२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादकै कारण प्रदेशको नाम र स्थायी राजधानी अन्योल



अ+ अ-

काठमाडौं । संविधानमा भएको व्यवस्थाअनुसार सातवटै प्रदेशको निर्वाचन भई प्रदेश सभा तथा प्रदेश सरकार गठन भएको दुई वर्ष पुग्नै लागेको छ । तर, सातमध्ये तीन प्रदेशको मात्रै नाम र स्थायी राजधानी तोकिएको छ ।
चारवटा प्रदेशको नाम र स्थायी राजधानीको बारेमा राजनीतिक दल तथा प्रदेशसभामा सहमति अझै जुट्न सकेको छैन् । प्रदेश १, प्रदेश २, प्रदेश ३ र प्रदेश ५ मा राजनीतिक दल तथा प्रदेशसभा सदस्यका बीचमा रहेको विवादकै कारण प्रदेश राजधानी र नाम तोक्न नसकिएको हो ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रत्येक प्रदेशले आफ्नो प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धित प्रदेश सभाको दुई तिहाइ बहुमतबाट तोक्नुपर्ने हुन्छ । प्रदेश २ बाहेकका प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दुई तिहाइ बहुमत पुगे पनि आन्तरिक विवादकै कारण तोक्नसमेत असहज भएको छ ।

प्रदेशको नाम अंकले चिनिन्छ । राजधानी अस्थायी रूपमा तोकिएको छ । प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानीका बारेमा लामो छलफल गरे पनि सहमति जुटन सकस भएको छ । नाम र अस्थायी राजधानीका विषयमा प्रदेश सभाका सदस्यका साथै पार्टीका शीर्ष नेताहरू एकै ठाउँमा उभिन नसकेकाले यो विषय झन् पेचिलो बन्दै गएको छ ।

प्रदेश १

प्रदेश १ मा सत्तारुढ दल नेकपाले विराटनगरलाई स्थायी राजधानी बनाउने सहमति जुटेको छ । बृहत् विराटनगर निर्माणसँगै प्रदेशका संरचना त्यही प्रदेशभित्र अन्यत्र पनि राख्ने गरी सहमति जुटे पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसमा आपत्ति जनाउँदै आएको छ । विराटनगरलाई राजधानी तोकेर अन्य संरचना विराटनगरबाहिर लैजान खोजेको आरोप लगाउँदै कांग्रेससहित अन्य दलले विरोध गरेका छन् । नाम मात्रैको विराटनगरलाई राजधानी बनाउने तर सबै संरचना अन्यत्र लैजाने षड्यन्त्र नेकपाले गरिरहेको आरोप कांग्रेससहितका साना दलको रहेको छ ।
तर, नेकपाले संघीयताको मर्मअनुसार राजधानीका केही संरचना विकेन्द्रित गर्न खोजेको बताउँदै आएको छ । तर, कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल)सहितका दलले नेकपाको प्रस्तावमा असहमति जनाउँदै आएका छन् ।

प्रदेश १ को राजधानीका रूपमा विराटनगर, इटहरी, धरान, धनकुटा, सुन्दरहरैचास्थित गोठगाउँवासीले प्रदेशको राजधानी माग गर्दै संघर्षमै रहेका छन् । नेकपाले विराटनगरलाई राजधानी तोकेर कार्यपालिका र व्यवस्थापिकाका अन्य संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र मोरङको सुन्दरहरैचा क्षेत्र आसपासमा रहने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ । प्रदेशको नाम किरात, कोसी, सगरमाथा हुनुपर्ने माग रहेको छ । नामबारे समेत राजनीतिक दलबीच विवाद हँुदै आएको छ । प्रदेश १ मा नेकपाको दुई तिहाइ बहुमत छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र स्थायी राजधानीका लागि छलफल भइरहेको बताउँदै छिट्टै नै टुंगोमा पुगिने बताए ।

