२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्रको आरोपमा कानूनव्यवसायीको प्रतिबाद, भ्रष्टले अरुलाई पनि भ्रष्ट देख्छन्



अ+ अ-

काठमाडौं । महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरुसँग बयान लिएको छ ।

बिहीवार समितिले वरिष्ठ अधिवक्ताहरु चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो । महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरुसँग आज बयान लिएको हो ।

बैठकमा आएर अधिवक्ताहरु प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिनुभएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताउनु भयो । उहाँले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको पनि बताउनु भयो । उहाँले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा हामीले वरिष्ठ अधिवक्ता ज्यूहरुले आएर यो विषयमा आफ्नो धारणा राखिसक्नुभएको छ । अर्को बैठक भोलि बिहान ९ बजे बस्ने र त्यसमा सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको छ । प्रतिवेदन लेख्ने काम भइरहेको छ । प्रतिवेदनको बारेमा भोलि निर्णय हुन्छ ।’

बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले चोलेन्द्र समशेर जबराबिरुद्ध यो महाअभियोगको प्रक्रियाको थालनीको लागि बारले खेलेको भुमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताउनु भयो । उहाँले यो बयानले महाअभियोगको प्रक्रियालाई अझै बल पुगेको महशुस भएको बताउनु भयो । उहाँले समितिले आफूहरुसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताउनु भयो । उहाँले सके यही संसदबाट टुंगो लाग्नुपर्ने र प्रक्रिया नसके महाअभियोगको मुद्दा अर्को संसदले जिम्मेवारी लिनेगरी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश जबराले महाअभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेरले आफ्नो बयानको क्रममा जतिपनि वरिष्ठ अधिवक्ता, बारका पदाधिकारी, पूर्व पदाधिकारी, बारेमा जुन कुरा उठाएका थिए, त्यसका सम्बन्धमा तपाईहरुको के भनाइ छ भन्ने कुरा सोध्नुभयो, हामीले आफ्ना कुरा प्रष्ट रुपमा राख्यौँ । साथै चोलेन्द्र समशेर जबराबिरुद्ध यो महाअभियोगको प्रक्रियाको थालनीको लागि बारले जुन भुमिका खेलेको थियो, त्यो बारको भुमिका खेल्नुपर्ने बाध्यता किन सिर्जना भयो भन्ने कुराको विस्तृत आधार कारणसहित प्रष्ट रुपमा राख्यौँ ।

यो सुनुवाई महाअभियोगको प्रक्रियालाई अझै बल पुगेको महशुस भएको छ । थप प्रमाण भए दिन आग्रह गर्नुभएको छ, हामी थप प्रमाण उपलब्ध गराउँछौँ । महाअभियोगको सुनुवाई तथ्यपरक हुन्छ भन्नुभएको छ । अन्तर्राष्ट्रिय प्रचलन र मौजुदा कानूनले पनि सके यही संसदले टुंग्याउनुपर्ने हो, संसदले प्रक्रियालाई टुंग्याउन नसके विधि प्रक्रिया अनुसार आगामी संसदले जिम्मेवारी लिन्छ, यसमा दुविधामा बस्नुपर्ने अवस्था छैन । हाम्रो आरोप मात्रै होइन, तथ्यमा आधारित छ । फैसला ३ वटा बुझाएका छौँ ।महाअभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर हामीमाथि आरोप लगाउनु भयो । विवादमा तान्ने प्रयास भएको छ । त्यो प्रयास कुनैपनि हालतमा स्वीकारयोग्य छैन । म माथि लगाएका आरोप निराधार छन् ।’

वरिष्ठ अधिवक्ता शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दे तत्कालीन समयमा न्यायका लागि संघर्षमा उत्रिएका कानून व्यवसायीहरुलाई विवादमा तान्न प्रधान्यायाधीश जबराले आफूहरुको नाम लिएको बताउनु भयो । महाअभियोग सिफारिस समितिको अर्को बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको छ ।