२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्धार तथा राहत तीव्र: एउटै जिल्लामा दुई लाखसम्म पीडित



अ+ अ-

काठमाडौँ । अविरल वर्षापछिको बाढीको विपत्तिमा परेका तराई क्षेत्रका बासिन्दाको उद्धार तथा राहतमा तीव्रता दिइएको छ । वर्षापछिको बाढी र पहिरोमा परी कैयौँको ज्यान गएको छ भने कैयौँ घरबारविहीन भएका छन् । मध्य र पूर्वी क्षेत्रमा अत्यधिक वर्षासँगै ठूला, मझौला तथा साना नदीको बहाव बढेर मानव बस्तीमा पस्दा प्राकृतिक विपत्ति निम्तिएको हो ।

तराईका विभिन्न जिल्लामा उद्धारपछि संरक्षित क्षेत्रमा राखिएकालाई अत्यावश्यक राहत उपलब्ध गराइएको प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूले जानकारी गराउनुभएको छ । यसैगरी सङ्घ, प्रदेशबाट आवश्यक थप सहयोग प्रभावित क्षेत्रमा पठाइएको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले भन्नुभयो, “राहतका लागि स्थानीय तहले केन्द्र र प्रदेशसँग समन्वय गरी काम अगाडि बढाएको छ, केन्द्रबाट त्रिपाल, डुङ्गा र उद्धारका लागि जनशक्ति तराई पठाइएको छ ।”

यातायात अवरुद्ध हुँदा तराई क्षेत्रको बाढी प्रभावितको उद्धार गर्न समस्या आइरहेको खनालले बताउनुभयो । तथापि जसरी सकिन्छ डुबान र बाढीको चपेटामा परेकालाई उद्धार गरी सुरक्षित राख्ने पहल भइरहेको उहाँले बताउनुभयो, “उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तिनै अङ्गका सुरक्षा निकायलाई एकमुष्ट परिचालन गरिएको छ ।”

नेपाली सेनाको चारवटा हेलिकप्टर आइतबार तराई पुगेका छन् । तिनले अत्यधिक विपद्मा परेका क्षेत्र, बस्ती र मानव समुदायको पहिचान र अवस्थिति पत्ता लगाउन सघाएको छ । साना साधन पुग्न नसकेका स्थानमा पुगेर उद्धारकर्मी पुर्याउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
“प्रदेश २ को सिराहा, सप्तरी, रौतहटलगायत विपद् स्थलका लागि एउटा हेलिकप्टरलाई सोही क्षेत्रको पृतनामा तैनाथ राखिएको छ ।” उहाँले थनुभयो, “अर्को तीनवटाले जहाँ आवश्यक पर्छ, त्यहाँ राहत, उद्धार सामग्री र जनशक्ति ओसारपसारमा सघाइरहेको छ ।” पाण्डेका अनुसार डुबान क्षेत्रमा जमेको पानीलाई निकास दिन काठमाडौँबाट जेनेरेटर लगायतका अत्यावश्यक उपकरण तराई पुर्याइएको छ ।

सशस्त्र प्रहरीले पनि प्रदेश २ लाई केन्द्र बनाएर उद्धारलाई तीव्रता दिएको प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो । “उद्धारलगत्तै राहत ढुवानीको योजना बनाएर अगाडि बढेका छौँ,” उहाँले भन्नुभयो, “जसका लागि गृह मन्त्रालयले दिएको मापदण्डअनुसार काम गर्नेछौँ ।” उहाँले भन्नु भएझैँ यतिबेला राहत वितरण र विपत्तिमा परेकाको संरक्षणमा स्थानीय तह र सरोकार निकाय खटिएका छन् । अलपत्र परेकालाई सुरक्षित राख्ने काममा भने केन्द्र, प्रदेश र स्थानीय तीनै तहले समन्वय गरेर काम गरिरहेका छन् ।

उद्धारमा कठिनाइ
कमला, बाग्मती, सप्तकोसीजस्ता ठूला नदी र स्थानीय नदीको बहाव एकैचोटि बढेकाले गाउँ तथा सहरका अधिकांश भूभाग डुबानमा पर्नुअघि केही क्षेत्रका बासिन्दालाई पहिल्यै अन्यत्र
सारिए ।