प्रदेश २

प्रदेश २ को नाम र स्थायी राजधानी अन्य प्रदेशभन्दा पेचिलो बन्दै गएको छ । प्रदेश २ मा कुनै पनि दलको दुई तिहाइ बहुमत छैन । समाजवादी पार्टी र राजपा नेपालको गठबन्धनको प्रदेश सरकार छ । प्रदेश सरकारले नाम र राजधानीका लागि सुझाव संकलन गरिसकेको छ । राजनीतिक दलबीच प्रदेशको राजधानी र नामबारे छलफल भए पनि निष्कर्ष निस्केको छैन । समाजवादी पार्टी र राजपा नेपालको गठबन्धन सरकार भए पनि ऊसँग दुई तिहाइ बहुमत पुग्दैन । सातमध्ये प्रदेश २ मात्रै यस्तो प्रदेश हो, जहाँ नेकपा प्रमुख पतिपक्षी दलका रूपमा रहेको छ । प्रदेशसभामा आवश्यक बहुमत नरहेकै कारण सरकारले हालसम्म प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रदेश सभामा लैजान सकेको छैन ।

तर, प्रदेशको नाम र राजधानीसम्बन्धी गठित आयोगले दिएको सुझावलाई प्रदेश सभामा लगिने प्रतिबद्धता मुख्यमन्त्री लालबाबु राउतले व्यक्त गरेका छन् । प्रदेश सभाबाट आयोगले दिएको सुझावकै आधारमा नाम र स्थायी राजधानी टुंगो लगाउने उनले बताए । प्रदेश २ मा स्थायी राजधानीका लागि जनकपुरधाम र वीरगन्ज हुनुपर्ने माग हुँदै आएको छ । प्रदेश २ को नाम मिथिला, सीता, तिरहुत, मधेस, मध्य मधेस, सिम्रौनगढ, भोजपुरा, मिथिला हुनुपर्ने सुझाव आयोगले दिएको छ ।

प्रदेश ३
संघीय राजधानी काठमाडौंसमेत रहेको प्रदेश ३ को नाम र स्थायी राजधानीका विषयमा राजनीतिक दलबीच घोचपेच चलिरहेको छ । संघीय राजधानी नै प्रदेश ३ मै रहेकाले अन्य प्रदेशभन्दा यो प्रदेशमा टुंगो लगाउन सकस भइरहेको छ । प्रदेशसभाको गत अधिवेशनमा राजधानीको लागि हेटांैडा, चितवन, काभ्रे, नुवाकोट र भक्तपुरको नाम प्रस्ताव गरिएको छ । राजधानी सम्भाव्यता अध्ययन समितिले यी पाँच ठाउँको नाम सिफारिस गरेको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नाम र स्थायी राजधानीबारे छलफल जारी रहेको बताए । संघीय राजधानीमै प्रदेशको राजधानीसमेत राख्न नसकिने बताउँदै यस विषयमा छिट्टै नै टुंगोमा पुगिने उनले बताए । प्रदेश ३ को नामबारे विवाद नभएको यो प्रदेशमा स्थायी राजधानीका लागि राजनीतिक दल र नेताहरू तानातान गरिरहेका छन् । प्रदेश तीनको नाम बाग्मती, नेवा, तामसालिङ हुनुपर्ने चर्चा भए पनि औपचारिक प्रस्ताव कुनै दलले गरेका छैनन् । प्रदेश ३ मा सत्तारुढ दल नेकपाको दुई तिहाइ बहुमत रहेको छ ।

प्रदेश ५

प्रदेश २ जस्तै प्रदेश ५ मा समेत प्रदेश राजधानी र नामबारे तीव्र विवाद रहेको छ । यो प्रदेशमा पनि नाम र राजधानीबारे विवाद सुल्झिनुको साटो बल्झिदै गएको छ । प्रदेशको नाम लुम्बिनी राख्ने विषयमा सहमति नजिक राजनीतिक दल पुगे पनि स्थायी राजधानीका विषयमा टकराव बढ्दै गएको छ । प्रदेशको स्थायी राजधानीका लागि बुटवल, दाङ नै हुनुपर्नेमा तीव्र विवाद रहेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताए । राजधानी र नामबारे छलफल सकारात्मक भइरहेको बताउँदै उनले सोबारे निर्णय छिट्टै नै हुने बताए । बुटवल र दाङ नै हुनुपर्ने पक्षमा पार्टीकै शीर्ष नेता लागेपछि प्रदेश ५ मा विवाद पेचिलो बन्दै गएको छ । यो प्रदेशमा पनि सत्तारुढ दल नेकपाको दुई तिहाइ बहुमत रहेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।