काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद अवरोध गर्ने कामलाई निरन्तरता दिनु आफ्नो पार्टीको बाध्यता भएको बताउनु भएको छ ।
सचेतक चौधरीले आफ्नो पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरुको सूचना जारी गर्न सभामुख अग्निप्रसाद सापकोटाले अटेर गरेपछि संसद अवरुद्ध पार्ने कामलाई आफूहरुले बाध्य भएर निरन्तरता दिनु परेको टिप्पणी गर्नु भएको हो । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सभामुख सापकोटाले संसदीय दलले कारबाही गरेका कुनै पार्टीका सांसदहरुको सूचना २४ घण्टा नबित्दै जारी गर्ने तर आफ्नो दलको भने अझै जारी नगरेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले सभामुख सापकोटाकै पक्षपातपूर्ण व्यवहारका कारण संसद बैठक सूचारु हुने अवस्था नरहेको बताउनु भयो । सचेतक चौधरीले भन्नु भयो, ‘यो भन्दा अगाडि पनि संसद अवरुद्ध गर्दै आएका थियौं । हामीलाई रहर थिएन । संसद अवरुद्ध गर्नु हाम्रो बाध्यता हो । यो कुरा सबैले बुझ्नुपर्ने हुन्छ भन्ने मलाई लाग्छ । सरकार र सभामुखलाई हामीले पटकपटक संसद अवरुद्ध गरिरहँदा हामीले ध्यानाकर्षण पनि गराएका छौं ।
नेकपा एमाले संसदीय दलले कारबाही गरेका सांसदहरुलाई प्रवेश गराईरहँदा यो चाँही गैरकानुनी हो भनिरहँदा सभामुखले यसलाई नटेरेर जुन आफ्नो तरिकाले संसद चलाई रहनु भएको छ । र एउटै केशमा कसैलाई २४ घण्टा पनि नबित्दै सूचना जारी गर्नुहुन्छ भने कसैलाई चाँही पक्षपातपूर्ण व्यवहार गरेर आजको मितिसम्म पनि कारबाहीको सूचना निकाल्नु भएको छैन । त्यसकारण हाम्रो यो बाध्यता हो, रहर होईन ।’
नेकपा एमालेले आफ्नो पार्टी संसदीय दलबाट निश्काशनमा परेका माधवकुमार नेपालसहितका १४ जना सांसदहरुलाई कारवाही गरेको सूचना सभामुख सापकोटाले जारी नगरेको भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।
सचेतक चौधरीले पार्टी संसदीय दलले कारबाही गरेका सांसदहरु गैर कानुनी हुने भएकाले उनीहरुको उपस्थिति रहुन्जेल संसद बैठक सूचारु हुन दिन नसकिने अडान पनि राख्नु भयो ।












