
काठमाडौं । डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने परशुराम नगरपालिकामा कडा खालको झाडापखालाबाट तीन सय परिवार जोखिममा परेको नगरपालिकाले जनाएको छ । २९ साउनदेखि नगरको वडा नम्बर ८ जमरानीमा गम्भीर खालको झाडापखाला (हैजा) को प्रकोप बढेको हो । नगरको वडा नम्बर ६, ७ र ८ का ३ सय परिवार जोखिमा रहेको नगरपालिकाका स्वास्थ्य उपसंयोजक हिक्मत धँमीले बताए ।
नौ दिनदेखि परशुराम नगरपालिका–८ को जमरानी, सानखोला र धादलीफाँटाबाट फैलिएको कडा खालको झाडापखाला गुप्तेगाडा गाउँमा पनि देखिएको छ । बुधबारसम्म ८१ जनामा कडा खालको झाडापखाला देखिएको थियो । तीमध्ये १४ जनालाई जमारानी बर्थिङ सेन्टरमा राखेर उपचार गरिएको थियो भने पाँचजना जोगबुडा अस्पतालमा र एकजना सेती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको परशुराम नगरपालिकाका स्वास्थ्य उप–संयोजक धामीले बताए ।
जीवनजल र सामान्य खालको औषधि दिएर अन्यलाई उपचारपछि घर फर्काइएको उनले बताए । हालसम्म ८१ जनामा गम्भीर खालको झाडापखाला ‘हैजा’ देखिएको जिल्ला जनस्वास्थय कार्यालय डडेल्धुराका महामारी स्रोत व्यक्ति हरि भट्टले बताए । हालसम्म एक गर्भवती महिला, सातजना बालबालिका र अन्य ७३ जनालाई ‘हैजा’ भएको पुष्टि भएको भट्टको भनाइ छ । अहिले प्रकोप नियन्त्रणमा आइसकेको भट्टको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराका अनुसार डाँँडामा बस्ती भएकाले खुल्ला दिसापिसाबले खानेपानीका मुहान फोहोर भएकाले त्यस क्षेत्रका तीन सय घरधुरी उच्च जोखिममा रहेका हुन् । उच्च जोखिम भएका बस्तीमा सरसफाइका सामग्रीदेखि आवश्यक पहल थालिएको परशुराम नगरपालिका नगरप्रमुख भीमबहादुर साउदले बताए ।
मन्त्री बोहरा प्रभावित क्षेत्रमा
परशुराम नगरपालिका–८ जमरानीमा कडा खालको झाडापखालाको प्रकोप देखिएपछि सुदूरपश्चिम प्रदेशका भौतिक योजनामन्त्री पठानसिंह बोहरा प्रभावित क्षेत्रमा पुगेका छन् ।
परशुराम नगरपालिका–८ कोसानखोला र धादलीफाँटामा देखिएको झाडापखाला हाल गुप्टीगाडा भन्ने गाउँमा पनि फैलिएपछि खानेपानी मन्त्रीको जिम्मेवारीसमेत लिएका बोहरा प्रभावित क्षेत्रमा पुगेका हुन् ।
निमोनियाले महिलाको मृत्यु
डडेल्धुराकै जोगबुडा अस्पतालमा कडा निमोनियाका कारण एकजना महिलाको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका–५ परिगाउँका बलबहादुर पुनमगरकी २० वर्षीया श्रीमती पार्वती पुनमगरको मृत्यु भएको अस्पतालका मेडिकल अधिकृत करिना बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार आफन्तले बुधबार बिहान सवा ११ बजे बिरामीलाई अस्पताल पुर्याएका थिए । उनको उपचारका क्रममा पौने १२ बजे मृत्यु भएको हो । मृतक पुनलाई जटिल अवस्थामा अस्पतालमा पुर्याइएको अस्पताल स्रोतले जनाएको छ ।
नयाँ पत्रिकाबाट












