२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई वर्षमा तीन हजार झोलुङ्गे पुल बनाइने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले आगामी दुई वर्षमा मुलुकभर तीन हजार झोलुङ्गे पुल निर्माणको योजना अघि बढाएको छ ।

झोलुङ्गे पुलको अभावमा नागरिक शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस् भनी प्रत्येक आधाआधा घण्टाको दूरीमा पुल निर्माणका लागि योजना बनाइएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

सहरी विकासमन्त्री विक्रम पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पहिलो कामका रुपमा झोलुङ्गे पुलसम्बन्धी फाइल सदर गर्नुभएको थियो ।

चालु पन्ध्रौँ योजनामा प्रत्येक आधाआधा घण्टाको दूरीमा झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख छ । सोही आधारमा बस्ती भएका र आवश्यकता भएका स्थानमा पुल निर्माणका लागि तयारी अघि बढाइएको सहरी विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले बताउनुभयो ।

बस्ती नभएका र जङ्गल क्षेत्र छाडेर बस्ती लक्षित झोलुङ्गे पुल निर्माण गर्दा देशभरमा झण्डै तीन हजार नयाँ पुल आवश्यक देखिएको विभागले जनाएको छ । झोलुङ्गे पुल नभएर बालबालिका विद्यालय तथा स्वास्थ्य चौकी जान र कृषि उत्पादन बजारमा लगेर बेच्न समेत कठिनाइ भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लक्ष्यअनुसार झोलुङ्गे पुल बनेपछि पुल नभएरै ज्यान जोखिम हुने अवस्थाको अन्त्य हुनेछ ।”

यसको निर्माणमा तीनै तहको सरकारको संलग्नता रहँदै आएको छ । एक सय २० मिटर भन्दा कम लम्बाई स्थानीय तहले बनाउने र त्योभन्दा बढी लम्बाइको पुल आवश्यक भएमा सङ्घीय सरकारले निर्माण गर्ने महानिर्देशक मरहठ्ठाले बताउनुभयो । स्थानीय तहले निर्माण गरेको स्थानमा बजेट सङ्घीय सरकारले दिने गरेको छ ।

चालु् आवमा झोलुङ्गे पुल निर्माणका लागि रू छ अर्ब विनियोजन भएको छ । लक्ष्यअनुसार पुल निर्माणका लागि कहाँकहाँ र कति सङ्ख्यामा आवश्यक छ भनी जानकारी गराउन सबै स्थानीय तहलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।

नगर वा गाउँ कार्यपालिकाको निर्णयबाट विभागलाई माग आउने गर्दछ । उहाँले भन्नुभयो, “मागका आधारमा विभागको टिमले अध्ययन गरेपछि निर्माणमा जाने निर्णय हुनेछ ।” चालु आवबाट नै सो योजना कार्यान्वयमा लैजाने उहाँको भनाइ छ । चालु आवको बाँकी पाँच महिनामा कुन–कुन स्थानमा पुल आवश्यक छ भनी अध्ययन गरिने र अर्को दुई वर्षमा निर्माण गरिने महानिर्देशक मरहठ्ठाले बताउनुभयो ।

लक्षित कार्यक्रम अनुसार हिमाली र पहाडी जिल्लाका साथै तराईको केही ठाउँमा निर्माण योजना बनाइएको छ । विकासका हिसाबले पछि परेका र यातायातको पूर्वाधारमा कमजोर स्थान छनौट हुनेछन् । धादिङ, गोरखा, कालीगण्डकी, त्रिशुलीलगायतका नदीमा आधा–आधा घण्टामा झोलुङ्गे पुल निमार्ण भइसकेका छन् ।

एउटा झोलुङ्गे पुल बन्न निकुञ्ज वा अन्य समस्या बाहेकको अवस्थामा एक वर्ष लाग्ने गर्दछ ।

केही दशकयता पुल निर्माणका लागि नयाँ–नयाँ प्रविधिको प्रयोग बढेसँगै निर्माण सहज र थप व्यवस्थित बन्दै गएको उहाँको भनाइ छ ।

स्थानीय तहको माग अनुसार विभागले निरिक्षण गरेर आवश्यकताका आधारमा माग कार्यान्वयन गरिन्छ । “निर्माण स्थानमा नदी वारिपारी कालोपत्र तथा ग्राभेल सडक बनिसकेको भए त्यस्तो स्थानमा झोलुङ्गे पुल आवश्यक पर्दैन्”, उहाँले भन्नुभयो ।

सडक नै नभएका वा सडक खन्न सुरु गरिएका स्थानमा नागरिक तथा स्थानीय तहसँग छलफल गरी सङ्घ, प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा निर्माण योजनाको आवश्यकता अनुसार निर्णय गरिन्छ । उहाँले भन्नुभयो, “त्यहाँ पुगेर जनप्रतिनिधिसँग छलफल पछि वस्तुस्थिति हेरेर टुङ्गो लगाइन्छ ।”

झोलुङ्गे पुलको आयु ४०/५० वर्ष हुने भएपनि समय–समयमा मर्मत गर्नुपर्ने हुन्छ । अबको दुई वर्षमा ठूलो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण हुनेभएपछि केही वर्षपछि विस्तारै माग कम हुने उहाँको भनाइ थियो । निर्माण भन्दा मर्मत लक्षित कार्यक्रम तयारी अवस्थामा रहेको विभागले जनाएको छ । हाल प्रदेश र सङ्घीय सरकारबाट मर्मत भइरहेपनि नयाँजस्तै मर्मत कार्यले प्राथमिकता पाउन सकेको छैन । रासस