट हुन्छ । वर्षामा बाल्टिनमा पानी थापेर बस्छौँ ।’
नख्खुको पुलमा सवारीसाधन हिँड्दा प्रहरी बिट थर्किने गरेको छ । अगाडि, पछाडि र जगसमेत चर्किएको भवनमा असइसहित सात प्रहरी बस्ने गरेका छन् । भवन कुनै पनि वेला भत्किन सक्ने एक प्रहरीले बताए ।
जीर्ण प्रहरी भवनको विषयमा सम्बन्धित निकाय जानकार भए पनि जग्गा खरिद गर्न नपाउँदा समस्या भएको नख्खुमा कार्यरत एक प्रहरीले बताए । ०७२ को भूकम्पपछि एकतले भवन जीर्ण बनेको हो ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले समस्या समाधानको प्रयासमा रहेको बताए । उनले भने ‘हामीले समस्या समाधानको प्रयास गरेका छौँ । पुल्चोकमा १३ करोडमा भवन बन्ने योजना छ । त्यस्तै, अन्य प्रहरी भवनको सम्बन्धमा आवश्यकतानुसार मर्मत–संहार गर्ने र भवन निर्माण गर्नेछौँ ।’
प्रहरी भवन प्रहरीकै विषय : जिल्ला प्रशासन
जिल्ला प्रशासन कार्यालय ललितपुरले प्रहरी कार्यालयको भौतिक पूर्वाधारको विषयमा प्रहरी परिसरकै हुने बताएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भुसालले भने ‘प्रहरीको भौतिक पूर्वाधारको विषय जिल्ला प्रशासनभन्दा पनि प्रहरी परिसरसँग सम्बन्धित हन्छ । भौतिक पूर्वाधारको समस्या सुरक्षा समिति बैठकमा भने अवश्य राख्छौँ ।’
आश्वासन मात्रै
प्रभाग र बिटले सम्बन्धित निकायलाई भवनको अवस्था र समस्याको जानकारी गराउँदा आश्वासन पाए पनि कार्यान्वयन भने भएको छैन । पाटन प्रहरीले ललितपुर प्रहरी परिसर, पुल्चोक इन्जिनियरिङ क्याम्पस, सडक विभाग ललितपुरलगायतलाई समस्या समाधानका लागि अनुरोध गरेको छ ।
सम्बन्धित निकायले आश्वासन दिए पनि समस्या समाधान भने हुन सकेको छैन । एक व्यक्तिले प्रतिबद्धता गर्ने केही समयमा सरुवा हुने र समस्या जस्ताको तस्तै रहने गरेको छ ।’ नख्खु प्रहरी बिटले वडा कार्यालय र प्रहरी परिसरलाई समस्याबारे जानकारी गराएको छ । बिटले पनि हालसम्म आश्वासन मात्रै पाएको छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












