
काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) मार्फत लगानी भित्र्याउने मुलुक ऋणको दुश्चक्रमा फस्ने भन्ने अमेरिकी टिप्पणीलाई चीनले ‘भ्रमपूर्ण’ भनेको छ । उसले अमेरिकाको यो टिप्पणी नपत्याउन आग्रहसमेत गरेको छ ।
‘चीनको लगानीले कुनै पनि मुलुक ऋणको दुश्चक्रमा परेको प्रमाण छैन,’ नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले भनिन्, ‘त्यसैले चीनको लगानीका सम्बन्धमा अमेरिकी धारणा भ्रमपूर्ण छ ।’
काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीहरूले चीनको लगानी नेपालको पनि हितमा हुनुपर्ने सर्तमा मात्रै आउनुपर्ने भन्दै श्रीलंकालगायत मुलुकमा ‘बीआरआई’ ले निम्त्याएको ऋणको शृंखला दोहोरिन सक्ने चेतावनी दिँदै आएको कान्तीपुर दैनिकमा समाचार प्रकाशित छ ।












