
काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलाशययुक्त बहुउद्देश्यीय आयोजनाको क्षमता नघटाइने बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै मन्त्री पुनले आयोजनालाई १२ सय मेगावाटको बनाउन जग्गा अघिग्रहणको काम भइरहेको बताए।
चालू आर्थिक वर्षको बजेटबाट ९ अर्ब ९४ करोड रुपैयाँ बुढिगण्डकी आयोजनाका लागि मुआब्जा वितरण गरिएको छ।
आयोजना १२ सय मेगावाटमै बनाउन संसदीय समितिले पनि निर्देशन दिएको छ। आयोजना प्रभावित क्षेत्रका नागरिकले आयोजनाको क्षमता घटाए बन्नै नदिने चतावनी दिएका छन्। उनीहरुले आयोजना निर्माणको मोडालिटीबारे चाँडो टुंगोमा पुग्न पनि दबाब दिँदै आएका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।