तर नभ्याइएका अधिक मानव बस्तीमा बाढी पसेर जनजीवन अस्तव्यस्त बनाएपछि भने स्थानीय तह र निकायलाई उद्धारमा हम्मेहम्मे नै परेको छ ।

विशेषगरी शनिबार अविरल वर्षा कायम रहँदाको अवस्था, बाटो, पुल बगाएको अवस्था र स्थानीय तहसँग साधनस्रोत शून्य अवस्थाका कारण अप्ठेरो परेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले जानकारी दिनुभयो ।

तर, आइतबार मौसममा सुधार आई पानी पर्न कम भएको र उद्धारका लागि थप साधनस्रोत जुटेपछि भने उद्धार तीव्र पारिएको उहाँहरूले बताउनुभयो । “आइतबारसम्म उद्धारलाई नै विशेष प्राथमिकता दिएका छौँ,” सुनसरीका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीले भन्नुभयो, “बाढी घटेकाले अवस्था सुधारोन्मुख छ । ”

छपन्नवटै ढोका खोलियो
तटीय क्षेत्र र गहिरो भूभागका ३६० घरधुरीका एक हजार बढी मानिसलाई सुरक्षित स्थानमा शिविर खडा गरेर राखिएको उहाँले बताउनुभयो । स्थानीय सरकार र सरोकारवाला मिलेर खानपिन र बन्दोबस्तीको व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

उहाँले तथ्याङ्क सङ्कलन र उद्धारकार्य सकेपछि आवश्यक थप राहत उपलब्ध गराउने बताउनुभयो । त्यस क्षेत्रमा कोसीको त्रास कम गर्न शनिबार राति कोसी ब्यारेजका ५६ वटा ढोका खोलिएका थिए । अहिले केही ढाका बन्द गरिएका छन् । फेरि नदीको बहाव बढेमा आवश्यकताअनुसार ढोका खोल्न पहल हुने उहाँले जानकारी दिनुभयो ।

सप्तरी जिल्लामा भने त्रियुगा नदीको तटबन्धले सबैभन्दा बढी क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । “सप्तकोसी नगरपालिकाका चारवटा वडा, अन्यत्रका गहिरो भूभाग सबै नै डुब्यो,” उहाँले जिल्लाको अवस्थितिबारे थप्नुभयो, “हनुमाननगर, क्याक्मेश्वरी, बुधेश्वरमलगायत क्षेत्रको १५ हजारभन्दा बढी घर डुबेको अवस्था छ ।”

जनकपुरको धनुषास्थित जनकनन्दिनी गाउँपालिकामा कमला नदी सोझै पसेकाले अवस्था अझै दयनीय रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज काफ्लेले जानकारी दिनुभयो । “बाटो, पुल केही छैन,” उहाँले भन्नुभयो, “पाँच सय परिवारका २० हजार मानिसलाई विद्यालय, मस्जिद, मदरसालगायत क्षेत्रमा राखिएको छ ।” प्रतिकूल मौसमका कारण शनिबार प्रशासनले चाहेर पनि खाना पु¥याउन नसकेको पीडा उहाँले व्यक्त गनुभयो । आइतबार भने स्थानीय सरकारको पहलमा खानेपानीको बन्दोबस्त गरिएको छ ।

झन्डै दुई लाख पीडित
महोत्तरी जिल्लाका सबै क्षेत्र डुबानमै रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । रातु, विगी, अकासी, जङ्घाहा, मराहा लगायतका स्थानीय खोला बस्तीमा पसेको हो । उहाँले भन्नुभयो, “दसवटा नगरपालिकाका ४० हजार घरपरिवार अलपत्र छन्, झन्डै दुई लाख मानिसलाई राहत र संरक्षण दिन कठिनाइ छ ।”

