काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत संकटा क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार दिउँसो भएको खेलमा संकटाले पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
संकटालाई जित दिलाउन निरज बस्नेतले १८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्यो ।
लक्ष्मण रुचालले क्रस गरेको बलमा उनले डाइभिङ गर्दै हेडमार्फत उत्कृष्ट गोल गरे ।
यस जितसँगै संकटा लिगको चौंथो स्थानमा उक्लिएको छ । संकटाले ४ खेलमा ८ अंक जोडेको छ । पुलिस ४ खेलमा ५ अंकसहित लिगको आठौं स्थानमा झरेको छ ।
संकटाका गोलकर्ता निरज म्यान अफ दि म्याच चुनिए भने संकटाकै रोशन पहारी इमर्जिङ प्लेयर घोषित बने ।












