२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक पर्यटकलाई सहरभन्दा गाउँ प्यारो



अ+ अ-

अन्नपूर्ण । कास्कीका मुख्य पर्यटकीय गाउँमा पाहुनाको घुइँचो लाग्न थालेको छ । दसैँ–तिहारलगत्तै कास्कीको घान्द्रुक, सिक्लेस, ताङतिङ, धम्पुस, ल्वाङघलेललगायत गाउँमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पोखरा घुम्न आएकाहरू आजभोलि पोखरामा मात्र सीमित हुन चाहँदैनन् । उनीहरुको रोजाइ हुने गरेको छ, वरपरका गाउँबस्ती र थुम्का । पोखराको सुविधासम्पन्न होटलमा आरामदायी सुविधा लिएका पर्यटक गाउँसम्म पुगेर त्यहाँको आतिथ्यता र प्राकृतिक सुन्दरतासँग रमाउन थालिसकेका छन् ।

पर्यटकीय गाउँ घान्द्रुकमा दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको स्थानीय व्यावसायी अमृत गुरुङले जानकारी दिनुभयो । कोरोनाका समयमा पर्यटकका लागि बन्द रहेको गाउँ गत वर्ष असोज १ गतेदेखि खुला गरिएपछि पाहुना जाने क्रम सुरु भएको उहाँले बताउनुभयो । यो वर्ष झन् थामिनसक्नु पर्यटक घान्द्रुक पुगेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “शुक्रबार र शनिबार घान्द्रुकका होटल र होमस्टे सबै भरिभराउ भए । त्यसैले घान्द्रुक घुम्न आउँदै हुनुहुन्छ भने पूर्वजानकारी गराएर मात्र आउनुहुन अनुरोध गर्दछु ।” शुक्रबार दुई हजार तीन सयको हाराहारीमा पर्यटक त्यहाँ पुगेको थिए । तीमध्ये दुई हजारले बास भएको उहाँले जानकारी दिनुभयो । बाँकी लगभग तीन सय पहुना बास नपाएर फर्कन बाध्य भएको उहाँले सुनाउनुभयो ।

घान्द्रुकमा पाहुना राख्नका लागि ५० को हाराहारीमा होटल र २० वटा होमस्टे रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । यसमा पाहुना धेरै भएको अवस्थामा १० घर जतिमा व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो । सत्तरी–असी होटल होमस्टेमा एक दिनमा दुई हजारसम्म मात्र पाहुना राख्न सकिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

कास्कीको अर्को पर्यटकीय गाउँ सिक्लेसमा पनि दैनिक एक हजार पर्यटक पुग्ने गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिनुभयो । “सिक्लेसमा ५०–६० जनासम्म राख्न सक्ने होटल १५ वटा छन्, दर्ता भएका नभएका गरी २७ होमस्टे छन्”, उहाँले भन्नुभयो, “होटल र होमस्टेमा गरेर दैनिक एक हजारदेखि एक हजार पाँच सयसम्म राख्न सकिन्छ । यतिबेला सबै प्याक छन् ।” सिक्लेस नजिकैको गाउँ ताङतिङमा पनि उत्तिकै सङ्ख्यामा पर्यटक पुग्ने गरेको गुरुङले बताउनुभयो ।

ग्रामीण क्षेत्रमा हाउसफुल हुँदा पोखरामा भने सोचेजस्तो पर्यटक नभएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । “पछिल्लो समय विदेशीसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । यसले व्यवसायीमा आशा त जगाएको छ”, उहाँले भन्नुभयो, “तर हामीले सोचेको जस्तो बढेको चाहिँ होइन । अब यो कतिसम्म जान्छ भन्ने हो । यो क्रम बाह्रैमास भएमा पर्यटन क्षेत्र उकासिन्छ ।” उहाँले पोखरा भित्रने बाटो बन्दै गरेकाले छिटो निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । “बाटो बन्नु भनेको हाम्रा लागि राम्रो कुरा हो तर बाटो बन्दै गर्दा वैकल्पिक बाटो पनि सरकारले बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “यसो भयो भने पर्यटक जाममा नपर्ने गरी समय जोगिन्छ ।”

होटल सङ्घ पोखरा पनि पोखरामा सोचेजस्तो पर्यटक नआएको जनाएको छ । अहिले पोखराको होटेल ‘अकुपेन्सी’ २० देखि ३० प्रतिशत हाराहारी रहेको होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । “पछिल्ला समय केही आशा जगाएको छ”, उहाँले भन्नुभयोे, “केही होटलमा ५० प्रतिशत जति छ केहीमा १०–२० प्रतिशत, त्यो हिसाबले एभरेजमा २०–२२ प्रतिशत अकुपेन्सी छ ।” नवौँ राष्ट्रिय खेलकुद हुने समयमा ६०–७० प्रतिशत अकुपेन्सीको भए पनि पछिल्लो समय घटेको सुवेदीको भनाइ थियो । कोरोनाभन्दा अघि यही समयमा कोठा नपाएर भनसुन गर्नुपर्ने अवस्था रहेको उहाँले विगत सम्झनुभयो । सङ्घसँग आवद्ध चार सय २५ होटल छन् भने उत्तिकै सङ्ख्यामा सङ्घमा आवद्ध नभएका होटल पोखरामा रहेको उहाँले जानकारी दिनुभयो ।