मोहम्मद हानिफ
पाकिस्तानी बालबालिकालाई विद्यालयमा काश्मीर हाम्रो ‘गर्धनको नशा’ हो भनेर पढाइन्छ । यस्तै भारतीयहरू काश्मीर आफ्नो ‘अटुट अंग’ हो भन्ने विश्वास गर्छन् । उर्दु र फारसी कविताहरूमा काश्मीरको सुन्दरताको गाथा कुँदिएको छ । यदि यो धर्तीमा स्वर्ग छ भने ‘त्यो यही हो, यही हो, यही हो,’ १४ औं शताब्दीका कवि अमिर खुस्रोले लेखेका छन् ।

७२
वर्षअघि भारत र पाकिस्तान विभाजित भएको दिनदेखि नै काश्मीरका लागि दुई
देशीबीच युद्ध भइरहेको छ । दुवैले एकअर्कालाई काश्मीरीहरूमाथि ज्यादती गरेर
अधिकार जमाएको आरोप लगाइरहेका हुन्छन् ।
कहिलेकाहीं
काश्मीरीहरू त्रासदीबीच आफ्नो स्वर्गमा आफूले मनलागेको गर्न पाउनुपर्ने
आवाज उठाउँछन् । सन् १९४८ मा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले
काश्मीरीहरूको धारणा बुझ्न जनमत संग्रह गर्नुपर्ने बताएको थियो । तर
अहिलेसम्म भएको छैन । विवादित काश्मीरको दुवैतर्फ मेरा केही साथीहरू छन्,
उनीहरू दुवै देशबाट विशेष राज्यको मान्यता पाउनुको साटो आफूहरूलाई अलग्गै
रहन दिनुपर्ने बताउँछन् । भारत र पाकिस्तान दुवैबाट अलग ।
ती
र अन्य काश्मीरीहरूले जे चाहेको भए पनि यो साता जे प्राप्त गरे, त्यो भने
कुनै पनि हालतमा चाहेका थिएनन् । भारतको संविधानमै उल्लेख भएर पाएको विशेष
राज्यको मान्यता र सापेक्ष स्वतन्त्रता खोसिएको छ । विश्वमा केही अति
सैन्यकरण भएका क्षेत्रहरू मध्येको एक काश्मीरमा अहिले ३५ हजार बढी
सुरक्षाकर्मी तैनाथ गरिएका छन् । विद्यालय, कार्यालय, इन्टरनेट, फोन सबै
बन्द गरिएका छन् । प्रायः सबै स्थानीय राजनीतिक नेताहरूलाई पक्राउ गरिएको
छ । त्यो घानमा नयाँदिल्लीसँग समन्वय गरेरै अगाडि बढ्न चाहने केही नेताहरू
पनि परेका छन् ।
पक्राउ पर्नुअघि त्यस क्षेत्रका एक पूर्व
मुख्यमन्त्रीले भनेका छन्, ‘विभाजनको बेलामा भारतसँग हात मिलाउनु नै गल्ती
थियो ।’ अहिले भारतले काश्मीरलाई आफूमा समाहित गर्दै लाखौं नागरिकलाई जेल
हालेर पुनः विभाजनको स्थितिमा ल्याइपुर्याएको छ । धेरै भारतीयले यो
प्रक्रियाको स्वागत गरेका छन् । कलाकार अनुपम खेरले ट्विट गर्दै ‘काश्मीर
प्रकरणको अन्त्यको राम्रो सुरुवात’ भएको उल्लेख गरेका छन् ।
विज्ञहरूले
काश्मीरी जनताले भारतसँग जोडिएकै धेरै सुविधा उपभोग गरे पनि त्यसैमा
प्रश्न गर्ने गरेको भन्दै आलोचना गरेका छन्, ‘तपाईंहरूलाई थाहाछ, काश्मीर
उपत्यकामा युवाहरू पाकिस्तानको समर्थनमा नाराबाजी गर्छन् र पाकिस्तानी
क्रिकेट टोली विजयी हुँदा उत्सव नै मनाउँछन् र पाकिस्तानी झण्डा
फहराउँछन् ।’
यो साता संविधानको धारा ३७० हट्नु पूर्व
