२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट फर्केर गाईपालनबाट आम्दानी गर्दै तेजबहादुर केसी



अ+ अ-

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुट्टीका तेजबहादुर केसी कुनै समय विदेशमा चर्को घाममा मजदुरी गर्नुहुन्थ्यो । विदेशमा उहाँको पसिना त्यसै खेर गइरहेको थियो । पसिना आफ्नै देशमा बगाउने अठोटले घर फर्किनुभएका केसी पछिल्लो समय गाईपालनमा रमाउनुभएको छ । उहाँको आफ्नै गाईफार्म छ ।

केसी दिनभर गाईको गोबर सोहर्नुहुन्छ । गाईलाई दाना–घाँस खुवाउनुहुन्छ । साँझ बिहान भने उहाँ गाईको दूध दुहुनुका साथै बजारमा बेच्न निस्किनुहुन्छ । बाह्र वर्ष विदेश बसेर नेपाल फर्केपछि थालेको यो कामले केसीलाई आत्मसन्तुष्टि र इज्जत मिलेको छ । आम्दानी पनि उत्तिकै छ ।

केसी रोजगारकै सिलसिलामा तीन वर्ष मलेसिया, ६ वर्ष युनाईटेड अरब इमिरेटस्को दुबई र तीन वर्ष साउदी अरबमा बस्नुभयो । “यति मेहनत नेपालमै गरे आफ्नै ठाउँमा आम्दानी गर्न सकिन्छ भनेर विदेशबाट फर्किए”, उहाँले भन्नुभयो । केसीले २०७४ सालदेखि व्यावसायिकरुपमा गाईपालन गर्न थाल्नुभएको हो । उहाँले विदेशमा कमाउने पैसा यही गाईपालनबाट कमाउन सफल हुनुभएको छ । “मेहनत गरे नेपालमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ, पसिना आफ्नै देशमा बगाउनुपर्दो रहेछ”, उहाँले भन्नुभयो, “अब विदेश जाने सोचै छैन ।”

केसीले अहिले मासिक करिब रु एक लाख २० हजार बराबरको कारोबार गर्दै हुनुहुन्छ । सबै खर्च कटाएर रु ५० हजारदेखि रु ८० हजारसम्म नाफा हुने गरेको उहाँ बताउनुहुन्छ । घर परिवारसँग पनि छुट्नु नपर्ने र आम्दानी हुने भएपछि यो पेसाबाट निकै सन्तुष्ट भएको उहाँ बताउनुहुन्छ । केसीले स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको तुलसीपुर शाखाबाट ऋण लिएर गाईपालन सुरु गर्नुभएको हो । अहिलेसम्म उहाँले उक्त संस्थाबाट रु पाँच लाखसम्म ऋण लिइसक्नुभएको छ । हाल १८ गाई पाल्दैआएकामा सात गाईले दूध दिन्छन् । त्यही दूध नै उहाँको आम्दानीको स्रोत हो । दैनिक ७० लिटरसम्म दूध उत्पादन हुन्छ । केसीले होलिस्टेन र जर्सी जातका गाई पाल्नु भएको छ ।

व्यवसायमा रु ३५ लाखको हाराहारीमा लगानी भएको छ उहाँले त्यो लगानी उठाइसक्नुभएको छ । लगानी उठेर चार कट्ठा जग्गा किनेको बेसीले बताउनुभयो । उहाँले रु १० हजार तलब दिएर एक कर्मचारीसमेत राख्नुभएको छ । दूध बिक्री गर्न बजारीकरणको समस्या छैन । “किसानलाई सरकारले कम्तीमा सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्छ”, केसीले भन्नुभयो । उहाँले चितवनबाट एउटा गाई रु ८० हजारमा खरिद गरेर ल्याउनुभएको हो ।

केसी गाईपालनमा मात्र होइन् बाख्रापालनमा पनि लाग्नु भएको छ । हाल उहाँको खोरमा २६ बाख्रा छन् । बाख्राबाट वार्षिक रु एक लाखसम्म आम्दानी हुने गरेको उहाँले बताउनुभयो । यसलाई अझै व्यवस्थित बनाएर लैजाने केसीको योजना छ । उहाँको यो व्यवसायबाट परिवार पनि खुसी छ । “श्रीमान् विदेश हुँदा घरमा एक्लै हुनुपथ्र्यो”, श्रीमती सरिताले भन्नुभयो, “अहिले परिवारमा सँगै छौँ, घर चलाउन पनि सजिलो भएको छ ।” रासस