२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको सीमामा थप आठ सय सैनिक परिचालन



अ+ अ-

वासिङ्टन, ९ कात्तिक : अमेरिकी रक्षा मन्त्रालयले संयुक्तराज्य अमेरिका र मेक्सिकोको सीमामा थप आठ सय सैनिक परिचालन गर्ने जनाएको छ । होन्डुरस, ग्वाटेमाला र मेक्सिकोका नागरिक अमेरिका प्रवेश गर्न ठूलो समूह (क्याराभान) बनाएर अघि बढ्दै गर्दा अमेरिकाले यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्याराभानलाई मेक्सिको सीमाभित्रै रोक्न राष्ट्रिय आपतकालको घोषणा गर्नुका साथै त्यस्तो क्याराभानलाई अमेरिका प्रवेश गर्न नदिने बताउनुभएको छ ।

सीमामा यसअघि नै तैनाथ करिब दुई हजार सैनिकलाई पछिल्लो टोलीले मद्दत गर्नेछ । रक्षामन्त्री जीम म्याटिसले थप सैनिक परिचालन सम्बन्धी आदेशमा बिहीबार वा शुक्रबार हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

नयाँ परिचालन गरिने सेनाको टुकडीमा चिकित्सक र इन्जिनियरहरु पनि रहनेछन् । अमेरिका–मेक्सिको सीमाको सम्पूर्ण सुरक्षा प्रबन्ध गृह विभाग (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी) ले गर्दछ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डेमोक्राट पार्टीले बनाएका फितला कानुनका कारण सीमामा अवैध आप्रवासीलाई रोक्न कठिन भएको दोषारोपण गरिआउनुभएको छ । उहाँले ट्वीट गर्दै भन्नुभयो, “यो राष्ट्रिय आपतकालीन स्थितिलाई नियन्त्रणमा ल्याउन म सेना परिचालन गर्दैछु । उनीहरु (क्याराभान)लाई सीमामा अवश्य रोकिनेछ ।”

गत अप्रिलमा पनि ट्रम्पले दक्षिणी सीमामा सुरक्षा प्रबन्ध मजबूत बनाउन हजारौं सैनिक परिचालन गर्ने बताउनुभएको थियो । मेक्सिकोसँगको सीमामा पहिलो चरणमा करिब चार हजार सीमारक्षक पठाउने भनिए पनि त्यसको आधा अर्थात करिब दुई हजार सीमारक्षक परिचालन गरिएको थियो ।

यी सैनिकले खासगरी सीमाको गस्ती गरिरहेका अधिकारीहरुलाई थप मद्दत गर्नेछन् । पेन्टागनका प्रवक्ता क्याप्टेन बील स्पिक्सले गृह विभागको आवश्यकताका आधारमा काम गरिरहेको बताउनुभयो ।

मध्य अमेरिकाका आप्रवासीहरु क्याराभान बनाएर अमेरिकी सीमानजिक आउनै लाग्दा अमेरिकाले थप सैनिक परिचालन गर्न लागेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले यी क्याराभानको विषयलाई यही नोभेम्बरमा हुन लागेको मध्यावधि चुनावमा राजनीतिक लाभका निम्ति प्रयोग गरिरहेको आरोप लाग्दै आएको छ ।

संयुक्तराष्ट्र सङ्घका अनुसार गत अक्टोबर १३ मा होन्डुरसको सान पेड्रो सुलाबाट शुरु भएको यो क्याराभानमा करिब ७ हजार मानिस सहभागी छन् ।