सरकारी कार्यालय, कारागार सबै डुबानमा परेकाले समन्वय गर्न पनि साधनस्रोत अभाव रहेको उहाँ बताउनुहुन्छ । उद्धार गरेकामध्ये बस्ने ठाउँ नै नभएकालाई गाउँपालिका भवन, स्कुल, सामुदायिक भवन र उच्च क्षेत्रमा सुरक्षित गरिएको छ । उहाँले बेलैमा सुरक्षित स्थानमा सारिएकाले जनधनको क्षति कम भएको बताउनुभयो ।

अहिले त्रिपालबाहेक अन्य ठोस राहत वितरण नभएको उहाँले बताउनुभयो । खानापानी, औषधि र बस्ने ठाउँको भने तत्काल व्यवस्था गरिएको छ । यकिन तथ्याङ्क सङ्कलन गरी स्पष्ट मापदण्ड सरकारले दिएपछि अन्य राहत वितरणको प्रक्रिया सुरु हुने उहाँले बताउनुभयो ।

उदयपुर जिल्लामा दुई हजार घरपरिवारका १० हजार हाराहारी सङ्ख्याका मानिस बाढीका कारण अलपत्र छन् । उपलब्ध स्रोतसाधनका आधारमा उद्धार जारी राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले भन्नुभयो, “हालसम्म छ हजारको उद्धार गरियो, खाद्यान्न, लत्ताकपडा सबै नष्ट भएर बस्ने ठाउँ नै नभएका नौ सय व्यक्तिलाई शिविरमा राखिएको छ ।”

अर्को अत्यधिक बाढी प्रभावित जिल्ला सिराहामा आइतबार राति अबेरसम्म पनि उद्धार जारी रह्यो । सिराहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सुनाउनुभयो, “सबै डुबेको छ, सबैतिर सहयोग आवश्यक छ, कमला नदी जोडिएकाले यहाँ डुबान कायमै छ ।” कल्याणपुर, लहान, मिर्चैयालगायत जिल्लास्थित १७ वटा स्थानीय तह नै डुबेको उहाँले बताउनुभयो । पक्की घरको दोस्रो तलामात्र बासस्थान बनेको छ ।

वर्षा पश्चिमतिर बढ्ने
बिहीबारदेखिको अविरल वर्षा मध्य र पूर्वी क्षेत्रमा केही दिनभित्र मत्थर हुँदै जाने आँकलन मौसमविद्ले गरेका छन् । “मनसुन न्यूनचापीय रेखा तराई आसपास आकाशमा पुगेको छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले भन्नुभयो, “वर्षा ठ्याक्कै रोकिन्न तर भारी वर्षाको क्रम भने कम हुँदै जानेछ । ” उहाँका अनुसार केही दिन पूर्व, मध्य र पश्चिमका समथर भेगमा सामान्य बदली रही केही क्षेत्रमा भारी वर्षा हुनेछ । तीनवटै क्षेत्रका पहाडी भेगमा भने भारी वर्षाको सम्भावना प्रवल रहेकाले पहिरोको उच्च जोखिम छ ।

न्यूनचापीय क्षेत्रको सक्रियता कम हुँदै न्यूनचापीय रेखामात्र हाल सक्रिय रहेकाले वर्षाको घनत्वमा कमी आएको उहाँले बताउनुभयो । काठमाडौँमा भने मङ्गलबारदेखि तुलनात्मक रूपमा कम पानी पर्नेछ । वर्षा कम भएपछि ठूला, मझौला तथा साना नदीको बाढीको बहाव ह्वात्तै घटेको बाढी पूर्वानुमान महाशाखाका मौसमविद् सुनिल पोखरेलले बताउनुभयो ।
पोखरेलले भन्नुभयो, “पूर्वमा जोखिम घटेको अवस्था हो, पश्चिमतिर भने वर्षा र बाढी दुवैको अवस्थामा बढोत्तरी हुनसक्छ ।” प्रदेश १, २ र ३ को साना नदीका जलाधार क्षेत्रमा वर्षा हुँदा भने आकस्मिक बहाव हुनसक्ने छ । यी क्षेत्रमा सोमबारदेखि मौसम सामान्यीकरण हुँदै जाने महाशाखाले अनुमान गरेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।