२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल होस् यस्तो, मोबाइलबाटै टिकट काट्न सकिने



अ+ अ-

काठमाडौं। सिभिल अस्पतालले घरमै बसेर ओपीडी टिकट काट्न सकिने व्यवस्था गरेको छ । ओपीडी टिकटका लागि बिरामी वा आफन्तले घण्टौं लाइन बस्नुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालले सुरु गरेको नया“ व्यवस्थाअनुसार अब टिकट काट्न अस्पताल नै पुगिरहनुपर्दैन ।

‘प्रभु–पे मोबाइल वालेट’मार्फत ओपीडी टिकट काट्ने व्यवस्था बुधबारबाट सुरु गरिएको सिभिल अस्पतालले जनाएको छ । ‘मेडीङ्खलो सोलुसनले प्रभु–पे मोबाइल’ एपमार्फत घरमै बसेर टिकट काट्न सकिने प्रविधि विकास गरिएको हो । यो प्रविधिबाट टिकट काट्ने व्यवस्था थाल्ने सिभिल पहिलो अस्पताल भएको हो ।

बिरामीको सहजताका लागि प्रविधि प्रयोग गर्दै ‘प्रभु पे मोबाइल वालेट’मार्फत टिकट काट्ने व्यवस्था सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. दीर्घराज आरसीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक ८ सय बिरामी ओपीडीमा आउने गरेका छन् ।

कसरी लिने सेवा ?

यो सेवामार्फत टिकट काट्न मोबाइल प्रयोगकर्ताले ‘प्रभु–पे मोबाइल वालेट’ नामक एप डाउनलोड गर्नुपर्छ । मोबाइल वालेटबाट यो सेवा लिने ग्राहकका लागि विशेष सहुलियत व्यवस्थासमेत गरिएको छ ।

वालेटमा दर्तापछि विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ । यसपछि एपमा रहेको ‘हस्पिटल’ बटनमा ‘क्लिक’ गर्नुपर्छ । बटनभित्र प्रवेशपछि ‘निजामती अस्पताल’मा ‘क्लिक’ गर्नुपर्ने हुन्छ ।

सिभिल अस्पताल क्लिक गरेपछि

‘नयाँ वा पुरानो ओपीडी’ विकल्प आउने छ । यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ छान्नुपर्ने हुन्छ । यसपछि जाँच गर्न चाहेको विभाग, डाक्टर तथा मिति छान्नुपर्छ । यो प्रक्रियापछि बिरामीले विवरण भर्नुपर्छ । विवरण भरिसकेपछि टिकटको मूल्य ‘प्रभु–पे मोबाइल वालेट’मा रहेको ब्यालेन्सबाट काटिन्छ ।

अस्पतालले हाललाई ‘जनरल ओपीडी’ टिकट काट्न अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण दिन बिहान ७ बजेसम्म राखेको छ । ‘पेइङ क्लिनिक’तर्फ मोबाइलमार्फत् टिकट काट्न भने हाललाई अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्मका लागि तोकिएको छ । यसैगरी, अस्पतालले ल्याब रिपोर्ट अनलाइनमा हेर्न सकिने व्यवस्थासमेत सुरु गरेको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।