नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानअन्तर्गत उपसभापति पदको मतगणना जारी छ । मतगणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा साँझदेखि सुरु भएको हो ।
केहीबेर अघिसम्म तीन हजार ५०० मत गन्दा उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले एक हजार ६३४, विजयकुमार गच्छदारले एक हजार ४४३, धनराज गुरुङले एक हजार ४३७, डा चन्द्र भण्डारीले एक हजार २५८, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी शाहले ११७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
मतगणना तीन स्थानमा भइरहेको छ । सोमबार भएको मतदानमा उपसभापति दुई पदका लागि उहाँहरुले उम्मेदवारी दिनुभएको थियो । जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो ।












