७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको महाधिबेशनमा सत्ताको दुरुपयोग भयो: रामचन्द्र पौडेल



file
अ+ अ-

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको बताउनुभएको छ । आइतवार काठमाडौंमा आफुद्वारा लिखित हाते पुस्तक ‘कांग्रेसको अबको बाटो(रुपान्तरणको दस सूत्र)’ सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको औँल्याउनुभएको हो ।

कांग्रेस संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफु अनुकुल गरिरहेको भन्दै उहाँले आन्तरिक लोकतन्त्रको लागि खतरा महशुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘निर्वाचनको क्रममा जे हामीले भोग्यौँ । निर्वाचनहरु सम्पन्न हुँदा प्रशासन, प्रहरीको जसरी कहीँ बल प्रयोग, कहीँ छल प्रयोग, कहीँ सल प्रयोग । सल, बल, छल । त्यसैले सत्ताको प्रयोग भइरहेको छ । यो पनि पार्टीभित्र आन्तरिक डेमोक्रेसीका लागि, आन्तरिक लोकतन्त्रका लागि एउटा गम्भिर खतरा बनिरहेको महशुस भइरहेको छ ।’

वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरुलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उहाँले राजनीतिक दलहरुलाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताउनुभयो । दलको सदस्यलाई विशेष सहुलियत दिने तर निमुखा जनताको अधिकार कुण्ठित गरीने अवस्था रहनु चिन्ताको विषय भएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘अति दलबन्दीबाट निमुखा जनताको न्याय मरेको छ । निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको छ । दलको सदस्य भएपछि उसलाई विशेष सहुलियत, उसलाई विशेष पहुँच, जो दलको सदस्य छैन दलभित्र पनि गुटको, जो मुख्य सत्ताको केन्द्रमा छ उसको नजिक हुनेको बाहेक अरुको अधिकार, निमुखा जनताको अधिकार त्यहीभित्र पनि अधिकार कुण्ठित भइरहेको अवस्था छ । अति दलबन्दीबाट निमुखा जनता अहिले पिसिएको अवस्था छ । यो पनि एउटा चिन्ताको विषय भएको हुनाले दलहरुलाई नै लोकतान्त्रिकरण गरेर, दलहरुलाई नै जनताको साँच्चिकै पक्षमा काम गर्ने संस्थाको रुपमा विकास गरेर त्यही भित्र लोकतन्त्र साकार भएर, दलभित्रै आन्तरिक लोकतन्त्र साकार गरेर, सारा जनताको अधिकारको रक्षा दलहरुलाई बनाउनुपर्ने आवश्यकता छ । निमुखा जनताको अधिकारको पहरेदार दलहरुलाई बनाउनका लागि आन्तरिक लोकतन्त्र आवश्यक छ । दलहरु भित्रै आन्तरिक लोकतन्त्रको लडाँइ लड्न जरुरी मैले देखेको छु ।’

वरिष्ठ नेता पौडेलले लोकतान्त्रिक प्रक्रियाबाटै निर्वाचित भएर सत्तामा पुग्ने व्यक्तिको असिमित महत्वांकांक्षाले लोकतन्त्रमाथि नै संकट पैदा हुने खतरा रहेकाले यस्तो प्रवृतिबाट लोकतन्त्र जोगाउने प्रयत्न गर्नुपर्नेमा जोड दिनुभयो ।