२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पाल्पाका किसानलाई फड्के कीराको समस्याले सधैँ पिरोल्छ’



अ+ अ-

रामपुर । रम्भा गाउँपालिका–१ सगाहाका रमेश रानाभाटको धान खेतमा यस पटक फड्के कीराले सखापै पार्ने गरी सतायो । वर्ष दिनभर परिवार पाल्न दुःखसँग खेती गर्नुभएका उहाँ खेतभरि झुलेका धानबालीमा यस पटक कीराको समस्याले चिन्तित हुनुुहुन्छ ।

“दुःख गरेर धान लगाइयो अब त भकारीमा स्याहार्ने बेला भयो भनेर उत्साहित भएको सखापै पार्ने गरी किराले सतायो, कहिले गबारो कहिले फड्के कीरालगायतका विभिन्न समस्याले किसानलाई सधैँ पिरोल्छ”, उहाँले गुनासो पोख्नुभयो । वर्षा सकिएपछि हालै काटेको धान बालीमा पनि प्रकोप फैलिँदा स्याहार्नै नपर्ने अवस्था भएपछि खेतमै पाँजासहित आगोमा जलाएर नष्ट गर्नुपरेको उहाँ बताउनुहुन्छ । करिब छ रोपनी क्षेत्रफलमा लगाइएको धानबाली राम्रै भएपछि स्याहार्ने समयमा फड्के किराको समस्याले क्षति पुगेको छ ।

पाँच जनाको परिवारलाई वर्ष दिन खान पुग्ने सो जग्गामा लगाइएको धान यस पटक नोक्सान हुँदा परिवार कसरी पालिने भन्ने चिन्ताले उहाँलाई रातदिन सताएको छ । गत वर्ष काटेको धान वर्षाले डुबानमा परी नोक्सानी उहाँले बेहोर्नुप¥यो । क्षतिपूर्तिका लागि गाउँपालिकाले विवरण सङ्कलन गरे तापनि पहुँचवालालाई नै वितरण गरेर आफूलाई विभेद गरेको उहाँको गुनासो छ ।

सगाहाको नौसय मुरी खेतभरि नै सो कीराले सताएको अगुवा कृषक ऋषिराम अर्याल बताउनुुहन्छ । उहाँका अनुसार गत वर्ष यस क्षेत्रमा फ्याट्टफुट्ट रुपमा देखिँदा खासै धानमा असर परेन तर यस पटक ठूलै क्षति हुने गरी फैलिएको छ । आफूले लामो समयदेखि धान लगाउँदै आएको भए पनि यस पटकजस्तो महामारीको रुपमा फड्के कीराको प्रकोप विगतका वर्षमा नरहेको अर्यालको भनाइ छ ।

जिल्लाको हुँगी, अगाहाखोला क्षेत्रमा करिब ७० रोपनीमा फड्के कीराको समस्या फैलिएपछि स्थलगत निरीक्षणपश्चात् कार्यालयबाट नियन्त्रणका लागि विषादी उपलब्ध गराइएको कृषि ज्ञानकेन्द्रका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “धानबालीमा लाग्ने प्रकोपमध्ये यो सबैभन्दा खतरनाक किरा हो, यस वर्ष पानी धेरै परेकाले प्रकोप फैलिएको छ, समयमा नै पहिचान भई उपचार गरेमा नियन्त्रणमा ल्याउन सकिन्छ”, उहाँ भन्नुहुन्छ ।

काटिसकेको धान भए धेरै क्षति हुन्थ्यो तर काट्न बाँकी रहेका धान भएकाले क्षति कम हुने उहाँ बताउनुहुन्छ । कीराको समस्या देखिएमा किसानलाई पालिका तथा कृषि ज्ञान केन्द्रका प्राविधिकसँग सम्पर्क गर्न उहाँको अनुरोध छ ।

रामपुर नगरपालिकाका विभिन्न स्थानमा समस्या भेटिएपछि स्थलगत रुपमा अवलोकनपश्चात् विषादी छर्कन् कृषकलाई सुझाव दिइएको शाखा प्रमुख रामहरि पाण्डेय जानकारी दिनुहुन्छ । यस क्षेत्रमा एक हप्तादेखि यस कीराको समस्याका सम्बन्धमा कृषक गुनासो राख्न आउने गरेपछि निःशुल्क विषादी उपलब्ध गराउँदै आएको शाखा प्रमुख पाण्डेयले बताउनुहुन्छ ।

विशेष गरी अलि गहिरो, पानी जम्ने, गाँजको घनत्व बढी भएको जग्गामा पानी परेपछिको सापेक्षित आद्रता उच्च हुन गई यस कीराको समस्या बढ्न गएको अनुमान लगाउन सकिन्छ । वयस्क २।५ देखि ३।४ मिलिमिटर लामो हुन्छ र शरीर कुनै खैरो, कुनै सेता र कुनै हरिया रङका फुत्तफुत्त उफ्रने किसिमका मसिना कीरा हुन्छन् ।

यो कीरामा साना र ठूला पखेटा दुवै थरीका हुन्छन् । यसको मझौला पिठ्युँ खण्डमा तीन खैरा धर्साहरु हुन्छन् । शिशु फड्केको भने खैरो शरीर हुन्छ । धानका बिरुवा मर्दछन्, बिरुवा गाँजिन र बढ्न सक्दैनन्, धानको बोटमा बाला नलागी परालजस्तो भई बोट सुकेर जान्छ, यसको लक्षण जग्गाको कुनै एक ठाउँबाट सुरु भई फैलिँदै जान्छ ।

रोकथामका उपाय

उपयुक्त जातको छनोट गर्ने, ढिलो लगाइएको भन्दा छिटो लगाइएको र ढिलो पाक्नेभन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाइएको छ । गाँजको घनत्व काम गर्ने, धान रोप्ने समयमा प्रतिगाँजमा दुई–तीन वटाभन्दा बढी बेर्ना नरोप्ने गरेमा रोकथाम गर्न सकिन्छ ।

त्यस्तै नाइट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने, तीन चार दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्ने, (पाकेर काट्ने बेलाको धानमा पानी सुकाउने) अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने, एजाडिरिक्टीन २।३ मिलिलिटर, बुफ्रोफेजीन एक मिलिलिटर, इमिडाकोल्प्रिड ०.५ ग्राम र निटेनपाइरम एक मिलिलिटर प्रतिलिटर पानीमा मिसाइ फेदमा पर्ने गरी एक हप्ताको फरकमा छर्कनुपर्दछ । विषादी छर्कदा धानको बिरुवा माथिबाट होइन बिरुवाको फेदमा पर्ने किसिमले छर्कनुपर्दछ । धानको फूल फुलेको अवस्थामा विषादी छर्कनुहुँदैन ।