२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई सय मिटर तल झर्छन् चिसो छल्न फू वासी



अ+ अ-

मनाङ । मङ्सिरको दोस्रो हप्ता शुरु भएसँगै अधिकांश मनाङवासी जाडो छल्न जिल्लाबाहिर जाने गर्छन् ।

तर मनाङकै फू गाउँका मानिस गाउँदेखि २०० मिटर तल झरेर बसोवास गर्ने गरेका छन् । नेपालको दुर्गम जिल्लामध्ये ‘क’ वर्गमा पर्ने मनाङ जिल्ला त्यसमा पनि सबैभन्दा विकट गाउँ हो, फू गाउँ ।

करीब चार हजार १०० मिटर उचाइमा रहेको यस गाउँका मानिस कृषि पेशामा निर्भर छन् । पशुपालन र खेतीपाती यहाँको मुख्य पेशा हो । वरिपरि अग्ला हिमालले घेरिएको सुन्दर सानो बस्ती रहेको यस गाउँको जनसङ्ख्या करीब ३०० रहेको छ ।

हिउँदको समयमा अत्यधिक चिसो हुने र गाउँलाई हिउँले ढाक्ने हुँदा यहाँका मानिस जाडो छल्न गाउँबाट करीब चार÷पाँच घण्टा लाग्ने क्याङमा आएर बस्दछन् । उनीहरू आफ्ना साना नानीबाबु पशुचौपाया लिएर यसै ठाउँमा बसोवास गरिरहेका हुन्छन् ।

“हुने खाने त शहर जान्छन् तर हामी खेती किसानी गर्ने यसरी नै जीवनयापन गरिरहेका छौ”, ७० वर्षका टसी फुञ्जो लामाले भन्नुभयो । “दिनभर दाउरा, घाँस, भेँडा च्याङ्ग्राको स्याहार सुसारमा लाग्दा चिसोको अनुभव नै हुदैन”, राडीपाखी, काम्लो, बख्खु, दोचा बनाएर गोठमा रमाइरहेकी ६५ वर्षकी छोर्तेन लामाले भन्नुभयो, “खेतीपातीको समय छैन, जाडोको मौसममा हामी महिला यिनै भेँडाचौँरीको ऊन कात्ने र त्यसैबाट आफूहरूले लगाउने कपडा बनाउने काम गर्छौँ ।”

ऊनबाट आफ्नै हातले बुनेका बख्खु दोचाले हिमालको चिसो कटाउँदै आएका फू बासिन्दा जाडो याम सकिएपछि गाउँ फर्कने र खेतीपातीमा लाग्ने मिङ्मर लामाले बताउनुभयो ।

अनौठो तर सुन्दर यो स्वर्ग जस्तो गाउँ दूरदराजमा लुकेर रहेको छ । मानिस पौरखी छन् । आफ्नै सीप र पौरखमा आत्मनिर्भर बनेको यो गाउँका मानिस गाउँमा विकासको पर्खाइमा छन् । रासस