
काठमाडौं । मुलुकको राजधानी सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसर काठमाडौंको अत्याधुनिक भवन निर्माण दसैँलगत्तै सुरु हुने भएको छ । भवनका लागि आवश्यक नक्सा तयार भइसकेको छ ।परिसरका अनुसार सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित १५ रोपनी जग्गामा अत्याधुनिक भवन बन्नेछ । कुल क्षेत्रफलमध्ये ६ रोपनी जग्गामा भवनको जग बस्नेछ । भवन आठ तलाको हुनेछ । जसमा प्रहरीको मुख्य कार्यालय रहनेछ । मुख्य कार्यालयको बायाँतर्फको भागमा प्रहरीको ब्यारेक रहनेछ । जुन चार तलाको हुनेछ । कार्यालयको दायाँतर्फको भागमा भने हिरासत कक्ष रहनेछ । उक्त कक्ष पनि चार तलाकै हुनेछ । कार्यालयको बायाँतर्फका अर्का दुई तलामा प्रहरीका लागि व्यायाम कक्ष रहनेछ । दायाँतर्फको अर्का दुई तला भने उजुरी कक्षका रूपमा प्रयोग गरिनेछ ।
अन्डर ग्राउन्डमा एक सय गाडी र दुई सयभन्दा बढी मोटरसाइकल अट्ने अत्याधुनिक पार्किङ रहनेछ । भवनमा मुख्य भागको आठ तलासम्मै पुग्ने अत्याधुनिक लिफ्ट रहनेछ । भवनभित्र दुई सयजना अटाउने अत्याधुनिक कन्फरेन्स हल रहनेछ । एक सयजना अटाउने अर्को बैठक कक्ष पनि भवनभित्रै रहनेछ । प्रहरीका लागि सुविधा सम्पन्न मेस, टेलरिङ कक्ष, नास्ता कक्ष तथा मनोरञ्जन कक्ष पनि भवनभित्रै रहनेछन् । भवनका प्रत्येक कक्षमा प्रकाशको पहुँच पुग्ने गरी नक्सा बनाइएको प्रहरीले जनाएको छ । वास्तु विज्ञानलाई पनि उत्तिकै ध्यान दिइएको छ । विशेष गरी कार्यालयका प्रमुख, उपप्रमुख तथा विशेष जिम्मेवारीमा रहने अधिकृतको कार्यकक्ष निर्माणमा वास्तु विज्ञानलाई ध्यान दिइएको छ । भवनको प्रवेशद्वार पनि आकर्षक बनाइएको छ ।
भवनभित्र प्रविधि प्रयोगलाई पनि उत्तिकै ध्यान दिइएको छ । भवनको सम्पूर्ण भाग सिसिटिभीको निगरानीमा रहनेछ । अभियुक्तसँग बयान लिन अन्तर्राष्ट्रियस्तरको ‘इट्रोगेसन रुम’ बनाइनेछ । अभियुक्तको म्याद थप हिरासत कक्षबाटै हुने गरी प्रविधि जडान गरिनेछ । भिडियो कन्फरेन्स गर्न सकिने गरी अत्याधुनिक हलको पनि डिजाइन गरिएको छ । परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले अत्याधुनिक भवन अबको साढे दुई वर्षभित्र तयार भइसक्ने बताए । उनले भने, ‘भवनको नक्सा बन्यो । भदौबाट निर्माणका लागि टेन्डर हुनेछ । टेन्डर सेलेक्सनलगत्तै काम सुरु हुनेछ । सम्भवतः दसैँलगत्तै काम सुरु हुनेछ ।’
वसन्तपुरस्थित हनुमान ढोकामा रहेको परिसर १२ वैशाख ०७२ को भूकम्पपछि टेकुमा सारिएको थियो । अहिले पनि प्रहरी परिसर सोही स्थानमा छ । केही महिनाअघि भवन निर्माण गर्न सरकारले एक अर्ब २० करोड रुपैयाँ निकासा गरेपछि परिसरले सर्वोच्च अदालत सामुन्ने भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा खरिद गरेको थियो ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












