२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

माटाे पाेतेर मनाइयाे जुडशीतल पर्व, प्रदेश २ मा सार्वजनिक बिदा



अ+ अ-

काठमाडौं । नववर्षको आगमणसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व मिथिलावासीले आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।

यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् ।

वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर आर्शीवचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो ।

मिथिलामा जुड़शीतल पर्वको आफ्नो छुटै महत्व रहेको र यसको वैज्ञानिक कारण समेत भएको भन्दै कार्यक्रमका वक्ताहरुले पानीलाई संरक्षण गर्न जोड दिएका छन् ।

कृषिका साथै सरसफाइसँग पनि जोडिएको पर्वको रुपमा सिरुवा पर्वलाई लिने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बालीको रुपमा गहूँ, दलहन र तेलहन भित्रिने गरिएको खुशीमा पनि यो पर्व मनाइने गरिएको हो ।

वैशाख महीनामा हावाहुरी चल्ने, वर्षा कम हुने गरेकाले प्रत्येक व्यक्तिले बिहानै सडकमा पानी छर्कने र आ–आफ्ना रुख बिरुवाको जरामा अनिवार्य रुपमा पानी हाल्नुपर्ने हुन्छ । सूर्यको तापबाट तुलसीबोटलाई जोगाउनका एक महीनासम्म निरन्तर पानीको व्यवस्था गर्छन् ।

बोटको दुई भागमा खम्बा गाडेर त्यसमा डोरीको सहयोगमा नयाँ माटोको गाग्रो बोटमाथि झुण््याइन्छ । सो गाग्रोको मुनिको भागमा सानो प्वाल पारेर कुशको टुक्रा पसाइन्छ । गाग्रोमा पानी भरिएपछि सो कुशको माध्यमबाट थोपा–थोपा पानी बोटमाथि चुहिँने गरिन्छ । वैशाख महीनामा पानीको अभावमा बोट सुक्ने भएकाले यस प्रक्रियालाई पर्वको विधिसँग जोडिएको देखिन्छ ।

आजका दिन रुखविरुवामा पनि पानी सिंचित गर्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । आज एकदिन पूर्व पकाएको बासी भात चुल्हो देवतालाई चढाउनुको साथै घर घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवा लगायतको भोजन परिकार बनाएर खाने पौरानिक प्रचलन छ ।

यो पर्व मनाउनमा खासगरी महिला तुलनात्मक रुपमा बढी खुशी हुने गरिएको देखिन्छ । यस पर्वमा कुनै विशेष पकवान पकाउनुपर्दैन र बेलुकीको खानामा पनि पकाउनु नपर्ने भएकाले राहतको अनुभूति गर्न पाउँदा उनीहरु बढी खुशी हुने गर्छन् ।

घरको देउतालाई नयाँ माटोको भाँडोमा पकाइएका वासीभात, आँपको चिचिलाको चटनीलगायतका परिकार चढाइन्छ । त्यसपछि विधिवत् रुपमा पर्वको शुभारम्भ हुन्छ । यस पर्वमा भात, दाल, तरकारी र दहीका साथै आँपको चिचिलाको चटनी अनिवार्य रुपमा खानुपर्ने हुन्छ ।

यस पर्वको अवसरमा चुलोे पूजा गरिन्छ । पूजा गरिएपछि अर्को दिनमात्र खाना पकाउने परम्परा छ । दिनमै पकाइएका खाना बेलुकी खाने नियम रहेको छ ।