२३ जेष्ठ २०८३, शनिबार
,
Latest
‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवसायिक रुपमा ‘ई–कविता’को शुरुवात, पैसा तिरेर सुन्न सकिने



अ+ अ-

काठमाडौं । प्रकाशन बजारलाई थप चलायमान बनाउने उद्देश्यले नेपालयले नेपाली कविताहरूको अनलाइन प्रकाशन गर्ने भएको छ । यो कामको लागि नेपालयले चर्चित कवि श्रवण मुकारूङसँग सहकार्यको सम्झौता गरेको छ । नेपालयले शुरु गर्न लागेको यो कामलाई ‘नेपालय ई-कविता’ भनिने छ । यसका संयोजक र क्युरेटर कवि मुकारूङ रहनेछन् । यो प्लेटफर्म मार्फत् कवि मुकारूङले आफ्नो लगायत अन्य नयाँ र पुराना कविहरूका, अप्रकाशित नयाँ सृजनाहरू प्रस्तुत गर्ने छन् ।

साप्ताहिक रुपमा सार्वजनिक हुने कविताहरू नेपालयको पेज मार्फत् निर्धारित शुल्क तिरेपछि फोन र कम्प्युटरमा सिधै उपलब्ध हुनेछन् । हरेक कविता पढ्न पाउनुका साथै कविकै स्वरमा वाचनसमेत सुन्न सकिने व्यवस्था हुने छ ।

‘कोरोना महामारीले हाम्रो सामाजिक गतिविधि र स्वछन्द घुमफिरको स्वतन्त्रतालाई चुनौती दिएको महसुस गरायो । अरु सबै क्षेत्र जस्तै यसले, प्रकाशन र पाठकहरू पनि प्रभावित रहे । ‘ई–कविता’ को परिकल्पनामाथि प्रकाश पार्दै नेपालयका किरण कृष्ण श्रेष्ठ भन्छन्, ‘कला र साहित्यले हामीलाई कठिन समयमा सान्त्वना दिने माध्यमको रूपमा काम गरेको हुन्छ । हामीले क्वारन्टाइनको परिधिमा आफूलाई सिमित गरेसँगै, अनलाइनमा उपलब्ध खुराकमार्फत् धेरैले आफ्नो साहित्यिक भोकलाई व्यवस्थापन गरेको पायौं । कवि, कलाकारहरूले पनि आफ्ना सृजनाहरूलाई सहज रुपमा बाँडे । ती सत्रहरूमा देखिएको जनसहभागिता र चासो उत्साहजनक थियो । तर, यसरी प्रकाशित र प्रसारित हुने सृजनाले सर्जक र पाठक–श्रोता बीच सेतुको काम गरेपनि, व्यवसायिक व्यवस्थापनको टड्कारो आवश्यकताको पनि महसुस भयो ।’

‘ई-कविता’को परिकल्पना, त्यही व्यवसायिक सेतु हो जसले पाठकसँग कविहरूलाई व्यवसायिक रूपमा प्रत्यक्ष सम्बन्ध गाँस्ने प्रयास गर्नेछ ।

‘ई–कविता’ का क्युरेटर एवं संयोजक कवि श्रवण मुकारुङले पनि यसको परिकल्पना पूर्व लकडाउन ताका, आफ्नो फेसबुक पेजबाट नियमित रुपमा ‘क्वारेन्टाइन कविता’ शीर्षकमा लाइभ सेसन चलाएका थिए । सो अनुभवको आधारमा ‘ई –कविता’ का बारे आफ्नो विचार राख्दै संयोजक मुकारुङ भन्छन्- ‘कविता, लामो समयदेखि व्यवसायिक प्रकाशन जगतको प्राथमिकता क्रममा पछाडि रहेको साहित्यिक विधा हो । यस्तो स्थिति सिर्जना हुनुमा, पाठकहरूमा राम्रो कविताप्रति आकर्षण नभएर होइन । बरू, हामीले कविता लेख्ने र प्रकाशित गर्ने कामलाई व्यावसायिक बनाउन नसकेर हो । प्रकाशनका यस्ता नयाँ आयामले कविता लेखन र पठन सँस्कृतिलाई नै नौलो अवसर प्रदान गर्ने कुरामा म आशावादी छु । ‘ई-कविता’ले कविहरूलाई निश्चय पनि गरिमा र सम्मान प्रदान गर्दै सुसुचित बन्ने र किनेर पढ्ने पाठकको संगतमा पनि पुर्‍याउने छ ।’

