७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनको भारत भ्रमण आजदेखि, सैनिक र ऊर्जा सहयोग मुख्य मुद्दा



अ+ अ-

नयाँ दिल्लीः रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सोमबार भारत भ्रमणमा आउन लाग्नु भएको छ । कोरोना महामारी पछि उहाँको यो दोस्रो विदेश भ्रमण हो । उहाँ यसै वर्ष बेलायतमा आयोजित जी–२० र कोप–२६ बैठकमा पनि सहभागी हुनु भएको थियो ।

पुटिनले गत जुनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग जेनेभामा भेटवार्ता गर्नु भएको थियो ।

यो भ्रमण मुख्यतः भारत र रसिया बीचको परम्परागत सैनिक सम्बन्धलाई थप सुदृढ गर्नु र ऊर्जाका क्षेत्रमा सहयोग आदानप्रदान गर्नेतर्फ केन्द्रित रहेको एएफपी समाचार संस्थाले जनाएको छ ।

दक्षिण एसियामा चीनको प्रभाव बढ्दै गएपछि त्यसलाई सम्बोधन गर्न संयुक्तराज्य अमेरिकाले क्वेड सुरक्षा संवाद मार्फत भारत, जापान र अस्ट्रेलियालाई एक ठाउँमा ल्याउने प्रयत्न गरिरहेकै अवस्थामा रसियाका राष्ट्रपतिको भारत भ्रमण हुन लागेको हो ।

क्वेड सैनिक समझदारीले क्षेत्रीय सुरक्षा एवं अन्तर्राष्ट्रिय शान्तिमा असर पार्ने भन्दै चीन र रसिया दुबैले निकै चासो र चिन्ता व्यक्त गर्दै आएका छन् ।

भारत र रसियाबीच शितयुद्धकालीन समयको सोभियत युनियन हुँदैदेखि राजनीतिक तथा सैनिक सम्बन्ध प्रगाढ रहँदै आएको छ । भारतले यो सम्बन्धलाई “विशिष्ट रणनीतिक साझेदारी” भन्दै आएको छ ।

गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति पुटिनसँग गर्नु भएको भर्चुअल शिखर बैठकमा भारत र रसियाबीचको मैत्रीपूर्ण सम्बन्ध समयक्रमले परीक्षण गरिसकेको छ भन्नु भएको थियो ।

भारतले आफ्नो सैनिक क्षमता सुदृढ गर्न भन्दै रसियासँग सन् २०१८ मा लामो दुरीसम्म प्रहार गर्न सक्ने अत्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद गर्ने सम्झौता गरेको थियो । करिब ५ अर्ब डलरको यस सम्झौतालाई लिएर अमेरिकाले चिन्ता र चासो व्यक्त गरेको छ, र पछिल्ला वर्षहरुमा सुमधुर हुन लागेको भारत–अमेरिका सम्बन्धमा चिसोपन आउन सक्ने र भारतमाथि प्रतिबन्धहरु लगाउन सक्ने अमेरिकाले चेतावनी दिएको छ ।

अमेरिकाले चेतावनी दिए पनि भारतले रसियाली हातहतियार लिनेक्रमलाई यथावत राखेको छ ।

पाकिस्तान र चीनसँग सीमाक्षेत्रमा तनाब जारी रहेको भन्दै भारतले आफ्नो सैनिक हातहतियारलाई आधुनिकीकरण गर्ने प्रक्रियालाई निरन्तरता दिने बताइआएको छ ।