२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति



अ+ अ-

लुम्बिनी । निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ । बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन् । लगातारको वर्षाले तरकारीबालीमा समेत क्षति पुगेको छ भने पानीमा लडिरहेको धानबालीमा टुसा समेत पलाउन थालेका छन् ।

“तराई अन्न भण्डारणको प्रमुख स्थान हो, यो समय भनेको किसानहरूको बाली भित्र्याउने समय हो”, सम्मरीमाइ–४ का कृषक अशोक त्रिपाठीले भन्नुभयो, “अविरल वर्षाले धानबाली भित्र्याउनै नसक्ने भएको छ, अझ गहिरो खेतमा धान पूरै डुबेर कुहिन लागेको छ ।”

यतिबेला कृषकहरूलाई धानबाली भित्र्याउने चटारो हुन्थ्यो । केहीले भित्र्याई पनि सक्थे । तर यसपालि वर्षाका कारण धानबाली पाकेर खेतमै झर्न थालेको त्रिपाठीले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष काटेको धान खेतमै कुहियो, यो वर्ष त नकाटेरै बाला झर्न र टुसा पलाउन थाल्यो ।”

गत वर्ष कात्तिक पहिलो साता आएको वर्षाले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ का सुकइ कोहारको एक बिघा काटेको धान कुहिएको थियो । यो वर्षको ढिलो बर्सातले रोपाइँ पनि ढिलै भएको कोहारले बताउनुभयो । उहाँले यतिबेला अगौटे धान पाकेर काट्न तयार भएको र पछौटेमा फूल लाग्ने बेला भएको बताउनुभयो ।

लगातारको वर्षाले पछौटे धानबालीमा लागेको फूल झर्नुका साथै परागसेचन हुन नपाउने तथा बाला लागिसकेको धान ढलेर पानीमा डुबेको अवस्थामा बाला कुहिने र टुसा पलाउने भएकाले औसतभन्दा कम धान उत्पादन हुन सक्ने लुम्बिनी साँस्कृतिक नगरपालिका–३ का वडाध्यक्ष अकरामुद्दीन नाउ मुसलमानले बताउनुभयो ।

कृषि ज्ञानकेन्द्र भैरहवाका कृषि प्रसार अधिकृत अनिलकुमार कानु बनियाले भन्नुभयो, “विश्वमा करिब तीन चौथाइभन्दा बढी फूल फुल्ने बिरुवालाई परागसेचनको आवश्यकता पर्दछ । करिब ७५ प्रतिशतभन्दा बढी फूलहरूको परागसेचन कुनै न कुनै जीवजन्तु वा कीराहरूले गर्छन ।”

जिल्लाका कतिपय कृषकहरूले वर्षासँगैको हावाहुरीले धान ढलाएको बताएका छन । वर्षा भइरहेको बेलामा सामान्य हावासमेत चलेका कारण खेतमा लगाइएको धान ढलेको कृषकको भनाइ छ । पसाइसकेको धान ढलेको भएमा त्यसको बाला कुहिने भएकाले धान उत्पादनमा कमी आउन सक्ने कृषि प्रसार अधिकृत बनियाँले बताउनुभयो ।

“ठाडो अवस्थामा रहेको र फूल खेल्ने बेलाको धानको फूल झर्दा परागसेचनको अभावले उत्पादनमा कमी आउँछ । पसाइसकेको धान भएमा ढलेको धानको बाला पानीमा डुब्दा बोटमा नै बाला कुहिन्छ”, उहाँले भन्नुभयो, “कतिपय कृषकहरूले वर्षाका कारण धानमा प्रभाव परेको बताएका छन तर दसैँको बेला पनि भएकाले सबै विवरणहरू आइसकेको छैन ।”

कृषि ज्ञानकेन्द्र रुपन्देहीका अनुसार जिल्लाको दक्षिणी मर्चवार, लुम्बिनी, मायादेवी, गैडहवा र धकधई क्षेत्रको धान बालीमा बढी क्षति भएको छ । त्यसक्षेत्रमा खेतहरू डुबानमा परेका छन् भने पाकेको धानबाली खेतमै ढलेर कुहिने र डुबेका बालामा टुसा पलाउने अवस्था आएकोे छ ।

रुपन्देहीमा ८२ हजार छ सय २२ हेक्टर खेतीयोग्य जमिन छ । असी हजार एक सय २२ हेक्टरमा खेती गरिन्छ । यहाँको ६४ हजार आठ सय १९ हेक्टरमा धान खेती हुने लक्ष्य राखिए पनि वर्षा अभावमा यो वर्ष ५८ हजार तीन सय ३७ हेक्टरमा मात्र रोपाइँ हुन सकेको कृषिज्ञान केन्द्रले बताएको छ ।

“लगातारको वर्षाले धेरैजसो धानबाली डुबानमा परेको छ”, कृषि ज्ञानकेन्द्र रुपन्देहीका प्रमुख सन्देश धितालले भन्नुभयो, “वर्षा अझ पनि नरोकिए धानको उत्पादनमा ठूलो ह्रास आउन सक्छ ।” उहाँले अगौटे धान पाकिसकेको र पछौटे जात पनि पाक्ने बेला भइसकेको बताउनुभयो ।

यकिन तथ्य प्राप्त भइनसकेको भए पनि पाकेर ढलेको धान खेतमै उम्रिन लागेको ज्ञानकेन्द्रका प्रमुख धितालले बताउनुभयो । उहाँले डुबानमा परेको धानको दानासमेत काम नलाग्ने बताउनुभयो । उहाँका अनुसार धान बाली मात्रै नभई वर्षाले तरकारी बालीमा समेत असर पु¥याएको छ ।

हिउँदे तरकारी उत्पादनमा पनि ह्रास आउन सक्ने ज्ञान केन्द्रका प्रमुख धिताललले बताउनुभयो । उहाँका अनुसार अहिले हिउँदे तरकारीबाली लगाउनुपर्ने बेला हो तर वर्षाले तरकारी लगाउनै सकिएको सकिएको छैन र लगाएको पनि सुकेका छन् । तोरीको उत्पादनमा पनि ह्रास आउन सक्ने देखिएको छ ।

लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकूदमन्त्री बसीउद्दीन खाँले भन्नुभयो, “वर्षाले क्षति पुर्याएको धानबाली एउटा कृषकको मात्र उब्जनी होइन, सिङ्गो मुलुककै उब्जनी हो । त्यो एक किसानले उब्जाएको अन्नले हजारौँको पेट भरिन्छ ।” उहाँले किसान मारमा पर्नु हुँदैन भन्दै किसानहरूलाई सरकारका तर्फबाट राहतको व्यवस्था जरुरी रहेको बताउनुभयो ।रासस