
काठमाडौँ। जेठ महिनाको घामको राप, त्यहीमाथि धोवीखोलाको दुर्गन्ध । त्यसको पर्वाह नगरी एकोहोरो डोजर चलाउन तल्लीन हुनुहुन्छ–मुना घिमिरे श्रेष्ठ । हाल काठमाडौँ महानगरपालिका वडा २९ क्षेत्रमा रहेको धोवीखोलामा थुप्रिएको माटो पन्छाउने काममा उहाँ व्यस्त हुनुहुन्छ ।
डोजर चलाउन थालेको पनि ठ्याक्कै २० वर्ष लागेछ । त्यसबीच उहाँले जोखिमपूर्ण र गाह्रो काम मात्र गरिरहनुभएको छ । डोजर चलाउनु भनेकै जोखिमपूर्ण पेसा हो । सानैदेखि महिला–पुरुषबीच गरिने विभेद महसुुुस गर्दै हुर्किनुभएकी मुनालाई लाग्थ्यो–‘पुरुषले नै गर्ने काम गर्न पाए नि हुने ।’
उहाँको परिवार गोरखाको बोर्लाङबाट तनहुँको आबुखैरेनी पुगेको थियो । त्यहीँ कक्षा ९ सम्मको अध्ययनपछि आमाबुबाका दुई छोरीमध्ये जेठी मुना आर्थिक उपार्जनका लागि रोजगारी खोज्दै नेपालगञ्ज पुग्नुभयो ।
हेभी इक्युपमेन्ट डोजरलगायतका निर्माण सामग्रीको कार्य गर्ने लामा स्वदेश निर्माण कन्स्ट्रक्सनमा मुनालाई रिसेप्सनिस्टको जागिर मिल्यो । डोजर राख्ने कन्स्ट्रक्सनमै काम पाउनु उहाँका लागि सुखद संयोग नै रह्योे । सानैदेखि पुरुषले गर्ने काम गरेर देखाउन पाए हुन्थ्यो भन्ने सोच राख्ने मुनाले रिसेप्सनको काम सकेर हरेक दिन त्यही डोजर नियाल्ने, कसरी स्टार्ट गर्ने, घुमाउने र त्यसका पार्टपुर्जामा ध्यान दिन थाल्नुभयो । उहाँको यस्तो गतिविधि देखेर त्यस कन्स्ट्रक्सनका निर्देशक मानबहादुर लामाले ‘तिमी डोजर चलाउन सिक्ने हो’ भनेर सोध्नुभयो ।
कार्यालय समयपछि उहाँ त्यही डोजर राख्ने स्थानमा गएर सिक्न थाल्नुभयो । त्यत्तिबेलासम्म डोजरलगायतका हेभी इक्युपमेन्ट चलाउन सिक्ने ठाउँ कतै थिएन । उहाँले त्यहीँ सिकेर एक वर्षपछि सफलता साथ डोजर चलाउन थाल्नुभयो । यो २०५६ सालको कुरा कुरा हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।












