
नुवाकोट । काठमाडौं उपत्यकाबाट संकलित फोहोर विसर्जन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोलमापुन विवाद उत्पन्न भएको छ । शनिबार स्थानीयवासी र प्रहरीबीच झडप भयो । प्रहरीले लाठीचार्ज गरी फोहोर फाल्यो । विभिन्न माग राखी फोहोर रोक्न बसेका स्थानीयमाथि प्रहरीले लाठी चार्ज गरेको थियो । स्थानीयको जग्गा अधिग्रहण गरिनु पर्ने, सिसडोलको विकल्पमा अबदेखि वन्चरेडाँडामा फोहोर सिसर्जन केन्द्र निर्माण गरिनु पर्ने माग राख्दै स्थानीयले ५ दिनदेखि फोहोर फाल्न अबरोध पुर्याएका थिए ।
स्थानीयवासीको मागलाई वेवास्ता गरी प्रहरीले लाठीचार्ज गरेको ककनी वडाध्यक्ष चन्द्रबहादुर बलामीले गुनासो गरे । बलामीका अनुसार प्रहरीको लाठीचार्जबाट स्थानीयलाई घाइते भएका छन् । घाइतेहरुको काठमाडौका विभिन्न अस्पताल र स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको उनले जानकारी दिए । स्थानीय चन्द्रमान बलामीको नेतृत्वमा गठित सिसडोल व्यवस्थापन संघर्ष समितिले सरकारले आफूहरुको माग सम्बोधन नगरी प्रहरी परिचालन गरी जनतामाथि दमन जारी राखे कडा संघर्षमा पनि उत्रिने चेतावनी दिएको छ ।
समितिका सदस्य उमेशमान श्रेष्ठ बलामीले प्रहरीले लाठीचार्ज गर्दा १५ जना स्थानीय घाइते भएको र २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । माथिको आदेशको पालना गर्न आएको भन्दै पुगेका नेपाल र सशस्त्र प्रहरी गरी एकसय जनाको प्रहरी टोली र स्थानीयबीच झडप भएको थियो । झडपमा बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक बालनरसिंह राणा घाइते भएको प्रहरीको भनाइ छ ।
प्रहरी र स्थानीयबीच झण्डै तीन घण्टा तनावपूर्ण अवस्था उत्पन्न भएको थियो । झडपपछि पक्राउ परेका केही स्थानीयलाई विदुर ल्याइएको छ भने केहीलाइ काठमाडौँ लगिएको छ । काठमाडौ उपत्यकामा संकिलत करिब दैनिक ३५० ट्रिपरले सिसडोलमा फोहोर फाल्ने गरेका छन् । दुई वर्षका लागि फोहोर फालिने भनेको सिसडोलमा १३ वर्ष बितेर डांडो नै भरिदासमेत विकल्प खोजिएको छैन ।
प्रहरीले फोहोर फाल्न गएको गाडीमाथि आक्रमण हुने आशंकाले सुरक्षाका लागि प्रहरी गएको र स्थानीयसँग विवाद भएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कृष्णवहादुर पल्लिमगरले जानकारी दिएका छन् । प्रहरीको सहयोगमा शनिबार दुई घण्टाको अवधिमा ५६ ट्रिपर फोहोेर फालिएको मगरले बताएको समाचा अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।












