
काठमाडौँ । यस सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाइरहेका नेपाली शेर्पा गाइडको टोली बिहीबार दिउँसो ८ हजार मिटर उचाइमा रहेको साउथकोलमा पुगेको छ ।
साउथकोलबाट सगरमाथा र ल्होत्से हिमाल जाने मार्ग छुट्टिन्छ । नेपालतर्फको दक्षिणी मोहोडाबाट सगरमाथा आरोहण गर्नेहरू अन्तिम प्रयास यहींबाट गर्छन् । आरोहण दलले साउथकोलमा आफ्नो अन्तिम क्याम्प राख्छन्, जसलाई चौथो क्याम्प भनिन्छ ।
‘आठ जना नेपाली शेर्पा गाइइड बिहीबार दिउँसो २ बजे साउथकोलसम्म बाटो बनाउन सफल भएका छन्’, यस पटकको वसन्तकालीन सगरमाथा आरोहणका लागि डोरी टाँग्ने जिम्मा पाएको कम्पनी हिमालयन गाइड्सका सञ्चालक ईश्वरी पौडेलले कान्तिपुरसँग भने ।
उनका अनुसार बाटो बनाउनेहरू दोलखाका सिद्धि तामाङको नेतृत्वमा संखुवासभाका पासदावा शेर्पा, दावा फिन्जु लामा भोटे, मिङ दोर्ची शेर्पा र आङ फुर्वा शेर्पा, दावा नोर्बु शेर्पा अनि सोलुखुम्बुका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा थिए ।
आरोहीहरूका लागि डोरी टाँग्दै गइरहेका शेर्पा गाइडको यो टोली मंगलबार ७ हजार ६ मिटरमा रहेको तेस्रो क्याम्पमा पुगेको थियो । दुई दिनको प्रयासपछि डोरी टाँग्दै साउथकोलसम्म पुगेको टोलीले बिहीबार साँझै ६४ सय मिटरमा रहेको दोस्रो क्याम्पमा फर्किरहेको खबर काठमाडौंमा पठाएको थियो ।
‘तेस्रो र चौथो क्याम्प रहने साउथकोलमा बास बस्न नसकिने भएकाले शेर्पाहरूको टोली दोस्रो क्याम्पमा आउने गरेको हो,’ हिमाल आरोहण गराउने कम्पनीहरूको एक्सपिडिसन एसोसिएसनका सचिवसमेत रहेका पौडेलले भने । उनीहरूले साउथकोल पुगेको खबर रेडियो सेट वाकीटकीबाट आधार शिविरमा टिपाएका थिए ।
आधार शिविरमा मोबाइल नेटवर्कमार्फत सम्पर्क हुन्छ । यो टोलीले वैशाख २७ गते चुचुरोसम्म बाटो बनाइसक्ने भनेको छ । डेडजोन पनि भनिने साउथकोलभन्दा माथि चुचुरामा पुग्न करिब ८ सय ४८ मिटर बाँकी रहन्छ । यही मार्गमा बालकोनी र हिलारी स्टेप पर्छन् । साउथकोलभन्दा माथि अत्यधिक गतिमा हावा चलेकाले तीन दिन बाटो बनाउने कार्य स्थगन हुनेछ । कान्तिपुरबाट ।












