२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्ड भिड्दै



अ+ अ-

एजेन्सी । आइसीसी टी–२० पुरुष विश्वकपको उपाधिका लागि पाकिस्तान र इंग्ल्यान्डले आज प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेल अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा नेपाली समयानुसार १ः४५ बजे सुरु हुनेछ ।

आज फाइनल खेलमा वर्षा बाधक बन्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले मेलबर्नमा वर्षा हुन सक्ने जनाएको छ । यदि पानी परेन भने क्रिकेट फ्यानहरूले फाइनलमा रनको वर्षा भने देख्ने पक्का छ ।

समूह चरणमा भारत र जिम्बाब्वेसँग पराजित भएपछि पाकिस्तानले शानदार पुनरागमन गरेको थियो । अर्कोतर्फ दक्षिण अफ्रिकामाथि नेदरल्याण्ड्सको जितपछि भाग्य चम्किँदै नकआउट चरणमा पुगेको पाकिस्तानले मौकाको फाइदा उठायो । सेमिफाइनलमा उपाधि दाबेदार न्यूजिल्याण्डलाई पाकिस्तानले पराजित गरेको थियो ।

अर्कोतर्फ, समूह चरणमा आयरल्यान्डजस्तो कमजोर टोलीसँग पराजित भएपछि इंग्ल्यान्डले पनि पुनरागमन गरेको थियो । दुवै टोली आ–आफ्नो सुपर १२ समूहमा दोस्रो भएका थिए ।

विश्वको दोस्रो नम्बरमा रहेको इंग्ल्यान्ड र तेस्रो नम्बरमा रहेको पाकिस्तान टोली अहिले उत्कृष्ट लयमा छन् । दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

दुई कप्तान बाबर र बटलरलाई इतिहास रच्ने मौका

पाकिस्तानी कप्तान बाबर आजम महान क्रिकेटर इमरान खान (१९९२ एकदिवसीय विश्वकप विजेता कप्तान) र युनिस खान (२००९ टी’२० विश्वकप विजेता कप्तान) को सूचीमा आफ्नो नाम जोड्न चाहन्छन् । लिग खेलमा रन बनाउन नसकेका बाबरले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध अर्धशतक बनाएर लय प्राप्त गरेका छन् ।

उता, इंग्ल्यान्डका कप्तान जोस बटलर उत्कृष्ट लयमा छन् । उनले सेमिफाइनलमा भारतविरुद्ध एलेक्स हेल्ससँग अपराजित १७० रनको साझेदारी गरेका थिए । भारतीय टोलीलाई लज्जास्पद हार दिने जोस बटलर ३० वर्षअघिको एकदिवसीय विश्वकपमा पाकिस्तानसँगको हारको बदला यही मैदानमा नै लिन चाहन्छन् ।

बटलर पनि पल कलिङवुड (२०१० टी–२० विश्वकप विजेता कप्तान) र इयोन मोर्गन (२०१९ एकदिवसीय विश्वकप विजेता कप्तान) को सूचीमा आफ्नो नाम राख्न चाहन्छन् ।

इङ्ल्यान्ड वा पाकिस्तान जुन टोलीले उपाधि जित्छ, त्यो वेस्ट इन्डिजसँगको उपाधि बराबरी गर्नेछ । यसअघि वेस्ट इन्डिजले दुई पटक टी–२० विश्वकप जितेको छ । इन्डिजले सन् २०१२ र २०१६ मा यो उपाधि जितेको थियो ।

यसअघि पाकिस्तान र इंग्ल्यान्ड टी–२० विश्वकपमा दुई पटक आमनेसामने भएका छन् । इंग्ल्यान्डले सन् २००९ र २०१० मा दुवै पटक खेल जितेको थियो । यता, समग्र टी–२० को कुरा गर्ने हो भने दुई देशबीच जम्मा २८ खेल भइसकेका छन् ।

जसमा इङ्ल्यान्डले १८ पटक जितेको छ (एक खेल बराबरी हुँदा ओभर एलिमिनेशनबाट जितेको छ) र पाकिस्तानले नौ पटक जितेको छ भने एक खेल नतिजा बिनै टुंगिएको थियो ।