काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु पर्ने बताउनु भएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले देशलाई कम्युनिष्टको शासनबाट मुक्त गराउनु पर्ने बताउनु भएको हो । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जनताले डर र त्रास मात्रै सहनुपरेको भन्दै प्रधानमन्त्री देउवाले भोलिको दिनमा कम्युनिष्टको सरकार आउन नदिन आफूलाई सभापति बनाउनुपर्ने आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले कम्युनिष्टले कुनै पनि हालतमा सत्ता कब्ज गरिरहन्छु भनेकोले काँग्रेस नभइ प्रजातन्त्र नबच्ने बताउनु भयो । उहाँले पार्टीको अधिवेशन निष्पक्ष हुने भन्दै सभापतिमा जितेपछि प्रत्येक चुनावलाई निष्पक्ष गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले पार्टीको सभापतिमा जितेपछि काँग्रेसलाई केन्द्र, प्रदेश र स्थानीय तहको सरकारमा सहज जित दिलाउने र पार्टीलाई पुरानै अवस्थामा फर्काउने पनि बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘देशमा कम्युनिष्टको शासन आयो भने के हुन्छ ? कम्युनिष्टको शासन आयो भने अत्यन्तै डरलाग्दो अवस्था हुन्छ । प्रजातन्त्र पद्धतिमा हिँडेको छु भनेपनि कम्युनिष्मा कुनै सिद्धान्त छैन । हिजो केपी शर्मा ओलीको सरकारमा कस्तो अवस्था थियो । कस्तो डर, त्रास थियो ? भोलि यस्तै किसिमको शासन आउँछ । त्यसैले कुनै पनि हालतमा कम्युनिष्टको शासनबाट मुक्त गराउनु छ । खास गरी ओलीको शासनबाट मुक्त गराउनु छ । कम्युनिष्टले कुनै पनि हालतमा सत्ता कब्जा गरिछोड्ने धेरै ठूलो प्रयास छ । उनीहरुले बोलेका पनि छन् । त्यसैले हामी प्रजातन्त्रवादी हो । हामीले कुनै किसिमको गैर जिम्मेवारीपूर्ण काम गर्नु हुँदैन । हाम्रो अधिवेशन निष्पक्ष छ । यो अधिवेशनबाट फेरि म पार्टी सभापति भएको खण्डमा प्रत्येक चुनावहरु निष्पक्ष गराउनेछु । नेपाली काँग्रेस पार्टीलाई फेरि सरकारमा ल्याएर केन्द्रको सरकारमा, प्रदेशको सरकारमा, स्थानीय तहको सरकारमा, नेपाली काँग्रेसलाई पुरानै अवस्थामा फर्काउनेछु ।’
प्रधानमन्त्री देउवाले प्रजातन्त्र बचाउन, राष्ट्र बचाउन र पार्टीलाई सुदृढ गरेर लैजान यसपटक पार्टी सभापतिमा शेरबहादुरको विकल्प भएको बताउनु भयो । उहाँले पार्टी बलियो भयो भने मा त्रै प्रजातन्त्र बलियो हुने भन्दै प्रजातन्त्र नै काँग्रेस र काँग्रेस नै प्रजातन्त्र भएको दाबी गर्नुभयो । प्रधानमन्त्री देउवाले काँग्रेस बलियो हुँदा प्रजातन्त्र बलियो हुने र आफू सभापतिमा चुनिए देशमा स्थायीत्व आउने बताउनु भयो । उहाँले देश अहिले महत्वपूर्ण मोडमा रहेको भन्दै देशलाई ठीक ठाउँमा ल्याउन पार्टी सभापति जित्नै पर्न आवश्यक्ता रहेको बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो पटक कुनै पनि हालतमा शेरबहादुरको लागि, पार्टीको कुरा हो यो, राष्ट्रको कुरा हो यो । प्रजातन्त्रको कुरा हो यो । त्यसकारण यो प्रजातन्त्र बचाउनु छ । प्रजातन्त्रलाई सुदृढ गरेर लैजानु छ । पार्टीलाई बलियो बनाउनु छ , पार्टी बलियो नभइकन प्रजातन्त्र मर्छ, मर्छ । त्यसकारण पार्टी बलियो हुन जरुरी छ । बलियो पार्टीले मात्रै नेपालमा बलियो प्रजातन्त्र बनाउन सक्छ । त्यसैले काँग्रेस भनेको प्रजातन्त्र हो, प्रजातन्त्र भनेको काँग्रेस हो । प्रजातन्त्र रहेको खण्डमा मात्रै देशमा कुनै किसिमको झगडा हुँदैन । देशमा स्थायीत्व हुन्छ । त्यसैले अहिले म पार्टी सभापति हुनु अति आवश्यक छ । हिजोका दिनका कुरा छोड्नुहोस् । को कसको होला, सिटौलाजी नि आज आइदिनुभयो । बिचरा, अरु साथीहरु पनि छन् । त्यसकारण अहिलेको बेला आवश्यक्तालाई हेरेर अघि बढ्नुपर्छ । अहिलेको आवश्यक्ता भनेको आएको प्रजातन्त्रलाई बचाउनु नै हो । पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति भए मात्रै स्थायीत्व आउँछ । नेपाल टर्निङ पोइन्टमा छ । महत्वपूर्ण मोडमा छ, यसलाई ठीक ठाएँमा ल्याउनको लागि मलाई सहयोग गर्नुहोला ।’
प्रधानमन्त्री देउवाले यो बेला प्रजातन्त्र बचाउन आवश्यक रहेको भन्दै आफूलाई पार्टी सभापतिमा जिताउन नेता तथा कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नुभयो । उहाँले पार्टी सभापति त्यागेर आफूलाई सघाउन पहल गरिरहेकोमा नेता कृष्णप्रसाद सिटौलालाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री देउवाले प्रधानमन्त्री र पार्टी सभापति एउटै भएको खण्डमा मात्रै स्थायित्व हुने भन्दै यो पटक राष्ट्र, प्रजातन्त्र र पार्टी जोगाउनलाई भनेपनि आफूलाई सभापतिमा जिताउन आग्रह गर्नुभयो ।












