२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौँ तथा अन्तिम पटक जिब्रो छेडाउँदै बुद्धकृष्ण



अ+ अ-

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष नवौँ पटक बोडेका ४९ वर्षीय बुद्धकृष्ण वागं श्रेष्ठले जिब्रो छेडाउनुहुने भएको छ ।

मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा लामो समयदेखि एम्बुलेन्स चालकका रुपमा कार्यरत बुद्धकृष्णले यस वर्ष आफूले अन्तिम पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको बताउनुभयो ।

बुद्धकृष्णले भन्नुभयो, “मानवीय सेवा र कलासंस्कृतिको संरक्षणमा लाग्दै आएको मैले यस वर्ष वैशाख २ गते नवौँ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिने भएको छु, यो मेरो अन्तिम पटक हो, अर्को वर्ष म जिब्रो छेड्दिन, मेरो उमेरका कारणले पनि समस्या हुन्छ, अब युवापुस्ताले यो जात्रालाई जोगाउन जिब्रो छेड्न तयार हुनुपर्छ, लोप हुन दिनुहुँदैन, युवापुस्ता तयार हुनुपर्छ ।”

जिब्रो छेड्ने व्यक्तिले तीन दिनअघिदेखि केही नखाई व्रत बस्नुपर्छ । व्रत बसेदेखि जिब्रो नछेडेसम्म सुत्नसमेत नहुने र जिब्रो छेड्दा पीडा नहोस् भनेर सात दिनअघिदेखि नै नूनसमेत खान नहुने उहाँ बताउनुहुन्छ ।

व्रत बस्नेले जिब्रो छेड्नुअघि शक्ति प्राप्त होस् भन्ने कामनासहित बोडे क्षेत्रका विभिन्न देवीदेवताको पूजाआजा गर्ने र जिब्रो छेड्ने पाँचो गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेडेर महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्राको समापन हुने र भोज खाने प्रचलन छ ।

बोडेको नीलबाराही मन्दिरसँग जोडिएको कथा र किंवदन्तीलाई पछिल्लो समय बिगारेर प्रचार गरेकामा दुखेसो व्यक्त गर्नुहुन्छ बुद्धकृष्ण । उहाँ भन्नुहुन्छ, “यो जात्रा नीलबाराही देवीको प्रतिष्ठासँग जोडिएको छ, जिब्रो छेड्ने व्यक्ति नीलबाराहीका देवगण हुन् तर यहाँका केही व्यक्तिले भनेको भन्दै पत्रकारले जिब्रो छेड्ने व्यक्तिलाई ख्याक र राक्षससँग जोडेर प्रचार गर्दा परम्पराको बदनाम भएको छ, त्यसैले पनि युवापुस्ता जिब्रो छेड्न तयार छैनन्, जिब्रो छेड्ने व्यक्ति ख्याक वा राक्षर होइनन्, देवगण हुन् यो सबैलाई बुझाइदिनुप¥यो ।”

केही वर्ष अगाडिसम्म जिब्रो छेड्ने व्यक्तिले नै जात्राको सबै खर्च व्यहोर्नुपर्ने र भोजसमेत खुवाउनुपथ्र्यो भने जनप्रतिनिधि आएपछि नगरपालिकाले जात्रा सञ्चालनका लागि सहयोग गर्दै आएको छ । जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छड्ने बेलामा स्थानीय क्लब र युवाको सक्रियतामा जात्रालाई जोगाउन आर्थिक सङ्कलन गरी कोष खडा खरिएको थियो भने जनप्रतिनिधि आए पनि नगर प्रमुख मदन सुन्दर श्रेष्ठले यहाँका अधिकांश जात्रा परम्पराको संरक्षणका लागि भन्दै बजेट छुट्याएपछि यो जात्रा सञ्चालनमा पनि राहत मिलेको छ ।

नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ, “यहाँको पहिचान नै कला, संस्कृति हो, त्यसैले यहाँका मठ, मन्दिर, पाटीपौवा, पोखरी, धारा, इनार, पार्क मात्रै नभई अमूर्त कलाकारुपमा रहेको नाच, जात्रा, पर्व परम्परालाई पनि जोगाउनुपर्छ भनेर मैले हरेक वर्ष नगरपालिकाबाट बजेट छुट्याए, यस वर्ष पनि जात्रा चलाउन नगर पालिकाले बजेट दिएको छ, यसले जात्रा परम्परा र पर्वको संरक्षणमा टेवा पुगेको महसुस गरेको छु ।”

परापूर्वकालदेखि चल्दै आएको जिब्रो छेड्ने जात्रा सयौँ वर्षदेखि कोरोना सङ्क्रमणका कारण विसं २०७६ मा रोकिए पनि त्यसपछि फेरि जात्राले निरन्तरता पाउँदै आएको छ ।

जात्रा मध्यपुरथिमि बोडेका श्रेष्ठ थरीले प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौँ भक्तजनको उपस्थितिमा जिब्रो छेड्ने प्रचलन छ । जिब्रो छेडिसकेपछि ती व्यक्तिले अर्धचन्द्राकार महादीप बोकेर बोडे शहर परिक्रमा गर्ने र बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त सुइरो जिब्रोबाट झिकेर महालक्ष्मी मन्दिरमै ठोकेर घाउमा महालक्ष्मी मन्दिरको माटो लगाउने प्रचलन छ । हालसम्म १२ जनाबाट निरन्तर १०७ वर्ष जिब्रो छेडेका छन् ।

अहिलेसम्म १९६९ देखि १९९० सम्म हर्कनरसिंह बाँस श्रेष्ठले २२ पटक, विसं १९९१ देखि २०२२ सम्म बेखानारायण हाय श्रेष्ठ ३२ पटक, २०२३ मा हरिदेव किला श्रेष्ठले एक, २०२४ देखि २०२६ सम्म हरि भासिंक श्रेष्ठले तीन, २०२७ र २०२८ मा इन्द्र बाटा श्रेष्ठले दुई, २०२९ देखि २०३१ सम्म हर्केश्वर ब्याँ श्रेष्ठले तीन, २०३२ देखि २०३८ सम्म चन्द्रसेन द्यों श्रेष्ठले सात, २०३९ देखि २०४६ सम्म दीलकुमार खपे श्रेष्ठले सात, २०४७ मा मुनि घों श्रेष्ठले एक, २०४८ मा धर्मराज बलाय श्रेष्ठले एक, २०४९ देखि २०६० सम्म कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धकृष्ण बाग श्रेष्ठले २०६१ देखि २०६४ सम्म तथा २०७३ देखि २०७५ सम्म सात र जुजुभाइ बाँस श्रेष्ठले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभएको थियो । (रासस, रमेश गिरी)