२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारका बारेमा छलफल गरिरहँदा हामीले कर्तव्यबोध गराउन बिर्स्यौं कि ?



अ+ अ-

काठमाडौं । को मान्छे, कस्तो मान्छे भन्ने नचिनी फेसबुकबाट नै प्रेम गर्ने प्रवृत्ति बढेको छ। यो प्रवृत्तिले युवक, युवती, किशोर, किशोरीहरूलाई धेरै नकारात्मक असर परेको छ। प्रेम हुनु भनेको नै यौनसम्बन्ध हुनु हो भन्ने मानसिकताले अहिलेका युवा समाजलाई बेस्सरी गाँजेको छ। त्यसैले त अविवाहित किशोरीहरू गर्भपतन गराउन डाक्टरहरूको क्लिनिकमा जाने प्रवृत्ति पनि बढेको छ।
 
दश जोड दुई कक्षा पढ्ने किशोरीहरू पनि गर्भपतन गराउन आउने डाक्टरहरूको भनाइ छ।  "एकजना छात्रा त २ वर्षमा ३ चोटि गर्भपतन गराउन आइन्। तेस्रोचोटि आउँदा त अब तिम्रो गर्भपतन गर्न सक्दिनँ भनेर भनेँ। यस्ता किशोरीहरू देखेर मलाई दुःख लाग्छ। तर के गर्ने होला ?" एक डाक्टरको भनाइ छ। 

अहिलेको बदलिँदो समाजमा माथि भनेका घटना र प्रवृत्ति समस्याकै रूपमा देखिन थालेको छ। यी ठूला शहरका मात्र समस्या होइनन् । सुदूरपश्चिमदेखि सुदूरपूर्वका जिल्लामा जाँदा विभिन्न ठाउँमा यस्तै घटना धेरै सुनिए। मोबाइल फोनका कारण इन्टरनेट सहज भएको छ अनि त्यसैका कारण फेसबुक चलाउने किशोर-किशोरी धेरै छन्।

यही फेसबुकले समाजमा चाहिंँ नजानिँदो हिसाबले समस्या ल्याइरहेको छ। अहिले त कतिपय सुदूरपश्चिमका जिल्लाका घरमा शौचालय नभए पनि मोबाइल फोन त प्रायः हुन्छ नै। 'मेरो नवीनसँग नाता कायम गरिदिनुको लागि मुद्दा लडिदिनुपर्‍यो', एउटा प्रतिष्ठित संस्थामा काम गर्ने २४ वर्षीया निताले काठमाडौंको एक महिला संस्थामा आएर उजुरी हालिन्। कुरा बुझ्दै जाँदा फेसबुकमार्फत उनको दुबईमा काम गर्ने एकजना नेपाली युवकसँग भेट भएपछि उनीहरूबीच प्रेमको आदान-प्रदान हुन थाले छ। दुबईबाट नवीन छुट्टीमा घर आएको बेला उनीहरू एउटै घरमासँगै पनि बसे। फेरि दुबई र्फकेपछि भने नवीनले नितालाई वास्ता गर्न छोड्यो, फोन पनि उठाउन छोड्यो। फेसबुकबाट नवीनले नितालाई हटाए छन्। अहिले निता अदालतबाट आफ्नो सम्बन्ध कायम गराइदिन संस्थामा धाइरहेकी छन्।

अहिलेको समाजमा प्रविधिलाई रोक्ने होइन कि प्रविधिको उपयोग गर्ने ज्ञान किशोर-किशोरीहरूलाई दिन आवश्यक छ। घरमा र स्कुलमा राम्ररी मार्ग निर्देश नहुँदा किशोर किशोरीहरू यसरी नक्कली प्रेम र सम्बन्धको धरापमा पर्छन्। यस्ता सम्बन्धहरू टुटेपछि कतिजना त मानसिक रूपमा नै डिप्रेसनमा पर्छन्। प्रेम सम्बन्ध टुटेकै कारण कतिपयले आत्महत्या समेत गरेको तथ्य पनि छ। समाजमा आइरहेको परिवर्तनलाई आत्मसाथ गर्दै स्कुलमा किशोर किशोरी र युवालाई परामर्श दिने व्यवस्था गर्न आवश्यक छ। 

केही वर्षअघि सुदूरपश्चिममा प्रजनन स्वास्थ्यबारेमा स्कुलमा छलफल गर्दा एक किशोरीले भनिन्, "हाम्रो शरीरमा हाम्रो अधिकार हुन्छ भनेर भन्ने अनि किशोरी अवस्थामा यौन सम्बन्ध राख्न हुन्न भन्ने ? के यो हाम्रो अधिकारको विषय होइन र?" ती किशोरीको कुरा सुनेर म छक्क परेँ र भनेँ, अधिकार सँगसँगै दायित्व पनि आउँछ।अधिकारका बारेमा छलफल गर्दा आफूलाई हानि हुने गरेर अधिकारको प्रयोग गर्नु भएन। किशोर अवस्थामा नै यौन सम्बन्ध राखेपछि हुने समस्या र असुरक्षित गर्भपतनले धेरै समस्या आउँछ।

अपरिपक्व अवस्थामा भएको आकर्षणलाई प्रेम भन्न सकिन्न। मैले भनेका कुराहरूले ती किशोरीको चित्त त कति बुझ्यो वा बुझेन भन्न गाह्रो छ । तर ती किशोरीको प्रश्नले मलाई भने सोच्न बाध्य गरायो। सायद अधिकारका बारेमा छलफल गरिरहँदा हामीले कर्तव्यबोध गराउन बिर्स्यौं कि ?

पहिलेकै अवस्थामा यो समाज फर्कियोस् भनेर हामी चाहना राख्न सक्दैनौं। तर किशोर किशोरीलाई सम्बन्धको महत्त्वसँगै के-के दायित्व आउँछन् भनेर त बुझाउनु पर्छ। किशोरीहरूलाई गर्भपतन गराउनु कानुनी रूपमा मान्य भए पनि गर्भपतन जथाभावी गराउनुचाहिंँ शारीरिक रूपले हानि हुन्छ भनेर बुझाउनै पर्छ। उनीहरूलाई "इमर्जेन्सी पिल"को जथाभावी प्रयोगले हानी गर्छ भनेर बुझाउनै पर्छ।

अहिले नै फेसबुक प्रेम, यौनआकर्षण, प्रजनन स्वास्थ्यका बारेमा छलफल गरिएन भने थुप्रै किशोरीहरू डाक्टर कहाँ गर्भपतन गराउन आइनै रहने छन्। अब त आमाबुबाले छोराछोरीलाई घरबाट नै यसको बारेमा थाहा दिनुपर्ने बेला आएको छ। स्कुल र कलेजमा शिक्षक, शिक्षिकाहरूले पनि परामर्श दिने बेला आएको छ।