
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)का परीक्षार्थीले नतिजामा चित्त नबुझे उत्तरपुस्तिका नै पुनः परीक्षण गर्न पाउने भएका छन् । यसअघि उत्तरपुस्तिकामा उल्लेखित प्राप्तांक मात्रै पुनः जोडेर (पुनर्योग) हेर्न पाउने व्यवस्था थियो ।
पुनर्योगका लागि आवेदन दिएर चित्त नबुझेका विद्यार्थीलाई अब उत्तरपुस्तिका हेर्न दिने र त्यसमा पनि चित्त नबुझे पुनः परीक्षण गर्न दिन लागिएको हो । ‘पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीको रिजल्ट आइसकेको छ । चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न आवेदन दिन सक्छन् । त्यसमा पनि चित्त नबुझे उत्तरपुस्तिका पुनः परीक्षण गर्ने तयारी पहिलोपटक गरिएको छ,’ राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत एसइईको परीक्षा नियन्त्रक रामराज खकुरेलले भने । एसइईको नतिजामा पुनर्योग गरेका विद्यार्थीले मात्र उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने उनले बताए ।
एसइईको उत्तरपुस्तिका हेर्न अहिलेसम्म तीनजनाले आवेदन दिएको खकुरेलले बताए । पनिकाले एसइईको उत्तरपुस्तिका हेर्न प्रतिविषय सात सय रुपैयाँ कायम गरेको छ । अघिल्लो वर्ष बोर्डले कक्षा ११ को उत्तरपुस्तिका पुनः परीक्षणका लागि दुई हजार शुल्क लिने व्यवस्था गरेको थियो ।
१० प्रतिशत फरक परे थपघट हुने
बोर्डले उत्तरपुस्तिका पुनः परीक्षणका लागि विषयअनुसार तीनजनाको विज्ञ टोली बनाउनेछ । पहिले प्राप्त भएकोभन्दा १० प्रतिशत कम वा बढी अंक आए नतिजा परिवर्तन हुन्छ । १० प्रतिशत घट्यो भने घटेकै ग्रेड कायम हुन्छ । पुनः परीक्षणका लागि ग्रेडसिट पनिकामा बुझाउनुपर्ने व्यवस्था छ ।
८ सय ६२ जनाको ग्रेड परिवर्तन
०७५ को एसइई नतिजामा चित्त नबुझेर पुनर्योगका लागि आवेदन दिएकामध्ये आठ सय ६२ जनाको ग्रेड परिवर्तन भएको छ । आठ हजारभन्दा बढीले पुनर्योगका लागि आवेदन दिएका थिए । आवेदन दिएकामध्ये १० प्रतिशतको नतिजा परिवर्तन भएको छ ।
उत्तरपुस्तिका पुनः परीक्षणमा जोखिम
राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्ष कक्षा ११ को उत्तरपुस्तिका पुनः परीक्षणको व्यवस्था गरेको थियो । कक्षा ११ मा अघिल्लो वर्ष तीन सय १६ विद्यार्थीले आवेदन दिएका थिए । जसमा एक सय ४८ जनाको अंक उस्तै रहेको छ । पुनः परीक्षणमा ५२ विद्यार्थीको नम्बर घटेको छ भने एक सय १६ जनाको नम्बर केही बढेको छ । कक्षा १२ मा भने पुनः परीक्षण भएको थिएन । उत्तरपुस्तिका हेर्नका लागि जम्मा ६ जनाको आवेदन परेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा ११ र १२ मा पनि उत्तरपुस्तिका हेर्न चाहनेको संख्या कम छ । बोर्ड स्रोतका अनुसार अघिल्लो वर्ष कक्षा १२ मा ६ जनाले मात्र उत्तरपुस्तिका हेरेका थिए । कक्षा ११ मा पोखराका विद्यार्थीले नतिजामा असन्तुष्टि जनाएकाले पुनर्योग गर्नेको संख्या बढी थियो । बोर्डले अघिल्लो वर्षदेखि कक्षा ११ मा पुनर्योग मात्र होइन उत्तरपुस्तिकाको पुनः परीक्षणसमेत गर्न पाउने व्यवस्था गरेकाले संख्या बढेको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












