
काठमाडौं । नौ वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्न दिने निर्णय हुँदा निकै विवाद भयो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरूको विश्लेषण थियो ।
तर, उच्च राजनीतिक दबाबका अगाडि उनीहरूको केही लागेन । कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए । जुन शुक्रबार पुष्टि पनि भएको छ । पसलका सञ्चालक सुवास श्रेष्ठ विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धानमा उनले पसलबाट विदेशी मुद्राको अवैध कारोबार गर्दै आएको खुलासा भएको छ ।
उनको साथबाट २२ हजार एक सय ५० थाई भाट, १० हजार अमेरिकन डलर, ८० हजार चिनियाँ युआन र एक हजार तीन सय ८० युरो बरामद भएको छ । उनकी श्रीमती, दुई छोरी र एक छोरालाई समेत प्रहरीले पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागले श्रेष्ठदम्पतीलाई थुनामा राखी कारबाही अघि बढाएको छ ।
चेकजाँचविनै विमानमा ?
विमानस्थलभित्र पसल चलाउने भएकाले उनले स्टेराइज्ड क्षेत्रको पास सजिलै पाउँछन् । जब कि, प्रहरीलाई समेत आफ्नो ड्युटीबाहेकको क्षेत्रमा जाँदा चेकजाँच हुन्छ । तर, उनीमाथि भने कमै चेकजाँच हुने गरेको थियो । शुक्रबार पनि उनीमाथि चेकिङ नभएको खुलेको छ । सपरिवार थाइल्यान्ड जाने क्रममा उनले नियमित बाटो प्रयोग नगरी भिआइपी बाटो प्रयोग गरेका थिए । त्यसैले उनीमाथि चेकजाँच भएन । उनले स्टेराइज्ड एरियासम्म सहजै अवैध सामान पुर्याउने गरेको नयाँ पत्रिका दैनिकमा खबर छ ।












