
दाङ । पदाधिकारीले बारम्बार मनोबल खस्काउने कार्य गरेको भन्दै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । काम गर्ने वातावरण बनाइदिन उपकुलपतिलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको उनीहरूको आरोप छ ।
‘उपकुलपतिसमक्ष हामीले काम गर्ने वातावरण मिलाइदिन पटक–पटक आग्रह गरे पनि सुनवाइ नगरी चरम मानसिक पीडाको स्थिति सिर्जना गरियो । पदाधिकारीबाट बारम्बार अनुचित बहानामा स्पष्टीकरण लिने, बर्खास्ती र धम्की दिएर मनोबल खस्काउने काम भयो,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अब हामी सबै चिकित्सक प्रतिष्ठानमा काम गर्न सक्दैनौँ ।’
उनीहरूले कुलपति र सहकुलपतिको कार्यालय, मेडिकल एसोसिएसन, मेडिकल काउन्सिल र जिल्ला प्रशासन कार्यालय दाङमा विज्ञप्तिको बोधार्थ पठाएका छन् ।
यसअघि बुधबार दिनभर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । मेडिकल अफिसर डा। मनोज यादवलाई उपकुलपति डा। संगीता भण्डारीले विनाकारण बर्खास्त गर्ने धम्की दिएको भन्दै चिकित्सक आन्दोलित भएका थिए ।
डा। यादवले बिरामीको ल्याब टेस्टका लागि प्रतिष्ठान बाहिर पठाएको आरोप लगाउँदै उपकुलपति संगीता भण्डारीले उनलाई अस्पताल नआउन भनेकी थिइन् । त्यसको विरोधमा बुधबार दिनभर चिकित्सकले काम बहिष्कार गरेका थिए । नयाँ पत्रिकाबाट