काश्मीरीहरूसँग आफ्नोलागि कानुन आफैं बनाउने र आफ्नो झण्डा फहराउने
‘सुविधा’ थियो । र त्यो यस्तो ‘सुविधा’ थियो, जसको उपभोग गरेबापत धेरैले
दशकौंसम्म कारबाही भोगे । हजारौं काश्मीरीहरू बेपत्ता पारिए, केही भारतीय
सेनाका बन्दी बने ।
काश्मीरीहरूमाथि गरिएका अत्याचार
केहीलाई अपुग लाग्यो । त्यसैले अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका
समर्थकहरू विभाजन अघिको अवस्था सिर्जना हुँदा खुसीले गदगद छन् । हिन्दु
अधिनायकवादको शक्तिमा रमाउनेहरूको आफ्नै तर्क छन् । उनीहरूले काश्मीरीहरूको
भविष्यलाई मात्रै बेवास्ता गरेका छैनन्, बरु इतिहासमा भारतप्रति कटिबद्ध
नभएकोमा अपमानित गर्दै कारबाही गर्न चाहन्छन् । उता भारतीय मुसलमानहरूलाई
देशभर नै गाई काटेर खाएकोमा हिन्दु अतिवादीहरूले कुटेर मारिरहेका छन् ।
काश्मीरमा
कुनै सीमा विवाद नरहेको भारतले यसै साता उद्घोष गरेको थियो । ‘काश्मीरीहरू
तिमीहरूको जमिन हाम्रो जमिन हो,’ उसले निशंकोच भनिदियो । यससँगै
पाकिस्तानको गर्धनको नशा पनि काटियो ।
यति हुँदा पनि
पाकिस्तानसँग यस विरुद्ध उभिने केही उपाय भएको देखिएन । उसले आफ्नो दुवै
हात उठाउँदै अन्तर्राष्ट्रिय समुदायका अगाडि दुखेको मात्रै जनाउन सक्यो ।
पाकिस्तानी सेनाले काश्मीरी दाजुभाइलाई सहयोग गर्न आफू कुनै पनि हदसम्मको
सहयोग गर्नका लागि तयार रहेको बताएको छ । तर त्यसको उपादेयता कतिको छ भन्ने
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदमा गरेको सम्बोधनबाटै स्पष्ट
हुन्छ । ‘तपाईंहरू मबाट के चाहनुहुन्छ ?’ उनले भने, ‘के म भारतसँग युद्ध
गरौं ? हामीले त्यो चारपटक गरिसक्यौं र अहिले हामी त्यो मुडमा छैनौं ।’
पाकिस्तानले
विश्व समुदायलाई यस विषयमा एकमत बनाउन आग्रह गरे पनि त्यो सम्भव नभएको
देखिइसकेको छ । अमेरिकाले पिंजडा भित्रको स्वर्गमा हुने कामकारबाही भारतको
अन्तरिक मामिला भएको इंगित गरिसकेको छ । आफ्नै देशको वालमार्ट सुरक्षित
राख्न नसक्ने देशले काश्मीरीहरूको इन्टरनेट सुचारु गर्न र इज्जत जोगाउन
आवाज उठाउँछ भनेर कल्पना गर्नुको कुनै तुक छैन ।
चीन
पाकिस्तानको पुरानो मित्र भए पनि ऊआफ्नो देशको श्रम शिविरमा बन्द उइघुर
मुसलमानहरूलाई क्यामेरा अगाडि कसरी मुस्कुराउने भनेर सिकाउनमै व्यस्त छ ।
रूस र इजरायल भारतकै मित्र हुन् । मुसलमान समुदायको पहिलो राजकुमार साउदीका
मोहम्मद बिन सलमानले त मोदीलाईआफ्नो दाजु नै मानेका छन् । भारतीय सरकारको
निर्णय विरुद्ध आवाज उठाइरहेका पाकिस्तानीहरू पनि भारतले आफ्नै भूभाग कब्जा
गरेझैं चिच्याइरहेका छन् । ‘काश्मीर हाम्रो हो,’ उनीहरूले सामाजिक
सञ्जालमा लेखेका छन् ।
न्युयोर्क टाइम्सबाट अनुदित












