
काठमाडौं । ठेकेदारको ढिलासुस्तीका कारण ओखलढुंगा–रुम्जाटार सडक निर्माणको काम अलपत्र परेको छ । रुम्जाटार सडक कालोपत्रे गर्ने जिम्मा लिएको तामाङ कुमार जेभीले सडक निर्माणको काम अलपत्र पारेर छाडेको हो । भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत रुम्जाटार–ओखलढुंगा सडक कालोपत्रे गर्ने योजना परेको थियो । तर, दोस्रोपटक थपिएको म्याद सकिँदा पनि कालोपत्रेको काम सकिएको छैन ।
३१ असारमै सकियो म्याद
पहिलो सम्झौता अवधिमा काम नभएपछि सरकारले १६ जेठमा दोस्रोपटक म्याद थप गरेको थियो । दोस्रोपटक ३१ असारसम्म काम सक्ने गरी म्याद थप भए पनि काम सकिएको छैन । सिद्धिचरण नगरपालिका–११ रमाइलो डाँडा जिरो प्वाइन्टदेखि सिद्धिचरण नगरपालिका–४ रुम्जाटार एयरपोर्ट गेटसम्म ११ दशमलव एक किलोमिटर लम्बाइ र सात मिटर चौडाइ सडक कालोपत्रे गर्ने जिम्मा तामाङ कुमार जेभीले १२ जुन २०१७ मा लिएको हो ।
सम्झौताअनुसार कालोपत्रेको सम्पूर्ण काम ३० डिसेम्बर २०१८ मा सक्नुपर्ने थियो । त्यस अवधिमा काम नसकिएपछि पहिलोपटक १६ जेठ ०७६ मा काम सक्ने गरी म्याद थप गरिएको थियो । पहिलोपटक थपिएको म्यादमा पनि काम नसकिएपछि दोस्रोपटक म्याद थपिएको हो ।
७० प्रतिशत मात्रै काम
दोस्रोपटक थपिएको म्याद सकिँदासम्म आयोजनाको करिब ७० प्रतिशत मात्रै काम पूरा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाका प्रमुख युवराज खरेलले बताए । अब पुनः म्याद थप हुने सम्भावना कम रहेको उनको भनाइ छ । ‘म्याद थप नहुँदा निर्माण कम्पनीले दिनहुँ हर्जना तिर्दै काम गर्नुपर्छ,’ उनले भने ।
रमाइलो डाँडा जिरो प्वाइन्टदेखि सिस्नेखोलासम्म करिब चार किलोमिटर सडक मात्र ब्ल्याकटप गरिएको छ । बाँकी भागमा सब–बेस र ढलको काम भएको छ । ब्ल्याकटप गरिएको चार किलोमिटरमा पनि अन्तिम कालोपत्रे गर्न बाँकी छ ।
बनाएको सडकमा पनि बाढीले क्षति
सडकको दायाँ–बायाँ बनाइएका संरचना पनि बाढीले भत्किन थालेका छन् । वर्षा र बाढीका कारण निर्माणाधीन सडकमा क्षति पुगेको हो । सडकको सब–बेस, नाली पुनः निर्माण गर्नुपर्ने गरी भत्किएको छ । सरकारले भ्याटसहित २० करोड ६८ लाख १४ हजार नौ सय १८ रुपैयाँ ९२ पैसामा सडक निर्माणको ठेक्का दिएको हो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