‘ई –कविता’को शुरुवात यही बैशाख १७ गते शनिबारदेखि शुरु हुने भएको छ । संयोगबस यो दिन आमाको मुख हेर्ने दिन परेकोले, शृङ्खलाको पहिलो कविताको रुपमा, आमाहरु र अग्रजहरु प्रति सम्मान एवं समर्पण स्वरूप कवि गोपाल प्रसाद रिमालको ‘आमा’शीर्षकको प्रसिद्ध कवितालाई कवि श्रवण मुकारूङले वाचन गरेका छन् ।

यस शृंखलामा अब तपाईं नेपालीभाषाका कविहरूका अप्रकाशित नयाँ सृजनाहरू साप्ताहिक रुपमा पढ्न र उनीहरूकै वाचनमार्फत् आफ्नो काव्यात्मक साहित्यिक प्यासलाई मेट्न सक्नु हुनेछ ।

शुरुको महिना पाठक तथा श्रोताले कविताहरू आफ्नो नाम दर्ता गरेर निशुल्क पढ्न र सुन्न पाउने छन् । त्यसपछि निशुल्क पढ्न पाउने कोटा महिनाको एउटा कवितामा सिमित गरिने छ र सबै कविता पढ्न र सुन्न चाहनेले वार्षिक ग्राहक बन्नु पर्नेछ । ‘कविता विधालाई व्यवसायिक बनाउने यो हाम्रो सुरुवाती प्रयास हो । विभिन्न अनलाइन श्रोताहरूमा निशुल्क उपलब्ध कविताहरूलाई सशुल्क पठन संस्कारमा परिणत गर्न चुनौतीपूर्ण हुने कटु तथ्य हामीले बुझेका छौँ ।’ नेपालयका किरण श्रेष्ठ भन्छन् । ‘यो चुनौतीलाई अवसरमा बदल्न सकिन्छ भन्ने विश्वासका साथ योजना सहित ई-कविता सुरु गरिएको हो ।’ यो अभियानलाई कविता मन पराउनु हुने सचेत पाठकहरूले वार्षिक ग्राहक बनेर सहयोग गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छुू उनी भन्छन् ।

सार्वजनिक भएको ई-कवितालाई नेपालयको पेज मार्फत वा यो लिंकमार्फत् भेट्न सकिन्छ https://publicationnepalaya.com/ekavita/ यो कार्यको प्राविधिक विकास र व्यवस्थापन थुप्रै डट कम (www.thuprai.com) ले गरेको छ । ई-बुक एपमार्फत् आफ्नो प्राविधिक दक्षता प्रदर्शन गरि सकेको थुप्रैले ई(कवितालाई आफ्नो ई-बुक एपबाट पनि पढ्न र सुन्न सक्ने गरी व्यवस्थापन गर्ने छ ।

‘ई-कविता’मा उपलब्ध हरेक कविता रु. १५ मा उपलब्ध हुनेछन्, साथै रु. ५२५ को सहुलियत मूल्यमा यसको वार्षिक ग्राहक हुने व्यवस्था उपलब्ध छ । विदेशमा रहेका पाठक श्रोतालाई भने ५ अमेरिकी डलरमा बार्षिक ग्राहक सुविधा उपलब्ध गराइएको छ ।




भर्खरै