
काठमाडौं । नेपालमा कुल भूभागको करिब ४५ प्रतिशत वनजंगलले ढाकेको छ । तर, हरेक वर्ष काठ र काठजन्य सामग्रीको आयात बढ्दै र निर्यात घट्दै गएको छ । गत आर्थिक वर्षमा मात्रै साढे ६ अर्बको काठ र काठ काठजन्य सामग्री आयात भएको छ भने जम्मा पाँच करोडको मात्रै निर्यात भएको छ ।
नेपालसँग कुनै कूटनीतिक सम्बन्ध नभएका देशबाटसमेत धमाधम काठ आयात भइरहेको छ । गत आर्थिक वर्ष मात्रै ४२ देशबाट ६ अर्ब ६० करोड ६१ लाख ३९ हजारको काठ आयात भएको छ । तर, नेपालले २६ देशलाई जम्मा पाँच करोड ५६ लाख १० हजारको मात्रै काठ निर्यात गरेको छ । झन्डै सातप्रतिशत काठ र काठजन्य सामग्रीबाट व्यापार घाटा भएको छ ।
कुन देशबाट कति काठ आयात ?
गत आर्थिक वर्ष ४२ देशबाट बनिबनाउ सामग्रीसँगै काठ आयात भएको छ । सबैभन्दा धेरै काठ भारत, इन्डोनेसिया, चीन, म्यानमार, मलेसियालगायत देशबाट अत्यधिक आयात भएको छ । भारतबाट ३अर्ब ५५ करोड ३२ लाखबराबरको आयात भएको छ भने इन्डोनेसियाबाट एक अर्ब १४ करोड ५० लाख, चीनबाट ८४ करोड ६७ लाख, म्यानमारबाट चार लाख ६६ हजार, मलेसियाको ४६ करोड ६० लाख रुपैयाँबराबरका काठ तथा काठजन्य सामग्री आयात भएको छ ।
गत वर्ष पाँच करोडको काठ निर्यात
नेपालले गत वर्ष साढे ६ अर्ब काठ आयात गरेकोमा पाँच करोडको मात्रै काठ निर्यात गरेको छ । भन्सार विभागका अनुसार चीन, भारत, अमेरिकालगायत २६ देशमा पाँच करोड ५६ लाख १० हजार रुपैयाँबराबरका काठ र काठजन्य वस्तु निर्यात भएको छ ।
कति काठ–दाउरा निकालिन्छ ?
काटिएको काठ दाउरा आधिकारिक रूपमा द टिम्बर कोर्पोरेसन लिमिटेड र जिल्ला वन पैदावार समितिले बिक्री गर्न पाउने व्यवस्था छ । ती निकायले आधिकारिक रूपमा होल्सेलर होल्सेलरले उपभोक्तालाई बिक्री गर्छन् । तर, कानुनी प्रक्रिया पूरा नगरेका काठ–दाउरा भने तथ्यांकमा देखिँदैन ।
बनिबनाउ फर्निचर धेरै आयो
सिन्दुप्रसाद ढुंगाना,प्रवक्ता, वन तथा वातावरण मन्त्रालय
पहिला गोलियाका काठलगायत फर्निचर धेरै आउँथे । पछिल्लो समय बनिबनाउ फर्निचर धेरै आउन थालेका छन् । विदेशबाट आयात हुने काठ र काठजन्य सामग्रीको प्रस्थापन गर्न केही कार्यक्रम अघि सारेका छौँ । तराईलगायत धेरै ठाउँको जंगललाई वैज्ञानिक वन व्यवस्थापन गर्ने भनेका छौँ ।
वैज्ञानिक वन व्यवस्थापन गरेपछि वार्षिक १० देखि १३ करोड क्युफिट काठ निकाल्न सकिन्छ । यस्तो भएपछि धेरै काठ स्वदेशमै हुन्छ । अर्को वनमा आधारित सातै प्रदेशमा उद्योग खोल्ने योजना अघि सारिएको छ । साना–साना समुुदायमा आधारित उद्योगलाई बजेटको व्यवस्था गर्ने भनिएको छ । सबै कार्यक्रम सफल भएमा काठमा आत्मनिर्भर हुने मात्रै होइन, निर्यातसमेत गर्न सक्ने सम्भावना छ ।
हरेक वर्ष बढ्दै छ आयात
नेपाल आफ्नो जंगलबाट निकालेर आत्मनिर्भर हुन सक्ने प्रशस्त सम्भावना छ । जंगलबाट निकालेको काठ एक जिल्लाबाट अर्को जिल्ला लग्न कानुनी झन्झटमा समस्या हुने गरेको विज्ञहरूले बताउने गरेका छन । जंगलबाट काठ निकाल्न कानुनी सहज बनाएमा आयात प्रस्थिापन गर्न सकिने देखिएको छ ।
आर्थिक वर्ष आयात काठ रुपैयाँमा
२०७१/०७२ ३,८४,५९,४३,०००
२०७२/०७३ २, ५७, ४०, ८५,०००
२०७३/०७४ ४,३९,०२,७४,०००
२०७४/०७५ ४४,४७,९४८,०००
२०७५/०७६ ६,६०,६१,३९,०००
नयाँ पत्रिकावाट












