२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानका पूर्व प्रधानमन्त्री आबेको अन्त्येष्टि गरियो



अ+ अ-

टोकियो । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको मङ्गलबार अन्त्येष्टि गरिएको छ ।

जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको हो । गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ ।

टोकियो टावरमा रहेको जोजोजी मन्दीरमा उहाँको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका क्रममा उहाँकी श्रीमती अकी, जापानका प्रधानमन्त्री फुमियो किशिदा, केही सांसदहरू र विदेशी प्रतिनिधि तथा व्यवसायीक अगुवालगायत सहभागी हुनुभएको थियो । सन् १९५४ मा जन्मिनु भएका आबेको ६७ वर्षको उमेरमा निधन भएको हो ।

देशको पश्चिमी क्षेत्रमा पर्ने नारा भन्ने सहरमा चुनावी मन्तव्य दिइरहेका बेला उहाँको हत्या भएको हो । लिवरल डेमोक्रेटिक पार्टीका शीर्ष नेता समेत रहनु भएका आबेले आफ्नो पार्टीलाई जिताउनका लागि चुनावी सभाहरूमा सम्बोधन गर्दै आउनु भएको थियो । आबेको निधन भएपनि पूर्व निर्धारित निर्वाचन भने गत आइतबार नै भएको छ ।

दुःखमा जनतालाई नजिकबाट साथ दिने नेताको छवि बनाउनु भएका आबले आफ्नो कार्यकाल बाँकी रहँदै राजीनामा दिनु भएको थियो । आफ्नो अस्वस्थताका कारण पर्याप्त काम गर्न नसकेको भन्दै उहाँले राजीनामा दिनु भएको थियो ।

उहाँ सन् १९९३ देखि निरन्तर नौ पटक सांसद हुनुभएको थियो । उहाँले पार्टीमा सामाजिक मामिला विभागको निर्देशक र महासचिवको जिम्मेवारी निर्वाह गर्नु भएको थियो भने सरकारी भूमिकामा मन्त्रिपरिषद्को उप प्रमुख सचिव र प्रमुख सचिव भएर काम गर्नु भएको थियो । मन्त्रिपरिषद्‌मा भने २००५ मा उहाँले पहिलो पटक सहभागी हुने मौका पाउनु भएको थियो ।

उहाँ पहिलो पटक सन् २००६ मा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो । त्यति बेला उहाँ जापानकै सबैभन्दा कम उमेरका प्रधानमन्त्री बन्नु भएको थियो । अस्वस्थताका कारण त्यो कार्यकाल उहाँको २००७ सम्म मात्रै रह्यो । त्यतिबेला उहाँलाई आन्द्राको समस्या थियो । त्यसपछि निको भएर फेरि राजनीतिमा फर्किनु भएका उहाँले आफ्नो पार्टीलाई अत्यधिक मतका साथ विजयी गराएपछि सन् २०१२ देखि २०२० सम्म निरन्तर जापानको प्रधानमन्त्री बन्नु भयो ।

उहाँले पछिल्लो पटक पनि कार्यकाल बाँकी रहेकै बेला अस्वस्थताका कारण सन् २०२० को अगस्ट २४ मा प्रधानमन्त्री पदबाट स्वेच्छाले त्याग्नु भएको थियो । आबेले आफ्ना विश्वास पात्र तथा निकटतम सहयोगी योशिहिदे सुगालाई आफ्नो उत्तराधिकारी बनाउनु भएको थियो ।