२५ जेष्ठ २०८३, सोमबार
,
Latest
करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोटाङका सबै स्थानीय तहमा बैंक



अ+ अ-


खोटाङ । जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजारमा मात्रै केन्द्रित बैंकहरुले पछिल्लो समय सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा समेत बैंकको शाखा विस्तार गरिएपछि सरकारी कारोवार तथा सर्वसाधारणलाई सहज भएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै खोटेहाङ, एेँसेलुखर्क र केपिलासगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकामा कृषि विकास र सालपा विकास, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सानिमा, साकेला गाउँपालिकामा एसबिआई र बराहपोखरी गाउँपालिकामा सनराइज बैंकको शाखा विस्तार गरिएको छ ।

जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा सालपा विकास, सेन्चुरी र माछापुच्छ्रे बैंकको शाखा विस्तार गरिएको छ । माछापुछ्रेले उक्त नगरपालिकाको राजापानी, मङ्गटार, अर्खौले, धितुङ र च्यास्टिारमा सेवा केन्द्र सञ्चालन गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाका अधिकांश स्थानीय तहमा तीनभन्दा बढी बैंकको शाखा तथा सेवा केन्द्र विस्तार गरेर सञ्चालनमा ल्याइएको छ ।

सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएपछि कर्मचारीको तलब, विकासे योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतमा सहज भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

“बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई दिन पैदल हिँडेर दिक्तेलबजार पुग्नुपथ्र्यो,” एेँसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भन्नुभयो, “अहिले आफ्नै गाउँपालिकामा बैंकको शाखा विस्तार भएपछि दिक्तेलबजार धाउँदा लाग्ने समय र खर्च दुवैको बचत भएको छ ।”

हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्ने सरकारको नीतिअनुरुप जिल्लाका सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गरिएको सांसद विशाल भट्टराईले बताउनुभयो । “सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने सरकारको नीतिमै उल्लेख छ,” उहाँले भन्नुभयो, “विस्तार गरिएका बैंक तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्था पनि सरकार आफैँले गर्छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा राष्ट्रिय वाणिज्य, कृषि विकास, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास, ज्योति विकास बैंकलगायत सञ्चालनमा रहेका छन् । देश सङ्घीय संरचनामा जानुअघि सबै सरकारी कार्यालय रहेको जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा दर्जनभन्दा बढी सहकारी संस्था तथा लघुवित्तहरु पनि सञ्चालनमा रहेका छन् ।

जिल्लाका सबै स्थानीय तहमा विस्तार गरिएको बैंकको बाहिरी सुरक्षाका लागि नेपाल प्रहरीको गस्ती टोली खटाइएको छ । बैंकको शाखा नजीक पर्ने प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चौबिसै घण्टा बैंकको सुरक्षा गर्ने व्यवस्था मिलाइएको छ । रासस