
काठमाडौं । बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको मृत्यु भएको छ। कम्तीमा ३३ जना बेपत्ता भएका छन्। राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ।
समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटे पनि रोकिएको छैन। यसले बाढीपहिरो आउने क्रम जारी छ।
बाढीपहिरोमा ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौंमा ३, इलाममा १, झापामा ३, ओखलढुंगामा २ र सुनसरीमा १ जनाको मृत्यु भएको छ।
बारा, पर्सा र सप्तरीमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, दाङमा १, चितवनमा १, पाल्पामा १ र डोल्पामा १ जनाको निधन भएको छ।
ललितपुरको महांकाल गाउँपालिकाको बुखेलमा ढिस्कोले पुरिएर आमाछोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। मृत्यु हुनेमा पानमाया लो र उनका १० वर्षका छोरा सञ्जीव लो छन्। कोन्जोस्योम घर भएका उनीहरू काम गर्न बुखेल पुगेका थिए।
यस्तै गोठमा काम गर्न गएकी बुखेलकै सीता रानाको पहिरोले पुरिएर मृत्यु भएको छ। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। पानीको भेल तर्काउन खेतमा गएका बखुलेकै अविरल गोलेको मृत्यु जोशीले बताए। कुसुन्तीका सुबेस बस्नेतको बगेर मृत्यु भएको छ।
नख्खु खोलाको किनारामा हिँड्दै गर्दा चिप्लिएपछि उनलाई र खोलाले बगाएको थियो। बागमती गाउँपालिकाको माल्टामा शुक्रबार बालक सरोज जिम्बाको घर भत्किएर ज्यान गएको थियो।
राहतका लागि जिल्लाका प्रत्येक गाउँपालिकालाई ३० वटा कम्बल र ३० वटा टेन्ट उपलब्ध गराउने निर्णय भएको जोशीले बताए। काठमाडौंको मूलपानीमा घर भत्किँदा एकै परिवारका तीनजनाको निधन भएको थियो।
प्रदेश १ प्रहरी कार्यालय विराटगनगरका प्रवक्ता एसएसपी किशोर दाहालका अनुसार शनिबार भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ।
मृत्यु हुनेमा मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राई छन्। यस्तै भोजपुरमै शुक्रबार जगतबहादुर राई र जनक विकको निधन भएको थियो। इलामको चुलाचुली–१ मा एकजनाको मृत्यु भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।












